कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सन् २००० मा आजकै दिन : रुसी राष्ट्रपतिमा पुटिन विजयी

काठमाडौँ — सन् २००० मा आजकै दिन (मार्च २६) मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा पहिलो पटक विजयी भएका थिए । उनी ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

सन् २००० मा आजकै दिन : रुसी राष्ट्रपतिमा पुटिन विजयी

सन् १९५२ अक्टोबर ७ मा रुस (तत्कालीन सोभियत संघ) को सेन्ट पिटर्सबर्गमा जन्मिएका पुटिन १९७५ मा रुसी गुप्तचर विभाग केजीबी (राष्ट्रिय सुरक्षा समिति) प्रवेश गरेका थिए । डेढ दशकभन्दा लामो गुप्तचर सेवापछि सोभियत संघको विघटन भएपछि उनी १९८४ मा रुसी सहर सेन्ट पिटर्सबर्गको उपमेयर बनेका थिए ।

त्यसपछि रुसी राष्ट्रपति कार्यालयमा क्रेमलिनको उपप्रमुख प्रशासक भएका पुटिनलाई १९९९ मा रुसी राष्ट्रपति बोरिस यल्तसिनले प्रधानमन्त्री नियुक्त गरेका थिए । १९९९ डिसेम्बर ३१ मा यल्तसिनको राजीनामापछि कार्यवाहक राष्ट्रपति बनेका पुटिन त्यसपछि २००० मा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका हुन् ।

त्यसपछि लगातार दुई कार्यकाल राष्ट्रपति भएका पुटिन कानुनी प्रावधानका कारण पदबाट बाहिरिए पनि २००८ मा आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाउन सफल भएका थिए । २००८ देखि चार वर्ष प्रधानमन्त्री भएका पुटिन २०१२ मा तेस्रो र २०१८ मा चौथो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । गत मार्च १५ देखि १७ सम्म रुसमा भएको राष्ट्रपतीय चुनावमा उनी पाँचौं कार्यकालका लागि निर्वाचित भइसकेका छन् ।


प्रकाशित : चैत्र १३, २०८० ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?