कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नागढुंगा सुरुङमार्गमा 'ब्रेक थ्रु' [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा सुरुङको शिलान्यास गरेका थिए । ४२ महिनाभित्र काम सक्ने भन्दै यसको शिलान्यास भएको थियो । कोभिड र बेलाबेला हुने स्थानीयको अवरोधले गर्दा समयमै काम सक्न गाह्रो भएको आयोजनाले जनाएको छ ।सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ। काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिने सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किलोमिटरको दूरी ३ मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।मुख्य सुरुङको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले फिनिसिङ भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ/पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारे । जसले सुरुङ खन्ने काम अघि बढ्न सकेन ।अहिले ८/८ घण्टाको सिफ्ट बनाएर सुरुङमा चौबीसै घण्टा काम भइरहेकाले काममा छिटो प्रगति भएको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए ।

‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाएर सुरुङ निर्माण गरिएको हो । मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सातवटा द्वार निर्माण गरिएको छ । सुरुङभित्र केही भवितव्य घटना भएमा मुख्य सुरुङबाट छिटो निस्कन आपत्कालीन सुरुङ निर्माण गरिएको आयोजनाका उपआयोजना निर्देशक दुमरुले बताए ।‘ब्रेक थ्रु’ पछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ लफइओभर निर्माण धमाधम भइरहेको छ । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन् । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ ।धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन । तर पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन । सीसीक्यामराबाट सुरुङमार्गको निगरानी गरिनेछ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाा लगानी छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । यो समयभित्र काम नसकिने भएकाले फेरी एक वर्ष समय थप्ने तयारी भएको सडक विभाग स्रोतले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०८१ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्