कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

विद्यार्थी अभावले बागलुङका दुई विद्यालय बन्द, ३१ को कक्षा घटाइयो

प्रकाश बराल

बागलुङ — विद्यार्थी संख्या शून्यनजिक झरेपछि बागलुङ नगरपालिकाले २ वटा विद्यालय बन्द (स्थगन) गरेको छ । ३१ विद्यालयको कक्षा घटाइएको छ । नेपालमै सबैभन्दा धेरै १ सय ४ विद्यालय रहेको बागलुङ–९ को रानीभूमे र सरस्वती आधारभूत विद्यालयको पढाइ स्थगन गरेको हो ।

विद्यार्थी अभावले बागलुङका दुई विद्यालय बन्द, ३१ को कक्षा घटाइयो

रानीभूमेमा शून्य र सरस्वतीमा शून्यनजिक विद्यार्थी संख्या पुगेपछि विद्यालय मर्ज गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । कक्षा ३ सम्मको स्विकृति प्राप्त रानीभूमेमा गत वर्षदेखिनै कक्षा २ र ३ मा विद्यार्थी थिएनन् । यो वर्ष पनि कोही भर्ना नभएको प्रधानाध्यापक लोकेन्द्र डाँगीले बताए । उनलाई नजिकको सिगाना माध्यमिक विद्यालय तित्याङ पठाइएको छ ।

कामै नभएपछि दरबन्दीमा रहेकी शान्ति पौडेललाई नगरपालिकाले बागलुङ बहिरा विद्यालयमा काज खटाएको छ । सदरमुकाम नजिकैको यो विद्यालयमा विद्यार्थी शून्य हुँदा पनि ३ जना शिक्षक दरबन्दी कायमै छ । गतवर्ष नियुक्ती पाएका लोकेन्द्र डाँगी प्रअ छन् । पौडेल काजमा गए पनि दरबन्दी यहीं छ ।

बालबिकास सहजकर्ता सरिता जिसी र बिद्यालय सहयोगी समेत कार्यरत छन् । उनीहरुको पनि दरबन्दी मिलानको काम बाँकी छ । डाँगीले समय पाएमा अर्को बर्ष विद्यार्थी बढाउन सक्ने बताए । ‘समुदायमा १०, १५ जना विद्यार्थी छन्, तर सबै सिगाना माविमा गए,’ उनले भने, ‘जंगल छेउमा भएकोले बालबालिका आउन मानेका छैनन् ।’

अनुगमनमा विद्यार्थी नभेटेपछि ती विद्यालय स्थगन गरेको हो । नगर शिक्षा समितिले नगरभर यस्तै हालतका विद्यालयको अनुगमन गरेर प्रतिवेदन तयार पारेपछि पहिलो चरणमा यो निर्णय भएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगर अनुगमन समितिका सदस्य ज्ञानेन्द्र गौतमले ती विद्यालयमा विद्यार्थी आउने संभावना नै नदेखिएको बताए ।

‘राज्यको लाखौं स्रोतसाधन गइरहेको छ, तर उपलब्धि छैन,’ गौतमले भने, ‘यहाँका शिक्षकहरु आवश्यक भएका ठाउँमा पठाउन नगरपालिकालाई सिफारिस गरेका छौं ।’ अनुगमन समितिको प्रतिवेदनमा नगरभित्रका १२ वटा विद्यालय स्थगत गर्नुपर्ने सुझाव छ । ती मध्ये २ वटा भने तत्काल स्थगन भएका हुन् ।

नगर उपप्रमुख राजु खड्का, शिक्षा अधिकारी धनप्रसाद पोखरेल र सदस्य ज्ञानेन्द्र गौतमले गरेको अनुगमनपछि ती विद्यालयको अवस्थासहितको प्रतिवेदन पेश भएको हो । वडा १२ को कालीगण्डकी आधारभूतमा नगर अनुगमन समिति पुग्दा पनि एक/दुई जना मात्रै विद्यार्थी भेटिएको शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । पोखरेलका अनुसार एउटै विद्यार्थीको तीनवर्षदेखि सोही विद्यालयमा नाम राखेर हाजिर गरेको भेटिएको थियो । यहाँ पनि ३ जना शिक्षक दरबन्दी छ ।

बजारभित्रै रहेको देउराली र बालमन्दिर आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या न्यून छ । मुख्य बजारमै रहेको बालमन्दिरमा कक्षा ७ र ८ मा विद्यार्थी नभएपछि समितिले तह मिलान गरेर कक्षा ६ सम्म मात्रै पढाउन सिफारिस गरेको हो ।

बालमन्दिरमा हाल ७ जना शिक्षकको दरबन्दी छ । समितिले नगरभित्रका २३ विद्यालयको कक्षा घटाउनुपर्ने ठहर गरेर नगरप्रमुखलाई सिफारिस पठाएको पोखरेलले बताए । नरपालिकाले बनाएको ‘सामुदायिक तथा संस्थागत विद्यालय स्थगन, तहमिलान तथा दरबन्दी मिलान कार्यविधि २०८०’ अनुसार समितिले अनुगमन प्रतिवेदन समेत नगरप्रमुखलाई बुझाइ सकेको हो ।

