काठमाडौ, पुस १९ -
लुकिछिपी खेल्दाखेल्दै कहिले परालको टौवामुनि लुक्दै अनि मन्दिरको पर्खालमुनि लुक्दै दिनभर भागदौडमै दिन बिताई साँझपख घर पुग्छ हरि ।
आमा धान कुटेर भर्खर र्फकेकी हुन्छिन् भने बाबु गाईभैंसीको घाँस पराल गर्दै गरेका हुन्छन् । भोक लाग्यो आमा भन्दै हरि घरभित्र पस्छ । आमा सुइय गर्दै पर्ख बाबु अब पकाउँछु भन्दै चुलाचौकातिर लाग्छिन् । उनलाई पनि भ्याइनभ्याई छ दिनभर दाउरा, घसेंटा, वनपात गर्दै फुर्सद छैन । साँझ फेरि पकाई तुल्याई खुवाई गर्दैमा १०/११ बज्छ । बिहानीको कुखुराको डाँकसँगै फेरि उही प्रक्रिया दोहोरिन्छ । बिहानै उठी दैलो कसिंगर फेरि खुवाई तुल्याई पानी पँधेरो उनको कामकोे खात माथि खात हुन्छ ।
आमाले भात बसालेर भैंसी दुहुन गइन् । त्यसै बेला बाबु भित्र पस्छन् । बाबुले हरिलाई बोलाउँछन् हरि त्यही गुन्द्रीमा नै निदाइसकेको हुन्छ । खाना पकाईवरि आमाले हरिलाई खाना खुवाइन् । हरि ६ वर्षको छ ।
सबैले खाना खाइसकेर आफ्नो आफ्नो ओछ्यानतिर लागे । आमाले हरिलाई सुताउन लिएर गइन् ।
सधैंझैं हरिलाई कथा सुनाएर सुताउने आमाको बानी थियो भने हरि पनि कथा सुनेर नै निदाउने गथ्र्याे ।
हरि आमाको काखमा छ भने आमाको हात हरिको कपाल सुम्सुम्याउँदै छन् । आमा कथा सुनाउन थाल्छिन् ।
कुनै बेला एक सुनसान जंगलमा राजकुमारी एक्लै परिछन् । उनका सबै अंगरक्षकले बाटो बिराएछन् । अनि यत्रतत्र भएछन् । राजकुमारी एक्लै भएर डरले कम्पित भई ठूलो रूखको आडमा गएर बसिछन् ।
त्यहीँ अचानक एक अधबैंसे हट्टाकट्टा आइपुगेछ । अनि राजकुमारीलाई त्यस्तो भयभीत अवस्थामा देखेर सोध्न थालेछ, हे सुन्दरी यति राति तिमी यहाँ के गर्दै छौ ?
अनि कहाँबाट आयौ ? अनि यो घना जंगलमा किन यसरी बसेको ? अधबैंसेको सबै प्रश्नको जवाफ दिएपछि राजकुमारीप्रति दया देखाएर उसले आफूसँगै हिँड्न भनेछ । राजकुमारी पनि उसलाई भलाद्मी नै सोची उसैसँग गइछन् ।
त्यो अधबैंसे त्यही जंगलमा नै बस्दोरहेछ अनि दाउरा काटेर त्यही जंगलमा बास बस्ने गर्दाेरहेछ । राजकुमारीले आफ्ना अंगरक्षक नभेटेनुन्जेल त्यहीँ बस्न दिन अनुरोध गरिन् अनि त्यो दाउरेले पनि हुन्छ भनी राजकुमारीलाई भित्र राखेर आफू बाहिर निस्केछ । राजकुमारीको कपुर जस्तो शरीर देखेर उक्त पापीको मन बदलिएछ अनि केही क्षणमा नै आफ्ना साथीहरू ब्ाोलाएर ल्याएछ अनि लुकीछिपी राजकुमारीलाई बाहिरबाट हेर्न थालेछन् । त्यो कुराको राजकुमारीलाई छनकसम्म परेनछ । केही समयपछि उनीहरू भित्र पसेछन् अनि ती नारीको इज्जत लुटेछन् र अँगार पोतेर त्यसै छाडी बाहिर रहेको दाउराको कटेरोमा आगो लगाई भागेछन् ।
यता राजकुमारी हराएको र अंगरक्षकहरू पनि तितरबितर भएको हल्ला महाराजसामु पुगेछ । बिहानै राजकुमारीको खोजमा एक जत्था सैनिक लिएर जंगलको बाटो लागेछन् । केही टाढा पुगेपछि त्यहाँ बल्दै गरेको आगोको मुस्लो देखेर सबै त्यतैतिर लागे । त्यहाँ पुगेर सबै यताउता खोज्न लागे भने कोही छाप्रो घरभित्र पसे । त्यहाँ राजकुमारीको शव रगताम्य भएर लडेको देखी शोकाकुल भए । त्यहाँ रुवाबासी मच्चियो । सानो विश्वासले राजकुमारीको ज्यान गयो ।
आजसम्म त्यो जंगलमा राजकुमारी बस्छिन् रे अनि आधा रातमा बचाउ बचाउ भन्दै चिच्याउँछिन् रे, दिनभर त्यहीँ रूखमा नै बस्छिन् रे । त्यसैले त्यो जंगलमा नजाऊ है भन्दै आमाले हरिलाई सम्झाई सुताइन् । यो कथामा हरि म हुँ भने आमा मेरो बचपन अनि मेरी आमा ।
आज बचपनले मलाई कौतूहल बनाएको
छ अनि भगवान्सँग मैले मेरो बचपन मागेको छु । म आज जहाँ जसरी जुनै हालमा रहे पनि या ठूलो मान्छे नै भए पनि मलाई मेरो बचपन नै प्यारो लाग्छ । अनि मेरो सर्वस्व सुम्पेर यदि म मेरो बचपन फिर्ता पाउँछु भने म सर्वस्व त्याग गर्न चाहन्छु ।
शरीर परिवर्तनशील छ अनि सबै प्राणी तर सोच र विचार अनि मानसपटलभित्रका घुम्ती फेरो मारेर नसकिने रहेछ । म आज ती आमाका काख सम्झन्छु अनि निदाएका ती एक एक पल जहाँ कुनै कुराको कमी
थिएन अनि मेरो रुवाइ त्यो घरमा
कानुन बन्थ्यो मैले रुनेबित्तिकै त्यहाँ मेरा आवश्यकता पूर्ति हुन्थे । मेरो रुवाइ पनि निःस्वार्थ र क्षणिक हुन्थ्यो । आज म बारैमास रोएको छु तर मेरो रुवाइ मेरो भाग्यसाग दाँजिएको छ अनि मेरा आवश्यकता मेरा स्वार्थसँग जोडिएको छ र आमासँग नाता तोडिँदै गएको छ ।
जिन्दगी धकेलेरै भए पनि चलाउन बाध्य हुँदै गर्दा ती दिनहरूले बाडुल्की लगाउँछ, टोक्छ तड्पाउँछ । म सानै भएको भए कति आनन्द हुने थियो । आज कागजको डुंगा बनाएर खेलेको याद आउँछ अनि बाँसको पातको फिरफिरे उडाएको याद आउँछ । आखिर यादै यादको सागर रहेछ जिन्दगी । आमाले भनेका कथाजस्तो रहेनछ जिन्दगी अनि कथाका पात्रजस्ता पनि रहेनछन्
मान्छे । हो बरु राजकुमारीको कथासँग भने दाँज्न मिल्ने भेटिए ।