कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

धनुषाको औरहीमा स्थानीय र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

अजित तिवारी

जनकपुर — धनुषाको औरही गाउँपालिकामा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका स्थानीयलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो । 

उक्त झडपमा ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले ९ सेल आश्रुग्यास प्रहार गरेको थियो ।

१० दिनअघि पौडेश्वरका दुईजना युवती हराएका थिए । हंसपुर नगरपालिकाका दुईजना युवकले अपहरण गरेको दाबी गर्दै उनीहरुको खोजतलास नगरेको भन्दै प्रहरीविरुद्ध नाराबाजी गर्दै बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए ।

‘केटा पक्षमाथि मुद्दा चलिरहेको छ । ५ जनालाई नियन्त्रणमा लिएर अपहरण तथा शरिर बन्धक मुद्दा चलाएकै छौं । दुवै युवतीको खोजतालास जारी छ,’ डीएसपी अवाले भने ।

केटी पक्षले बिहानै सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएपछि प्रहरी सम्झाइबुझाइ घर फर्काएका थिए । तर, दिउँसो फेरि उनीहरुले सडक अवरुद्ध गरेर प्रहरीमाथि ढुंगामुढा र तोडफोडमा उत्रिएपछि बल प्रयोग गर्नुपरेको प्रहरी प्रवक्ता अवाले बताए । ‘आश्रुग्यास प्रहार गरेपछि भिड तितरबितर भएको थियो । अहिले स्थिति काबूमा छ,’ उनले भने ।


प्रकाशित : वैशाख १३, २०८१ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?