कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बिस्केट जात्रा : सुजन बाग श्रेष्ठले जिब्रो छेडाए

भक्तपुर — मध्यपुर थिमि–८ बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले परम्पराअनुसार यस वर्षको बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेडाएका छन् । उनले दोस्रोपल्ट जिब्रो छेडाएका हुन् । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

बिस्केट जात्रा : सुजन बाग श्रेष्ठले जिब्रो छेडाए

यसअघि उनका बाबु बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाइसकेका छन् । सुजनले यसपटक पनि जिब्रो छेडाएर परम्परालाई निरन्तरता दिएका हुन् ।

दुई दशकभन्दा बढी जिब्रो छेड्ने जात्राको परम्परा सुजनकै परिवारले धानिसकेका छन् । सुजनका बुबा बुद्धकृष्णले ९ पल्ट, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाएका थिए ।

स्थानीयका अनुसार बुद्धकृष्णले ९, कृष्णचन्द्र बाग श्रेष्ठले १२, हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, बुद्धचन्द्र बागश्रेष्ठले ७, जुजुभाइबास श्रेष्ठले ८ जिब्रो छेडाएको तथ्यांक छ ।

जिब्रो छेड्ने जात्राको परम्परामा बोडेवासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने मानिन्छ । तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठहरूको दर्शन गर्ने र छेडिसकेपछि पनि अर्धचन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने चलन छ । वैशाख २ को बिहानैदेखि नाइकेले विभिन्न देवगणको पूजा गरी पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च बनाई नायखिं बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेका हुन्छन् । त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए मुलुकमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ । जिब्रो छेडेर नगर परिक्रमा गराएर बोडेकै महालक्ष्मी मन्दिर परिक्रमा गराइ सुइरो झिकेर महालक्ष्मी मन्दिरमै ठोक्ने परम्परा छ । जिब्रोबाट सुइरो निकालेपछि महालक्ष्मी मन्दिरकै माटो जिब्रोमा लगाइछ ।

प्रकाशित : वैशाख २, २०८१ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?