कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सुदूरपश्चिममा नाउपाका दुवै दाबी अस्वीकृत, मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान गरेका छन् । दुई दिनको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः आह्वान गरेका हुन् । 

सुदूरपश्चिममा नाउपाका दुवै दाबी अस्वीकृत, मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

यसअघि प्रदेश प्रमुख मियाँले दश दिनको म्याद दिएर १६८ (२) अनुसार नै प्रदेशसभा सदस्यलाई आइतबारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसअनुसार नागरिक उन्मुक्तिका दुई जना लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै समर्थक जुटाएर दाबी पेस गरेका थिए । आइतबार एउटै पार्टीबाट दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श गर्ने भन्दै दुई दिनको समय लाग्ने भन्दै दुवै दाबीलाई मंगलबारसम्म थाती राखेका थिए ।

मंगलबार पुनः आह्वान गर्दा एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ दाबीका लागि वैशाख ६ गते बेलुका ५ बजेसम्म दाबी पेस गर्न भनिएको छ ।

एकीकृत समाजवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीपक्षधर प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बहुमत सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए ।

अर्कोतिर एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदसहित नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठपक्षधर सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका थिए । एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको ‘विद्रोही कदम’ले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरूबीच मंगलबार सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सहमत भएपछि एकीकृत समाजवादीले चौधरीका लागि गरेको समर्थनबाट पछि हटेको हो ।

अर्कोतिर नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले गठबन्धन दलका शीर्ष नेतासमक्ष सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएकी थिइन् । त्यसैअनुसार प्रदेशसभा सदस्य कैलाश चौधरीलाई दाबी पेस गर्न लगाएकी अध्यक्ष श्रेष्ठ पनि मन्त्रीसमेत नपाउने र आफ्नोविरुद्ध रहेका रेशम चौधरी पक्ष हाबी हुने देखिएपछि एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार भएकी हुन् ।

आफ्नो दललाई मुख्यमन्त्री दिन सत्तारुढ दलका शीर्ष नेताहरू सहमत भएपछि मंगलबार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले आइतबार लक्ष्मणकिशोर चौधरीलाई दिइएको समर्थन फिर्ता लिइएको पत्र प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए ।

यही पृष्ठभूमिमा एउटै दलका दुई जनाको दाबी आएपछि अनिर्णित रहेका प्रदेश प्रमुख मियाँले पुनः दाबी पेस गर्न आह्वान गरेका हुन् । अब केन्द्रीय सत्ता गठबन्धनअनुसार एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

यता पुनः दाबी पेस गर्न आह्वान भएपछि कांग्रेस र नागरिक उन्मुक्ति भने रुष्ट भएका छन् । मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कानुनी उपचार तथा अन्य वैकल्पिक कदम चाल्ने बताए ।


प्रकाशित : वैशाख ४, २०८१ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?