कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिना दिनमा ५ नाबालिका बलात्कार

रौतहट — महिना दिन अवधिमा ५ नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

गाउँलेको सहयोगमा उनलाई इलाका प्रहरी चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको हो । पीडित सबैलाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको छ ।
घटना सार्वजनिक भएपछि बालिका आत्तिएका छन् । उनले बालिकालाई पालैपालो बलात्कार गरेका थिए । चन्द्रपुर ४ का ५३ वर्षीय भक्तबहादुर राईले छिमेकी ५ नाबालिकालाई पैसाको लोभ देखाई महिना दिनदेखि त्यस्तो अत्याचार गर्दै आएका थिए । रिक्साचालक राईले साँझ र बिहान छिमेकीका घरमा बोलाई पालैपालो जबरजस्ती गरेको आरोप छ ।
पीडितले प्रहरीमा उनीविरुद्ध जाहेरी दिएका छन् । 'यस्ता अपराधीलाई हँदैसम्म सजाय हुनुपर्छ,' प्रहरी कार्यालयमा पीडित अभिभावकले भने, 'साना नानीलाई पैसाको लोभ देखाएर एक महिनादेखि लगातार बलात्कार गरेको छ ।'
नाबालिकालाई शौच गर्दा असहज भएपछि अभिभावकले घटना थाहा पाएका थिए । ५, ६ र ८ वर्षका बालिकाले त्यस्तो कुरा अभिभावकलाई भने मार्ने त्रास दिएको थियो । उनीहरू मानसिक तनावमा रहेकाले प्रहरीले महिला सेल गरुडामा पठाएको जनायो । मंगलबार साँझ गौर अस्पतालमा उनीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । महिला सशक्तीकरण प्रतिनिधि गीता भारती र महिला अधिकारकर्मी देवकी नेपालको सहयोगमा सदरमुकाममा बालिकाको परीक्षण गरिएको थियो ।
'राईले बालिकालाई पटकपटक बलात्कार गरेको स्वास्थ्य परीक्षणबाट प्रमाणित भएको छ,' भारतीले भनिन् । राईले त्यस्तो गरेको थाहा पाएपछि उनकै परिवारका सदस्यले समेत कारबाहीमा सहयोग गरेका छन् ।
जाहेरी लेखाउने र महिला अधिकारकर्मीलाई सहयोग गर्न राईकी छोरी आफैं हिंडेको भारतीले बताइन् । राईले भने १ महिनादेखि त्यस्तो कार्य गरेको प्रहरीसमक्ष स्विकारेका छन् । राईकी श्रीमती वैदेशिक रोजगारीमा छिन् । प्रहरी निरीक्षक रुद्धकान्त झाले राईलाई मुद्दा चलाउने तयारी भइरहेको जनाए ।

बलात्कारी पक्राउ
उदयपुर (कास)- नातेदार ७ वर्षीया बालिकालाई बलात्कार गरेर लुकेका एक युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । घटनाको ११ दिनपछि पक्राउ पर्नेमा नामेटार २ का १७ वर्षीय प्रेम तामाङ छन् । डीएसपी जयराज सापकोटाका अनुसार पीडितको जाहेरीपछि सुकौरा चौकीबाट गएको टोलीले नियन्त्रणमा लिई उनलाई सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । प्रहरीका अनुसार उनले गत पुस ५ मा बालिकालाई घरमा कोही नभएको मौकामा बलात्कार गरेका थिए । उनलाई हाडनाता करणीमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
 

प्रकाशित : पुस १७, २०७१ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?