कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कतारी अमिरको भ्रमणमा नयाँ श्रम सम्झौता गर्न नेपालको प्रस्ताव

नेपाली श्रमिकको सीप विकासमा कतार सहयोग गर्न तयार छ : कतार
होम कार्की

काठमाडौँ — नेपालले कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीको आसन्न भ्रमणमा नयाँ श्रम सम्झौता गर्न कतारसँग प्रस्ताव राखेको छ । नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको हो ।  

कतारी अमिरको भ्रमणमा नयाँ श्रम सम्झौता गर्न नेपालको प्रस्ताव

वैशाख ११–१२ मा नेपालमा हुन गइरहेको कतारी अमिर अल-थानीको नेपाल भ्रमणको अवसरमा कतारसँग नयाँ श्रम सम्झौता गर्न नेपालले प्रस्ताव राखेको हो । श्रम सम्झौता गर्न नेपाली पक्ष तयारी अवस्थामा पुगिसकेको छ । कतारको अमिरको भ्रमणबारे परराष्ट्र मन्त्रालयले सार्वजनिक भने गरिसकेको छैन । कतारी अमिरको नेपालमा पहिलो पटक भ्रमण हुन लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालका लागि कतारी राजदूत मिशाल बिन मोहम्मद एल एई अन्सारीसँग श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिएका हुन् । मंगलबार श्रम श्रन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री अर्यालले १९ वर्षअगाडि भएको श्रम सम्झौतालाई परिमार्जन गर्न आवश्यक रहेको बताए । ‘नेपाल र कतारबीच १९ वर्ष अगाडि नै श्रम सम्झौता भइसकेको थियो । धेरै वस्तुस्थिति बदलिइसकेको छ । अहिलेको परिवेशअनुसार सम्झौता गर्न आवश्यक देखिएको छ,’ श्रम प्रवक्ता गोविन्द रिजालले इकान्तिपुरसँग भने,‘यही विषयलाई श्रममन्त्रीज्यूले राजदूतसमक्ष प्रस्ताव गर्नुभयो ।’

मंगलबार श्रममन्त्री डोलप्रसाद अर्यालसँगको भेटमा नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद एल एई अन्सारी । तस्बिर सौजन्य : श्रम मन्त्रालय

नेपालले सन् २०१७ देखि नै कतारसँगको श्रम सम्झौता परिमार्जन गर्न चाहेको हो । यसका लागि दुई देशका उच्च श्रम अधिकारीहरूबीच पटक-पटक संयुक्त प्राविधिक समितिको बैठकसमेत बसिसकेको छ । कतारले पछिल्लो समयमा कफला प्रणाली (स्पोन्सरसिप सिस्टम)लाई सुधार गरी श्रम बजारलाई लचक बनाएको छ । कतारमा कार्यरत आप्रवासी कामदारले कतार छोड्न चाहिने ख्रुज (एक्जिट पर्मिट)लाई हटाइसकेको छ । कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या ३ लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ ।

श्रम प्रवक्ता रिजालले अमिरको भ्रमणमा श्रम सम्झौतालाई टुंग्याउन चाहेको बताए । ‘हामी अहिले श्रम सम्झौतासम्बन्धी छलफलमा छौं । तर सम्झौतामा हस्ताक्षर हुने निर्णयमा भने पुगिसकेको छैनौं,’ रिजालले भने,‘हामी थप गृहकार्यमा छौं ।’

नयाँ श्रम सम्झौताको मस्यौदामा परराष्ट्र, अर्थ र कानुन मन्त्रालयले सुझाव दिइसकेको छ । त्यसलाई नेपालले कतार सरकारलाई पठाइसकेको छ । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले श्रम सम्झौता गर्न कतार सकारात्मक रहेको बताए । ‘कतार नेपालका लागि प्रमुख गन्तव्य देश हो । यो भ्रमणमा श्रम सम्झौता गर्न दुवै पक्ष सकारात्मक छ । तर, हामीसँग समय निकै कम छ,’ उनले भने,‘यदि यही भ्रमणमा भएन भने यथासक्य छिटो गर्न बाटो खुल्नेछ ।’

श्रममन्त्री अर्यालले सीपयुक्त जनशक्ति उत्पादनको विकासमा कतारी सहयोगको अपेक्षा राखेका छन् । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सीपयुक्त बनाउन चाहन्छौ । त्यसैले श्रमिकको सीप विकासमा तपाईंहरूको सहयोगको अपेक्षा गर्छौं,’ मन्त्री अर्यालले कतारी राजदूतसँगको भेटमा भने । कतारमा कार्यरत नेपाली श्रमिकलाई अन्य श्रमिकसरह नै व्यवहार हुनेमा पनि आफू ढुक्क रहेको उनको भनाइ थियो । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रंशसनीय छ,’ उनले भने।

कतारी राजदूत अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताउँदै नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न कतार सधैं तयार रहेको बताए । उनले सीपयुक्त जनशक्तिको विकासको लागि कतारबाट गर्नुपर्ने सहयोगको लागि स्पष्ट रूपमा प्रस्ताव ल्याउन अनुरोध गरे । ‘नेपाली श्रमिकको सीप विकासका लागि के-के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौँ,’ उनले भने ।

प्रकाशित : वैशाख ४, २०८१ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?