कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

अजित तिवारी

जनकपुर — लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मधेश प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनबाट पछि हटेको छ ।  मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिइरहेकै दिन मंगलबार लोसपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

लोसपाले मधेश प्रदेश सरकारमा रहेका वन तथा वातावरण मन्त्री रमेश कुर्मी पटेललाई फिर्ता बोलाइसकेको छ । उनले राजीनामा गरिसकेको लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले जानकारी दिए ।

‘मन्त्रीलाई फिर्ता बोलाउँदै मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिइसकेका छौं,’ लोसपा सांसद महतोले कान्तिपुरसँग भने,‘अब हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं ।’ मधेश प्रदेशसभामा लोसपाका ९ सांसद छन् ।

विश्वासको मत लिनका लागि मंगलबार करिब २ बजे बसेको प्रदेशसभाको बैठक जनमत र कांग्रेस पार्टीको अवरोधका कारण अझै बस्न सकेको छैन ।

१ सय ७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन बहुमत संख्या ५४ हो । मुख्यमन्त्री यादवसँग एमालेका २५ जना, जनता समाजवादी पार्टी(जसपा)का १९ जना, माओवादी(केन्द्र)का ९ जना, लोसपाका ९ जना र नेकपा(एस)का ७ जना सांसद गरी ६९ जना सांसद थियो ।

एमालेका २५ सांसदमध्ये सभामुखलाई नजोड्दा मुख्यमन्त्रीसँग अहिले ६८ सांसद छन् । जुन बहुमतभन्दा निकै बढी छ । तर, लोसपाका ९ जना सांसदले विश्वासको मत नदिँदा पनि मुख्यमन्त्री यादवसँग ५९ सांसद देखिन्छ ।

प्रकाशित : वैशाख ४, २०८१ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?