कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोको हुनु त यस्तो पो !

दोलखा — दिनहुँ सयौं बोका काटिन्छन् । तर यी यस्ता बोका हुन् जसलाई कालगतिले बाहेक अन्य कारणले ज्यान गुमाउनु पर्दैन ।

बोको हुनु त यस्तो पो !
उसले खोरमा थुनिएर पनि बस्नु पर्दैन । इच्छा लागेको ठाउँ जान्छ, केही भेटे जबर्जस्ती भए पनि खान्छ । जतिसुकै बदमासी गरे पनि मानिसले श्रद्धापूर्वक धपाउँछन् एक सिर्कानो हिर्काउने हिम्मतसम्म गर्दैनन् । भक्तजनले दोलखा बजारस्थित भीमेश्वरमा धर्मका लागि छाडिएका केही बोका छन्, जसले यस्तो बिन्दास दैनिकी गुजार्दै छन् ।
प्रत्येक वर्ष ५० को हाराहारीमा भीमेश्वरमा बोका छाडिन्छन् । अधिकांश भीमेश्वर मन्दिर वरपर चहार्दै जीवनयापन गर्छन् । केही त गाउँ र सहर पस्छन्, पर्यटकजस्तै । एउटा कालो बोका भने विगत ३ वर्षदेखि चरिकोटमा यस्तै ऐसको दैनिकी जिउँदै गरेको देख्न सकिन्छ । जति बोको हृस्टपुस्ट हुन्छ, त्यति नै काटिनका लागि तयार हुनुपर्ने नियतिलाई त्यसले चुनौती दिएको छ ।
मौका पाए कसैको घरको ओछ्यान र सोफामै आराम गरिदिन्छ । बजारमा बेच्न राखेको हरियोपरियो र फलफूल अन्नमाथि बिनात्रास हमला गर्दिन्छ । कतिपयले त धर्म हुन्छ भन्दै फलफूल र दाना दिन्छन् । उपद्रव र छिप्पिँदै गएको बोकाबाट निस्कने अनौठो गन्धबाट छुटकारा पाउन मानिसले पानी छ्यापेर लखेटिरहेका हुन्छन्, अरू केही सजाय दिँदैनन् ।
साँझपख होटल संगमको अतिथिसदनको सोफामा आराम गरिरहेको बोकाबारे सञ्चालक सुन्दर कार्की भन्छन्, 'प्राय: आउँछ, बस्छ, आफैं जान्छ, लखेट्न पर्दैन ।'
उक्त बोकाले खोरहरू चहार्दै बीउको बोकाको काम पनि नि:शुल्क गरिदिन्छ । बीउ लाउँदा लाग्ने खर्च जोगिनाले गाउँघरतिर त्यो पशु आएपछि प्रेमपूर्वक गोठतर्फ आकषिर्त गर्ने पनि भेटिन्छन् । बोकाकै जुनीमा रहनु त्यसका लागि अर्को फाइदा हो । 'खसी' भएर बेरस जिन्दगी बाँच्न त्यसले पर्दैन । बलि दिने हिन्दु मन्दिरमा छाडिएका बोका, गोरुलाई 'खसी पार्न' नहुने जानकारहरू बताउँछन् ।
भगवानको प्रसादका रूपमा छाडिएका बोकाले 'साँढे' को उपाधि पाएका हुन्छन् । भीमेश्वरका गुठियार डम्बरबहादुर श्रेष्ठका अनुसार ०४० सालपछिबाट पशु मारेर मासु खान नरुचाउने भक्तजनले मनोकांक्षा पूरा होस् भन्दै गरेको भाकल बोका, भाले र हाँसलाई कुनै चिह्न लगाई छाड्न थालिएको हो । यसरी नै छाडिएकामध्ये त्यो बोकालाई पनि स्थापित हुनु मृत्युको सामुन्ने दुईपटक खडा हुनुपर्‍यो । केहीअघि चोरहरूले समातेर मासुका लागि बेच्न लाँदालाँदै प्रहरीले पक्राउ गर्दा ज्यान जोगिएको थियो ।
बढ्दै गएको साँढेले मन्दिरको वरपर फोहर पारेपछि प्रतिमामा संकल्प गरी नगद नै भगवान्लाई समर्पण गर्ने व्यवस्था गरिएको छ । तर पनि साँढे छाड्ने क्रम नरोकिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठ बताउँछन् । छाडिएकामध्ये कतिपयको दैनिकी मस्त देखिए पनि धेरैको भने विभिन्न कारणले मृत्यु हुने समिति अध्यक्ष जीवन श्रेष्ठले बताए ।

प्रकाशित : पुस १७, २०७१ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?