सशस्त्र प्रहरीद्वारा दुई सय ७२ किलो गाँजा बरामद
भैरहवा — सशस्त्र प्रहरी बलले मंगलबार बिहान रुपन्देहीको ओमसतिया–४, बाट दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ । मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले जनाएको छ ।
उक्त कन्टेनरको चालकसिट भन्दा माथिको फल्स बटमभित्र लुकाएको अवस्थामा गाजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको नेतृत्वमा गएको टोलीले सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष सूचनाको आधारमा हुलाकी राजमार्गमा चेकपोष्ट खडा गरेर उक्त परिमाणमा गाँजा बरामद गरिएको गणले जनाएको छ ।
गणले दिएको जानकारीअनुसार उक्त कन्टेनरका चालक भारतको पन्जावस्थित लुधियाना जिल्ला नम्बर १० भावदीप सिंहनगनर बस्ने सतनाम सिंहलाई नियन्त्रणमा लिएको छ ।
‘पन्जावको लुधियाना जाने गाडी रहेछ,’ सशस्त्र प्रहरी उपरीक्षक थापाले भने, ‘चालक पनि उतैका रहेछन ।’ चालकबाट एउटा नेपालको एनसेल र भारतीय एयरटेल कम्पनीको सिम समेत बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक जानकारी अनुसार चालक सिंहले चितवनको नारायणगढभन्दा १० किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमा ट्रक अलपत्र पारेर चालक भागेको जानकारीपछि आफू लिन गएको बताएका छन् । सशस्त्रले आवश्यक कानुनी पक्रिया पूरा गरेर थप अनुसन्धानका लागि बरामद गाँजा, कन्टेनर र चालक नेपाल प्रहरीको जिम्मा लगाउने जनाएको छ ।
प्रकाशित : वैशाख ४, २०८१ १४:१९