कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

मापदण्डविपरीतका अटिजम थेरापी सेन्टरलाई कारबाहीको चेतावनी

विद्या राई

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमतिबेगर र मापदण्डविपरीत सञ्चालन भइरहेका अटिजम थेरापी सेन्टर तथा बाल क्लिनिकलगायत स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ । केही स्वास्थ्य सेवासँग सम्बन्धित संस्था, अटिजम थेरापी सेन्टर, वाल क्लिनिक मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएको र शुल्क बढी लिने गरेको गुनासो आएपछि गत बिहीबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले परिपत्र लेख्दै सो जानकारी गराएको हो । 

मापदण्डविपरीतका अटिजम थेरापी सेन्टरलाई कारबाहीको चेतावनी

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने प्रावधान छ ।

त्यसैले जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएर र स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानुनको पूर्ण रूपमा पालना गरेर मात्र अटिजम थेरापी सेन्टर तथा बाल क्लिनिक सञ्चालन गर्न सचेत गराएको छ । ‘अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत यसै सूचनामार्फत जानकारी गरिएको छ,’ उपसचिव एकदेव खनालले पठाएको परिपत्रमा भनिएको छ ।

उचित सरकारी मापदण्ड नहुँदा अटिजम भएका बालबालिका लक्षित काठमाडौं उपत्यकाकै थेरापी क्लिनिकहरूले आफूखुसी शुल्क लिने गरेकोबारे गत चैत १९ गते कान्तिपुर दैनिकमा समाचार समेत प्रकाशित भएको थियो । अटिजम भएका बालबालिकाको थेरापी गराउने नाममा थेरापी सेन्टर, बाल क्लिनिक, विशेष कक्षा सञ्चालन गर्ने संघसंस्थाहरूले मनोमानी रुपमा ४५ मिनेटको थेरापी सेसनमा ६ सयदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्ने गरेका छन् । यस्ता संघसंस्था देशभर कम्तीमा ६० वटा छन् । काठमाडौं उपत्यकामा मात्रै ४१ वटा अटिजम थेरापी सेन्टर छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अर्थात् कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता देखिएको छ । जसमा अटिजम भएका पुरुष २ हजार २ सय ५८ र महिला २ हजार ६ सय २८ गरी ४ हजार ८ सय ८६ जना छन् ।

प्रकाशित : वैशाख २३, २०८१ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?