२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

एमाले पर्साको अध्यक्षमा शर्मा सर्वसम्मत

भूषण यादव

वीरगन्ज — नेकपा एमाले पर्साको ९ औँ जिल्ला अधिवेशनबाट विश्वम्भर शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

एमाले पर्साको अध्यक्षमा शर्मा सर्वसम्मत

गत वैशाख वैशाख १७ मा उद्घाटन भएको अधिवेशन सातौँ दिनमा सम्पन्न भएको हो । जिल्लामा सक्रिय एक समूहले निर्वाचनमा नगई सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्ने अडानका कारण अधिवेशन लम्बिएको थियो । निर्वाचन प्रक्रिया बिथोल्न प्रिन्टर र कागजात कब्जामा लिने प्रयास गर्दा गत शुक्रबार मतदानस्थलमै दुई गुटबीच कुटाकुट समेत भएको थियो ।

अध्यक्षमा उम्मेदवारी दिएका अन्य दुई उम्मेदवारले नाम फिर्ता लिएपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् । गत बिहीवार अध्यक्षमा शर्मा, लेखा समितिका सहसंयोजक प्रताप श्रेष्ठलगायत ९१ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष, सचिव, उपसचिव, लेखा समिति संयोजक र ३५ सदस्यसमेत गरी ४० पदमा भएको निर्वाचनको अन्तिम परिणाम आइतबार राति सार्वजनिक भएको हो ।

उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी र सदस्यमा शनिबार मध्यान्हदेखि मतदान भएको थियो । उपाध्यक्षमा मनोज गुप्ता विजयी भएका छन् । छिपहरमाई गाउँपालिकाका अध्यक्ष समेत रहेका गुप्ताले प्रतिद्वन्द्वी लालबाबु शेखलाई एक सय ६० मतले पराजित गरेका थिए ।

प्रेस काउन्सील नेपालका सदस्य समेत रहेको लालबाबुले एक सय ६६ मत पाएका थिए भने गुप्ताले तीन सय २६ मत ल्याएका थिए । सचिवमा महेश दासले प्रतिद्वन्द्वी नवराज शर्मालाई ६ मतले पराजित गरे । दासले दुई सय ३९ मत पाउँदा शर्माले दुई सय ३३ मत प्राप्त गरेका थिए । पुरुष तर्फको उपसचिवमा नविजान मियाँ अन्सारी र महिला तर्फ सीता लामा विजयी भएका छन् ।

प्रकाशित : वैशाख २४, २०८१ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?