२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका अमिर

काठमाडौँ — कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ व्यक्तिहरूले उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे ।

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका अमिर

उनको बिदाइमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठलगायत विमानस्थल पुगेका थिए ।

कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाल आइपुगेका कतारी अमिरले राष्ट्रपति र प्रधानमन्त्रीसँग अलग-अलग भेटवार्ता गरेका थिए ।

बुधबार प्रधानमन्त्री दाहाल र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।

नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो ।

प्रकाशित : वैशाख १२, २०८१ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?