१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो, बस्ती जोखिममा 

सल्यान — छत्रेस्वरी गाउँपालिका-५ लेखपोखराको तिर्थपोले सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । वनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र, प्रहरी, स्थानीय, जनप्रतिनिधि खटिएपनि निभाउन सकेका छैनन् ।

सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो, बस्ती जोखिममा 

वनमा लागेको डढेलोको कारण वडा नं ५ मा पर्ने तीथएपोले, ढोरेनी काप्रेचौर, मैनेनी, महानेटा, चोरपानी, स्यानाचौर, नयाँगाउँ बस्ती उच्च जोखिममा परेको वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए । सामुदायिक वनमा लागेको डढेलोले तीर्थपोले बस्ती घेरेपछि सबैको प्रयासमा अहिले बस्ती बचाउन सकिएको उनले जानकारी गराए ।

उनका अनुसार हावाहुरी चलिरहेको छ । हावाका कारण वनमा भीषण डढेलो लागेको छ । नजिकै गएर निभाउन सकिने अवस्था छैन । 'वनमा लागेको डढेलो नियन्त्रण भन्दा बाहिर गएकाले अहिले बस्ती जोगाउन सबै लागेका छौँ,' उनले भने ।

बुधबार बेलुकी शारदा नगरपालिका १३ स्थित एक सामुदायिक वनबाट सल्केको आगो फैलिँदै गएर तीर्थपोले सामुदायिक वनमा लागेको उनको भनाइ छ । हावाहुरीका कारण वनमा लागेको आगोको लप्को धेरै टाढासम्म पुग्ने गरेको र धुँवा तथा तातोले गर्दा नजिक जान नसकिने अवस्था रहेकाले डढेलो नियन्त्रणमा लिन नसकिएको तीर्थपोलेका स्थानीय तथा सामुदायिक वनका सदस्य दिलबहादुर बुढाथोकीले बताए ।

वनमा लागेको डढेलो निभाउन गाह्रो भएपछि बस्तीभित्र पस्न नदिने प्रयासमा लागेको उनले जानकारी गराए । उनका अनुसार १ सय ३८ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वन डढेलोले सखाप पारिसकेको छ । आसपासका सामुदायिक वनमा समेत डढेलो लाग्ने खतरा बढेको छ ।

तीन दिनदेखि वनमा डढेलो लागेपनि हावा नचल्ने ठाँउमा मात्र गएर आगो निभाउँदै आएको र हावा लाग्ने तिर जान नसकेको सामुदायिक वनकी सदस्य रहेकी मिरा रावतले बताइन् । नेपाली सेना, प्रहरी, सशस्त्र, स्थानीय गरी ६०/७० जना खटिएर लामो प्रयासपछि बल्लतल्ल तीर्थपोले बस्ती जोगाउन सफल भएको उनले जानकारी गराइन् ।

‘हावाहुरी चलिरहेको छ । आगोको लप्को टाढाटाढासम्म जाने गर्छ । आगोको लप्कोले मान्छे नै जल्ने खतरा छ । हरियो स्याउलाको भरमा आगो निभाउन सम्भव देखिदैन । त्यही भएर अहिले वन भन्दा मान्छेको ज्यान र घर बचाउनमा लागेका छौँ,' उनले भनिन् ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले नेपाली सेना, प्रहरी, सशस्त्र, स्थानीय सामुदायिक वनका पदाधिकारीहरु तिर्थपोले सामुदायिक वनमा लागेको डढेलो निभाउने प्रयास भइरहेको बताए । जिल्लाका विभिन्न सामुदायिक वनमा अहिले डढेलो लागिरहेको र डढेलो निभाउदै आएपनि एकपछि अर्कोमा लाग्ने गर्दा नियन्त्रणमा समस्या भएको उनले जानकारी गराए ।

प्रकाशित : वैशाख ७, २०८१ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?