२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सन् १९८१ मा आजकै दिन : अमेरिकी राष्ट्रपतिमाथि गोली प्रहार 

काठमाडौँ — सन् १९८१ मा आजकै दिन (मार्च ३०) मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनमाथि गोली प्रहार भएको थियो । वासिङ्टनस्थित हिल्टन होटलको कार्यक्रमबाट फर्कंदै गर्दा रेगनमाथि जोन हिंकली जुनियरले गोली प्रहार गरेका थिए । गोली प्रहारका कारण राष्ट्रपति रेगन घाइते भएका थिए ।

सन् १९८१ मा आजकै दिन : अमेरिकी राष्ट्रपतिमाथि गोली प्रहार 

हिंकलीले ६ राउन्ड गोली प्रहार गरेकामा एउटा रेगनलाई लागेको थियो । पहिलो गोली ह्वाइटहाउसका प्रेस सचिव जेम्स ब्राडीको टाउकोमा लागेको थियो । त्यस्तै, दोस्रो गोली रेगनलाई बचाउने प्रयास गर्ने प्रहरी अधिकारी थोमस डिलाहान्टीको घाँटीमा लागेको थियो । राष्ट्रपतिको नजिकैबाट गुज्रेको तेस्रो गोली बाटोपारिको घरको झ्यालमा लागेको थियो ।

त्यसलगत्तै सुरक्षाकर्मीले राष्ट्रपतिलाई लिमोजिनतर्फ धकेलेका थिए । चौथो गोली राष्ट्रपतिलाई बचाउने क्रममा सेक्रेट सर्भिस एजेन्ट टिमोथी म्याककार्थीको पेटमा लागेको थियो । पाँचौं र छैटौंमध्ये एक गोली लिमोजिनको ‘बुलेट प्रुफ’ झ्यालमा र अर्को गोली राष्ट्रपति रेगनको पाखुरामुनि लागेको थियो । यद्यपि, रेगनको मुखमा रगत देखिएपछि मात्रै उनलाई गोली लागेको थाहा भएको थियो । त्यसलगत्तै जर्ज वासिङ्टन युनिभर्सिटी अस्पताल पुर्‍याइएका रेगन १२ दिनको उपचारपछि काममा फर्किएका थिए ।

अनुसन्धानका क्रममा गोली प्रहार गर्ने हिंकलीमा मानसिक समस्या रहेको थाहा भएको थियो । सुरक्षा अधिकारीसमक्ष उनले आफू चर्चामा आउनका लागि राष्ट्रपति रेगनलाई गोली हानेको बताएका थिए । अमेरिकामा हालसम्म चार जना राष्ट्रपतिको गोली हानी हत्या गरिएको छ । अब्राहम लिंकनलाई १८६५ मा, जेम्स ए. गाफिल्डलाई १८८१, विलियम म्याककिन्लीलाई १९०१ र जोन एफ केनेडीलाई १९६३ मा राष्ट्रपति रहेकै बेला हत्या गरिएको थियो । अमेरिकाको इलिनोइसमा १९११ फेब्रुअरी ५ मा जन्मिएका रेगनको २००४ जुन ५ मा निधन भएको थियो ।

प्रकाशित : चैत्र १७, २०८० ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?