स्थगत र तह मिलान गरिने बिद्यालयका शिक्षकहरुलाई तत्काल नगरपालिकाले पुल दरबन्दीमा राख्ने पोखरेलले बताए । ‘कतिपय बिद्यालयमा शिक्षक नभएर निजी स्रोतका राखेर पढाएका छन्, कतै रित्तै विद्यालय कुर्नुपरेको छ,’ पोखरेलले भने, ‘अब आवश्यकताको आधारमा शिक्षक दरबन्दी बितरण गर्ने योजना बनाएका हौं ।’ राज्यको स्रोतको दुरुपयोग नहोस् भनेर यो कार्यविधि अनुसार अनुगमन गरी विद्यालय सुधार गर्ने योजना ल्याएको उनले बताए ।

विद्यालय स्थगन र तहमिलान गर्दा निस्कने शिक्षक दरबन्दी नगरपालिकाले पुलमा राखेर अन्यत्र पठाउने व्यवस्था मिलाएको छ । ‘विद्यालय खारेजी भएको होइन, भोली विद्यार्थी बढे भने शिक्षक पठाएर संचालन गर्ने अनुमति दिन्छौं,’ पोखरेलले भने, ‘तह मिलान भएकाले पनि विद्यार्थी अनुपात मिलाए कक्षा बढाउन सक्छन् ।’ शिक्षाको गुणस्तर बढाउन यो अभियान सुरु भएको उनले बताए ।

संस्थागत विद्यालयले बस राखेर गाउँगाउँका बिद्यार्थी ओसारेकोले गाउँमा कक्षा कोठा खाली भएको शिक्षकहरु बताउँछन् । ‘बोर्डिङका गाडी गाउँमै आइपुग्छन्, ओसारेर लैजान्छन्,’ बागलुङ–६ का अध्यक्ष रुद्रबहादुर केसीले भने, ‘सामुदायिकमा गुणस्तर दिन नसके अब सबै खाली हुनेछन् ।’ शिक्षकहरु जागिरे मनस्थितिको भएकोले पनि विद्यार्थी घटेको उनले बताए ।

बिद्यार्थी नभएपछि कतिपय विद्यालयका शिक्षकले पालो मिलाएर आउने र नआएको दिनको पनि हाजिरी गरेका थिए । ‘एक जना शिक्षकले त आफू राजनीतिमा हिड्नु परेकोले सट्टा शिक्षकको व्यवस्थापन गरिदिन समेत आग्रह गर्नुभयो,’ पोखरेलले भने, ‘त्यस्तो त गर्न सकिंदैन भनेपछि रिसाउनु भएको छ ।’

वडा अध्यक्ष, राजनीतिक दलका नेता र शिक्षक संघसंगठनका पदाधिकारीले भने नगरपालिकाले विद्यालय स्थगन र तहघटाउने काम गर्न नहुने भन्दै दवाव दिइरहेका छन् । नगरपालिकाले भने आफ्नो निर्णय कार्यान्वयनको तयारी गरिसकेको छ । विद्यार्थी अभावमा तीन वर्षअघि स्थगन भएको बागलुङ–१४ को शिव आधारभूत अहिले भग्नावषेशको रुपमा परिणत भैसकेको छ ।

वडा १४ कै सरस्वती आधारभूत, वडा- १३ को कृष्ण आधारभूत विद्यालयको भवन पनि भत्केर जीर्ण भएको छ । लाखौं लगानी भएका भवन भत्केर राज्यको लगानी समेत बर्बाद भएको स्थानीय राजेन्द्र ढकालले बताए । विद्यार्थी संख्या न्यून भए पनि कतिपय विद्यालयमा त राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र नगरस्तरीय बजेट पारेर भवन बनेका छन् ।

वडा १४ को आधारभूत विद्यालयमा त चालु वर्ष पनि २० लाख रुपैयाँको दुइकोठे नयाँ भवन निर्माण भएको छ । तर कक्षा ७ र ८ मा विद्यार्थी शून्य भएका छन् । गत वर्ष पनि यहाँ चारकोठे भवन बनेको थियो ।

शिक्षा ऐन आउन नसक्दा अहिलेसम्म २०२८ को कानूनमा टेकेर काम गर्नुपर्ने चुनौती रहेको शिक्षा बिकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्तप्रसाद शर्माले बताए । ‘पुरानो ऐन र नियमावलीमा ४५ जना विद्यार्थीलाई एक शिक्षक भन्ने थियो अहिले त्यो मिल्दैन,’ शर्माले भने, ‘ऐन नियमावली एकातिर आवस्यकता अर्को तिर भैसकेको छ ।’

बसाइँसराइ र सहर केन्द्रीत बसोबासले गाउँका विद्यालय रित्ता भएको उनले बताए । अहिले पनि कक्षा १ को मात्रै विद्यालय स्विकृत गर्नु पर्दा हिमालमा भए ३०, पहाडमा भए ४० र तराइमा भए ५० बिद्यार्थी परिकल्पना गरिएको शर्माको भनाइ छ । बालविकास केन्द्रमा २५ जना भए मात्र एउटा सहयोगी कार्यकर्ताको दरबन्दी दिने नियम छ । तर अहिले ग्रामीण क्षेत्रका अधिकांश बालबिकासमा ७ जना पनि पुग्दैनन् । ७ जनासम्म भएमा बालबिकास स्थगन नगर्ने बागलुङ नगरपालिकाले बनाएको कार्यविधिमा उल्लेख छ ।

प्रकाशित : वैशाख २२, २०८१ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?