कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

कोशीमा विपक्षीद्वारा संकल्प प्रस्ताव पेस

पर्वत पोर्तेल

विराटनगर — मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढाल्न गृहकार्य गरिरहेका सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादीले सोमबार प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

कोशीमा विपक्षीद्वारा संकल्प प्रस्ताव पेस

कार्कीलाई राजीनामा दिन बाध्य बनाउने भन्दै विपक्षी दलहरू बिहीबार बस्ने प्रदेशसभा बैठकमा संकल्प प्रस्ताव पारित गर्ने तयारीमा जुटेका छन् । दुई दलले सोमबार अपराह्न दर्ता गराएको संकल्प प्रस्तावमा वैशाख २५ भित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने भन्ने दुईबुँदे चेतावनी छ । ‘वैशाख २५ भित्र राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिएमा मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य हुने छैनौं,’ संकल्प प्रस्तावमा उल्लेख छ ।

प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ४७ को उपनियम १ बमोजिमका सर्तका अधीनमा रहेर सोही नियमावलीको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण घिमिरेले जनाए । भण्डारी प्रस्तावक रहेको संकल्प प्रस्तावको समर्थकमा माओवादीका सांसद गणेश उप्रेती र एमालेका सांसद किशोरचन्द्र दुलाल छन् ।

वैशाख २५ सम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएमा त्यसपछि प्रमुख सचिव र मन्त्रालयका सचिवहरूले मुख्यमन्त्री वा मन्त्रीहरूको कुनै पनि निर्णय वा निर्देशन कार्यान्वयन गर्न गराउन बाध्य नहुने निर्देशन प्रदेशसभाबाट दिने प्रस्ताव गरिएको छ । विश्वासको मत नलिएमा वा प्राप्त नगरेमा वा वैकल्पिक सरकारका लागि मार्गप्रशस्त नगरेमा प्रदेश प्रमुखबाट संविधानको धारा १६८ अनुसार नयाँ वैकल्पिक सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने सन्देश प्रदेश प्रमुखलाई दिने प्रस्तावमा उल्लेख छ ।

गत चैत २६ मा एमाले–माओवादीले सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता मात्रै लिएनन्, बहुमत सांसदको हस्ताक्षरसहित प्रदेशसभाको विशेष अधिवेशनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङलाई समावेदनसमेत गरे । सोहीअनुरूप प्रदेश प्रमुख खापुङले बिहीबार वैशाख ६ का लागि विशेष अधिवेशन डाकिसकेका छन् । ‘प्रदेशसभाका ५२ जनाले फिर्ता लिइसकेको अवस्थामा वैशाख २५ भित्र संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीलाई निर्देशन दिइनेछ,’ एमाले प्रमुख प्रमुख सचेतक घिमिरेले भने ।


प्रकाशित : वैशाख ४, २०८१ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?