कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी पर्यटक बढे

कास्की — अंग्रेजी नयाँ वर्ष मनाउन यस वर्ष पोखरामा स्वदेशीको तुलनामा विदेशी पर्यटकको ओइरो लागेको छ ।

विदेशी पर्यटक बढे
अघिल्ला वर्षहरूमा विदेशी कम र स्वदेशी पर्यटक बढी हुँदै आएकोमा यस वर्ष विदेशी पर्यटकको संख्या उल्लेख्य देखिएको हो ।
'यसपटक पोखरामा नयाँ वर्ष मनाउन आउनेमा विदेशी पर्यटकको संख्या पनि उल्लेख्य रहेको छ,' होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले भने, 'लामो समयपछि नयाँ वर्ष मनाउन विदेशीहरूको भीड देखिएको हो ।'
उनका ५० बेड क्षमताका होटलका सबै कोठाहरू अहिले पाहुनाले भरिएका छन् । यसपटक विदेशी पर्यटकको चाप बढेपछि लेकसाइड क्षेत्रका सबैजसो पर्यटकीय होटलहरू बुक भइसकेका छन् ।
 होटल तथा रेस्टुराँ व्यवसायीहरूलाई पाहुनाको स्वागत सत्कार गर्न भ्याइनभ्याई छ । फेसन शोदेखि दोहोरी, गजल तथा डिस्कोथेकहरूमा समेत भीडभाड उस्तै देखिन्छ ।
'यसपटक स्वदेशीभन्दा विदेशी पर्यटकहरू नयाँ वर्ष मनाउन बढी आएका छन्' पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा गैरेले भने । उनका अनुसार यसपटक चिनियाँ, भारतीय र युरोपेली मुलुकका पर्यटक बढी आएका छन् ।
अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी रेवान पोखराले बर्सेनि गर्दै आएको पोखरा सडक महोत्सवले पर्यटकलाई लोभ्याएको हो । महोत्सवकै कारण स्वदेशी तथा विदेशी पर्यटकलाई अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा रोजाइ बनिरहेको छ । '१६ औं संस्करणसम्म आइपुग्दा एउटा ब्रान्डका रूपमा स्थापित भएको महोत्सवले हरेक वर्ष पर्यटकलाई तानिरहेको छ,' महोत्सव संयोजक चौबहादुर गुरुङले भने, 'नयाँ वर्षमा पोखरा सधैं भरिभराउ हुँदै आएको छ ।'
सडकमै निकालिएका रेस्टुराँहरूमा खाने र रमाइलो गर्नेहरूको भीड बढ्दो छ । त्यस्तै सडकमै आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा रातभर रमाउनेहरूको हूल उस्तै देखिन्छ । हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको रात सधैंजसो जाग्राम रहने गरेको छ । तारे होटलहरूमा पर्यटकलाई आकषिर्त गराउन राष्ट्रिय सेलिबि्रटीलाई डाकेर सांगीतिक कार्यक्रम गरिएका छन् ।
पाँचतारे होटल फूलबारी, पोखरा ग्रान्डदेखि यहाँका सबैजसो तारे होटलहहरूले नयाँ वर्ष विशेष प्याकेजहरू सञ्चालनमा ल्याएर पाहुनालाई आकषिर्त गरिरहेका छन् । घुमघामका लागि उपयुक्त मौसम र खुलेको हिमाल हेर्नका लागि पनि यही मौका छोपेर धेरैले पोखरा रोज्ने गर्छन् ।

प्रकाशित : पुस १७, २०७१ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?