कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

अग्नीपीडितको बिचल्ली : सुख्खा चिउरा खाएर त्रिपालको बास

सुनिता बराल

महोत्तरी — दुईवटा टोलका १ सय १० घर आगोले खरानी भएपछि मटिहानी नगरपालिका-६ जरहवागाछीका करिब ५ सय मानिसहरु अहिले बेघर बनेका छन् । बुधबार बस्तीमा लागेको आगोले लत्ताकपडासंगै धनमाल जलेर नष्ट भएपछि बस्तीमा विपन्न परिवारको बिचल्ली भएको छ । 

तेजपत्ता बेचेर जीविकोपार्जन गर्ने बस्तीकी अमिना खातुन अहिले केही फेला पार्ने आशामा जलेको घरको भग्नावशेषमा खोतल्दै गरेको भेटिइन् । ‘सबै कुरा जल्यो भन्ने विश्वास लागिरहेको छैन,’ उनले भनिन्, ‘तर मसँग केही छैन ।' बढी चिन्ता उनलाई तेजपत्ता व्यापारको दर्ता पत्र र २५ हजार नगद जलेकोमा छ ।‘मुस्किलले बचाएर राखेको सम्पत्ति त जलिसक्यो’ उनले भनिन्, ‘अब बालबच्चालाई कसरी बचाउने ? हेर्दाहेर्दै बस्तीका सबै घर जलेर खरानी भए । न खाने सामल छ, न जाने ठाउँ,' दुखेसो पोख्दै उनले भनिन्, ‘सुख्खा चिउरा र चिनी खाएर बसेका छौँ ।'बिहीबारको चर्को गर्मीसंगै चलेको तातो हावाले बस्तीमा भुमरी बनाएर उडाएको माटो र खरानीले भरिएको त्रिपाल देखाउँदै मटिहानी-६ जरहवागाछीकी अग्नीपीडित अखलीमा खातुनले भनिन्, ‘बालबच्चा लिएर यही त्रिपालमा रात बिताएँ ।’  २ बोतल पानी, एउटा त्रिपाल, २ किलो चिउरा र २ किलो गहुँको पिठो मटिहानी गरपालिकाले बुधबार साँझ नै सबै अग्नीपीडितलाई उपलब्ध गराएको छ । तर अहिले पकाउने सामल दिएर अग्नीपीडितसंग न पकाउने भाँडा छ न त पैसा नै । 

६ धुरमा भएको घर जलेपछि एक महिनाकी सुत्केरी सबाना खातुनको घरमा अहिले टुसुक्क बस्ने ठाउँ समेत छैन । तर दुई नाबालक काखैमा लिएर उनी त्यही जलेकै घरको वरिपरी घुमिरहेकी छिन् । एक महिनाकी सुत्केरी खातुनका श्रीमान् नुहान ४ दिन पहिले मात्रै कमाउन भारत गए । आराम गर्नुपर्ने सुत्केरी शरीर नाबालक काखमा लिएर सुख्खा चिउरा खाँदा उनको भेट भरिएको छैन । 'भाग्यले सबै सिध्यायो,' उनले भनिन, ‘शरीर गलिरहेको छ, खाने केही छैन, बच्चा सुताउने ठाउँ छैन, बस्ने ठाउँपनि छैन’ । 

मियाँटोलबाट सल्किएको आगो गाउँमा फैलिएपछि धेरै विपन्न परिवारको घर जलेको छ । काममा गएको बेला गाउँमा सल्किएको आगोले घर सखाप बनाएपछि जिउमा लाएको भन्दा अन्य केही निकाल्न नपाएको पीडितहरुले बताएका छन् । बस्तीका सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धालाई खुला आकाशमुनि रात कटाउन समस्या भएको छ । तत्कालै ओछ्याउने,  भाँडाकुडा र शौचालयको समस्या बस्तीमा भएको स्थानीय ईदो खातुनले बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले अग्नीपीडितलाई २० हजार प्रतिपरिवार दिने निर्णय गरेको महोत्तरीका प्रमुख शिवराम गेलालले जानकारी दिए ।

बैठकबाटै अग्नीपीडितलाई आएको राहत एकद्धार प्रणालीबाट वितरण गर्न पहिले जिल्ला प्रशासनमा अभिलेखिकरण गर्ने निर्णय भएको पनि गेलालले बताए । आगलागीबाट १ सय १० परिवारको ४ सय ६२ व्यक्ति प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको भएपनि यकिन विवरण पालिका, प्रहरी र रेडक्रसले बुझाएपछि जिल्ला प्रशासनले तत्कालै राहत उपलब्ध गराउने गेलालले बताए । मटिहानी नगरपालिकाले गर्न सक्ने पहिलो चरणको राहत तत्कालै उपलब्ध गराएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए । पीडितलाई बिहीबार सेनाले खाना खुवाउने व्यवस्था मिलाएको र अन्य धेरै संघ संस्थाले विभिन्न सामाग्री सहयोग गर्ने तत्परता देखाएकाले अबको केही दिनमा पीडितलाई राहत पुग्ने उनले बताए । 

प्रकाशित : वैशाख १३, २०८१ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्