काठमाडौ, माघ ४ -
नेपालका लोपोन्मुख भाषामध्ये कुसुन्डा भाषाको दुई जना मात्र वक्ता जीवित छन् । एक जना दाङ जिल्लाको लमहीमा छन् भने अर्का रोल्पाका सखी गाविस १ टुनिबोटमा बस्छिन् । लमहीमा रहेकी ज्ञानीमैया सेन र टुनिबोटकी कमला खत्री -कुसुन्डा) हुन् । यी दुई कुसुन्डा भाषा फरर बोल्ने वक्ता हुन् । तर कमला भारततर्फ मजदुरी गएपछि उक्त भाषा अनुसन्धानमा बाधा पुगेको थियो । तिनै कमला भरखरै भारतबाट फर्किएपछि अनुसन्धानकर्मीमा खुसी छाएको छ । 'कुसुन्डा भाषाका सबैभन्दा राम्रो वक्ता कमला खत्री हुन्, उनी भारतमा बनी गर्न गएकी थिइन्,' भाषाशास्त्री माधवप्रसाद पोखरेल भन्छन्, 'नफर्किने हो कि भन्ने चिन्ता थियो । फर्किएकीले खुसी लागेको छ । अनुसन्धानले सार्थकता पाउने भएको छ ।' कमला भारतको सिमलामा मजदुरी गर्न गएकी थिइन् । 'हामी आएको तीन दिन भयो,' कमलाकी छोरी कुमारीले कान्तिपुरसँग भनिन्, 'आमा टुनिबोट पुगिसक्नुभयो । म भोलि जाँदैछु ।' उनले सिमलामा मालिकको च्याउ खेतीमा काम गरेर फर्किएको जनाइन् । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार कुसुन्डा जातिको संख्या २ सय ७३ छ भने कुसुन्डा भाषा बोल्नेको संख्या २८ जना छन् । तथ्यांकअनुसार देशभरि १ सय २३ भाषा छन् । स्वदेशमा बोलिन भाषामध्ये सबैभन्दा कम वक्ता रहेको भाषा कुसुन्डा पनि हो । तर अनुसन्धाता यसमा सहमत छैनन् । कमला करिब ५० वर्षकी छन् । 'यो तथ्यांक ठीक छैन,' त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पोखरेलले भने, 'बाह्र वर्षदेखि कुसुन्डा भाषाको अध्ययन अनुसन्धानमा छु । यी दुईमात्र जीवित वक्ता हुन् । कुसुन्डा जाति छन् । तर कुसुन्डा भाषा फरर बोल्न सक्ने दुई जनामात्र हुन् ।' भर्खरै भारतबाट फर्केकी कमलाको आमा पुनीमैया ठकुरीको दुई वर्षअघि निधन भएपछि दुई जनामात्र वक्ता रहेको पोखरेलको दाबी छ । 'लमही ज्ञानीमैयाले दस वर्षको छँदा वन छोडेकी थिइन्, अहिले ७६ वर्षकी भइन् । त्यतिखेर जानेको भाषा ६७ वर्षको उमेर हुँदा हामीले भेट्यौं र यो भाषा अनुसन्धान थाल्यौं,' पोखरेलले भने । भाषाशास्त्री पोखरेलले २०५१ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको गोष्ठीमा कुसुन्डा भाषाको बारेमा चर्चा सुरु गरेका हुन् । उनले भने, 'निरन्तर बाह्र वर्षदेखि कुसुन्डा भाषाको अनुसन्धान गर्दैछौं । कमला आफ्नी आमासित फरर कुसुन्डा भाषा बोल्थिन् ।' कुसुन्डा भाषा बोल्ने दाङ, अर्घाखाँची, प्यूठान, तनहुँलगायत ठाउँमा खोजेको पोखरेल बताउँछन् । सरकारले आरक्षण दिएको तनहुँमा राजामामा छन् भने प्रेमबहादुर शाही घोराहीमा छन् । तर प्रेमबहादुर केही शब्दमात्र बोल्न सक्नेमा पर्दछन् । शब्दमात्र बोल्ने राजामामा हुन् । कुसुन्डा जातिले आफ्नो थरमा कसैले शाही, शाह, सेन, ठकुरी लेख्ने गरेका छन् । उनीहरूले इतिहासको कालखण्डमा शासक वर्ग रहेका ठकुरीलाई 'घरको ठकुरी' र आफूलाई 'वनको ठकुरी' भन्ने गर्दछन् ।