कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

बागलुङ कालिका मन्दिरमा चहलपहल

प्रकाश बराल

बागलुङ — चैतेदसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन ओइरिएका छन् । पछिल्लो ५ दिनदेखि मेलामा दैनिक भक्तजन आउँदा यहाँ चहलपहल बढेको हो । भक्तजनको आगमनले बागलुङ बजारको व्यवसायसमेत बढेको छ ।

बागलुङ कालिका मन्दिरमा चहलपहल

काठमाडौं, चितवन, बुटवल र अन्य छिमेकी जिल्लाबाट भक्तजनहरु आएको गुठीका अध्यक्ष कुमार खड्काले बताए । वि.सं. १५९१ देखि यहाँ स्वत:स्फूर्त मेला लाग्दै आएको किंबदन्ती छ । भक्तजनहरु बढ्न थालेपछि गुठीले मेलाको रुपमा व्यवस्थापन गर्न थालेको हो । मेलालाई कालिकाको पूजासहित मौलिक सामग्रीको किनमेल गर्ने पर्वको रुपमा पनि लिइन्छ ।

बागलुङको ग्रामीण क्षेत्रमा बनेका मौलिक सामग्री ल्याएर यहाँ बिक्री गर्ने चलन छ । पछिल्लो समय व्यापार घटे पनि मेलाको मुख्य आकर्षण नै हस्तकलाका सामग्री बनेको छ । जिल्लाको रणसिंकिटेनी, जलजला, रिघा, सिसाखानी, पाण्डवखानी लगायतका गाउँमा बनेका निगालोका मान्द्रा, डोका, डाला, अमलाचौरमा बनेका काठका ठेकी, बुर्तिवाङ लगायतका फलामका भाँडा, घरेलु हतियार, बागलुङ बजारकै कलाकारले बनाएका बाँस र निगालोका मठमन्दिर, ढुंगाका मूर्ति, गलकोट लगायतका स्थानबाट ल्याइएका मादल, खैजेरीजस्ता बाध्यवादनका साधन समेतले मेलामा रौनक थपेको हो ।


वर्षभरि बनाएका सामान चैतेदसैंमा ल्याएर बिक्री गर्ने गरेको बडिगाड गाउँपालिका ४ का शसिराम बिकले बताए । ‘वर्षभरि काम गर्‍यो, माघेसंक्रान्तिमा रिडी र चैतेदसैंमा बागलुङ कालिका आएपछि मात्रै हाम्रो व्यवसाय हुन्छ,’ अन्य समयमा गाउँघरमा बेचेको पैसाले घर चलाएको उनले बताए । उनलाई साथ दिन पत्नि मनिसरा पनि सातादेखि बागलुङमै छिन् ।

बिकले प्रतिपाथी सय रुपैयाँमा डाली बेच्दै आएको बताए । साना डाली बेच्दा ४ सयसम्ममा बेचेका बिकले ठूलोमा ७ पाथीसम्मका डाली बेच्दा ७ सय कमाइ भएको उनले सुनाए । त्यस्तै काठेखोलाका मनिराम रानाले बुनेका नाङ्ला बेचेर कमाइ गरेको बताए । ‘पछिल्लो समय त प्लास्टिकका नाङ्ला आएका रहेछन्, हाम्रो सामान किनिदिने हरु घटे’ उनले भने, ‘सीपको काम गर्दा समय लाग्छ, मूल्य पाइँदैन ।’ मेलामा अमलाचौरका चुँदाराले बनाएका ठेकी, घरेलु हतियारहरु समेत बिक्री भएका छन् । मेला हेर्न टाढाटाढाबाट आएकाहरुले पनि नाङ्लो, डाला र डोका किनेर लैजाने गरेका छन् ।

मेलाकै अवसरमा झाम्रे, सालैज्यो, सोरठी तथा विभिन्न जातजातिमा रहेका गीतसंगीत प्रस्तुत गर्ने, भजनमण्डलीहरुले भजन गाउने पर्वको रुपमा पनि चैतेदसैंलाई लिइन्छ । गण्डकी प्रदेशमै बागलुङ कालिकामा जत्तिको मेला अन्यत्र लाग्दैन । ‘पहिला त यतिधेरै घर थिएनन्, तर पनि बारीमा मान्द्राले बेरेका छाप्रा बनाएर पनि १५ दिनसम्म लोकसंस्कृतिका भाखा सुनिन्थे, आजकल घटेका छन्,’ झाम्रे गीतका शोधकर्ता प्रा. डा. दिनबहादुर थापाले भने, ‘अहिले त सांकेतिकमात्रै देख्न पाइन्छ ।’ लोकगीत संगीतको खानीको रुपमा लिइने बागलुङका तत्कालीन कलाकारले पनि आफ्नो कला प्रस्तुत गर्ने स्थलको रुपमा चैतेदसैं मेलालाई लिने गरेको उनले बताए ।


कालिका मन्दिर परिसर, यहाँको रामरेखा सामुदायिक वन, बांथेचउर खेलमैदान तथा रुद्रे पिपलसम्मका सडक, पाखा र खेतबारीसमेत विभिन्न व्यवसाय, कला र संस्कृति प्रर्दशनीको स्थलजस्तै बनेको छ । त्यसबाहेक मेलामा विभिन्न बालउद्यान, राष्ट्रिय कलाकारको प्रस्तुतिकरण, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता लगायतका कार्यक्रम गुठीले समावेश गरेको अध्यक्ष कुमार खड्काले बताए ।

प्रकाशित : वैशाख ४, २०८१ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?