कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षमा १८ को हत्या

लक्ष्मी साह

बारा — यस वर्ष पनि जिल्लामा हत्या शृंखला रोकिएको छैन । तिनका कारण घरायसी विवाद, दाइजो, यौन सम्बन्ध, रिसइबी र आर्थिक लाभ छन् ।

यसअघि हत्याका घटना तिनै भूमिगत संगठनबाट हुने गरेको थियो ।
यस्ता घटनालाई प्रहरी अधिकारीले परम्परागत अपराध भएको दाबी गरेका छन् । प्रहरीका अनुसार गत पुसदेखि अहिलेसम्म्ाको १ वर्ष अवधिमा यहाँ १८ जनाको हत्या भएको छ । गत वर्षको यस अवधिमा १७ जनाको हत्या भएको थियो । यो संख्या गत वर्षको बराबरी छ । यसमा बढी महिला र बालबालिका छन् । 'यी अपराध सामाजिक र परम्परागत अपराध भएकाले यसबाट जोगिन तथा कम गर्न शिक्षासँगै चेतना बढाउनु जरुरी छ,' प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र रेग्मीले भने, 'यी सबैखाले हत्या घरेलु हतियार अर्थात् खुकुरी, लाठी, बाँसको भाटाले भएकाले यसलाई सामाजिक अपराध मान्नुपर्छ ।'
त्यसलाई घटाउन समुदायसमेत सजग हुनुपर्ने उनले बताए । सबै घटनाका दोषी कानुनी दायरामा आइसकेको उनको भनाइ छ । 'पीडितले कानुनी उपचार नखोजी गाउँमा अपराधका घटना सामसुम पार्ने प्रवृत्तिमा विश्वास गर्ने भएकाले अपराधको शृङ्खला बढेको छ,' उनले भने । मानव अधिकारकर्मी जितेन्द्र यादवले भने, 'राजनीति संक्रमणसँगै केही समययता समाजमा घरेलु हिंसालगायत रिसइबीको भावना बढ्दै गएकाले यस्ता हत्याको शृङ्खला रोकिएको छैन ।' गम्भीर प्रकृतिका अपहरण धन्दा र बलात्कारजन्य क्रियाकलापबाट समेत फाटफुट हत्याका घटना भएका छन्, यस्ता हिंसालाई नियन्त्रण गर्न सुरक्षा निकाय र समाजलाई चुनौती रहेको उनको भनाइ छ । प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका केन्द्रका अनुसार गत १ वर्ष अवधिमा यहाँ झन्डै तीन सयको हाराहारीमा घरेलु हिंसाका घटना भएका छन् । केन्द्रका एक प्रहरी अधिकृत भन्छन्, 'यिनै हिंसा समयमा व्यवस्थापन हुन नसक्दा उग्र रूप लिएर हत्यासम्म्ाका घटना हुने गरेको छ ।' जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्ल्ाो वर्षको गत पुसदेखि हालसम्मको १ वर्षको ३ जनाको अपहरण, १५ जनाको ज्यान मार्ने प्रयास भएको छ । यसैगरी २६ बलात्कृत भएका छन् ।
अपराध हुन नदिन चेकजाँच, सुचना संकलनका लागि सादा पोसाकका प्रहरी टोली परिचालन, सर्च र शंकास्पद व्यक्तिमाथि निगरानी बढाए पनि अपराधमा कमी नआएको बार एसोसिएसनका पूर्वअध्यक्ष परमहंस केशरीले बताए ।
सुरक्षा अधिकारीले अपराध हुन नदिन उच्च सतर्कता अपनाएको दाबी गरिरहँदा पनि यस्ता अपराधका शृङ्खलाबद्ध बढेको बढ्यैले यस क्षेत्रका बासिन्दा त्रसित रहेको उनको भनाइ छ । 'दक्षिणमा खुला सिमाना र उत्तरमा घना जंगलको फाइदा उठाएर हत्या र अपहरणका घटना भएको अवस्था छ,' एक प्रहरी अनुसन्धान अधिकृतले भने, 'यी सबै घटनाका कारक मोबाइल र सेल्टरका रूपमा रहेका जंगल तथा खुला सिमाना हुन् ।'

प्रकाशित : पुस १७, २०७१ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?