कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

१४ औं राष्ट्रपति रनिङ सिल्ड : बादल र सरितालाई दुई स्वर्ण

काठमाडौँ — गण्डकी प्रदेशका बादल कार्की र कर्णालीकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा दोहोरो स्वर्ण पदक जितेका छन् ।

१४ औं राष्ट्रपति रनिङ सिल्ड : बादल र सरितालाई दुई स्वर्ण

दुवैले बुधबार ८०० मिटर दौडमा स्वर्ण जिते । पहिलो दिन मंगलबार दुवैले ४०० मिटर दौडमा पनि स्वर्ण जितेका थिए । दशरथ रंगशालाको ट्र्याकमा बादलले ८०० मिटर निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड लगाए । सुदूरपश्चिमका विक्रम विष्ट दोस्रो तथा कर्णालीका प्रकाश बुढा तेस्रो भए । सरिताले २ मिनेट २८.५ सेकेन्डमा दूरी पूरा गरिन् । कर्णालीकै भावना कर्साल दोस्रो तथा लुम्बिनीकी अनिशा थारु तेस्रो भए ।

छात्र/छात्राको ४ गुणा १०० मिटर रिलेमा वाग्मती पहिलो भयो । छात्रमा मधेश दोस्रो र सुदूरपश्चिम तेस्रो भए । छात्रामा गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो भए ।

ज्याभलिन थ्रोको छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेलले स्वर्ण जिते । उनले ५२.१६ मिटर टाढा ज्याभलिन फाले । लुम्बिनीका राहुल थारु दोस्रो र रवि चौधरी तेस्रो भए । छात्रामा कर्णालीकी सरिता बिकले स्वर्ण जितिन् । उनले ३१.५४ मिटर फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत र लुम्बिनीकी दिव्यकला थारुले कांस्य जितेका थिए ।

लङजम्प छात्रतर्फ लुम्बिनीका रमेश थारुले ६.६४ मिटर जम्प गर्दै स्वर्ण जिते । सुदूरपश्चिमका सन्नी चौधरी दोस्रो र आशिष महर तेस्रो भए । छात्रामा वाग्मतीकी प्रनिशा महतो पहिलो भइन् । प्रनिशाले ४.९५ मिटर जम्प गरिन् । गण्डकीकी निशा घर्ती दोस्रो र सुदूरपश्चिमकी रेनुका ऐर तेस्रो भए ।

भलिबल

राखेपको कभर्डहलमा भइरहेको भलिबलको छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट वाग्मती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेश अन्तिम चारमा पुगे । बेस्ट अफ थ्रीमा भएको प्रतिस्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरे ।

बिहीबार हुने सेमिफाइनलमा वाग्मती र कोशी तथा लुम्बिनी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा वाग्मतीले गण्डकीलाई २५–१३, २६–२४, कर्णालीलाई २७–२५, २५–१२ रसुदूरपश्चिम प्रदेशलाई २५–१०, २५–८ ले हराएर समूह विजेता बन्यो ।

गण्डकीले भने कर्णालीलाई २५–२०, २५–२७, १५–८ ले हराउँदा सुदूरपश्चिममाथि २५–२०, २५–२२ को जित निकाल्यो । समूहमा एकमात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो । समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३, २५–१७ र मधेशलार्ई २५–१४, २५–२१ ले हरायो । समूहको उपविजेता कोशीले एकमात्र जित मधेशमाथि २५–१८, २५–१८ ले निकाल्यो ।

पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनीले सेमिफाइनलमा स्थान बनाए । चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ । कर्णालीले सुदूरपश्चिमलाई २५–२०, १९–२५, १५–८ र कोशीलाई २५–२२, २५–१९ ले हरायो । लुम्बिनीले कोशीलाई २५–२०, २५–१९ र सुदूरपश्चिमलाई २५–२२, २५–१५ ले हरायो ।

तेक्वान्दो

सातदोबाटोस्थित तेक्वान्दो हलमा तेक्वान्दोको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकामा वाग्मतीले ३ स्वर्ण जितेको छ । कोशीले २, मधेश र कर्णालीले १–१ स्वर्ण जितेका छन् ।

वाग्मतीका लागि छात्रा एकल पुम्सेमा सरगम थापा, ४२ केजीमुनि सुप्रिया बजगाईं र छात्र ५१ केजीमुनि करण धौलीले स्वर्ण दिलाए । छात्र ५९ केजीमुनि सन्जल श्रेष्ठ र छात्रा ५३ केजीमुनि प्रज्ञा परियारले कोशीलाई स्वर्ण जिताए । छात्र एकल पुम्सेमा मधेशका निश्चल धामी थारु र छात्र ४९ केजीमुनि कर्णालीका निशान प्याकुरेलले स्वर्ण जितेका थिए ।

उसु

उसुमा बुधबार चार स्वर्णको टुंगो लाग्यो । राखेप सेमी कभर्डहलमा पुरुष थाइचीमा छ्वानमा वाग्मतीका राजकुमार तामाङले स्वर्ण जिते । सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कांस्य जिते । महिला थायची छ्वानमा वाग्मतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी दीपिका साउदले रजत जित्दा कोशीकी अञ्जना सरदारले कांस्य जितिन् ।

छात्रकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, वाग्मतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कांस्य जिते । यसै छात्रातर्फ वाग्मतीका ममता सुनुवारले स्वर्ण जितिन् । कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत र सुदूरपश्चिमकी ज्ञानु बिकले कांस्य प्राप्त गरे ।

कबड्डी

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको कबड्डीको छात्र/छात्रा दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रमा सुदूरपश्चिमले मधेश तथा लुम्बिनीले कोशीसँग प्रतिस्पर्धा गर्नेछन् । छात्राको सेमिफाइनल लुम्बिनी र वागमती र सुदूरपश्चिम र कर्णालीबीच हुनेछ ।

कराते

सातदोबाटोस्थित कराते हलमा पहिलो दिन वाग्मतीले सर्वाधिक ४ स्वर्ण जितेको छ । कोशीले २ र लुम्बिनी र सुदूरपश्चिमले १–१ स्वर्ण जिते । १२ स्पर्धा समावेश करातेमा बुधबार ८ स्वर्णको प्रतिस्पर्धा भयो । वाग्मतीबाट छात्राको एकल कातामा रेनिशा रिमाल, ४० केजीमुनि करुणा गढाल, ५० केजीमुनि सिरुसर भुजु र छात्र ४७ केजीमुनि राकेश मानन्धरले स्वर्ण जिते । एकल कातामा कोशीका प्रमोद राई र ६२ केजीमुनि कोशीका जीवेश राई विजेता भए । छात्रा ५५ केजीमुनि लुम्बिनीकी विष्णा रेमीमगर र छात्र ५७ केजीमुनि सुदूरपश्चिमका आकाश सेजुवालले स्वर्ण जितेका थिए ।

प्रकाशित : वैशाख ५, २०८१ २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?