कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

गृहमन्त्री लामिछानेका कारण अन्य सहकारी ठग्नेविरुद्ध पनि मुद्दा चलेन : प्रमुख सचेतक लेखक

'कांग्रेसले अवरोध गरेका कारणले अधिवेशन अन्त्य गर्नुपर्‍यो भन्ने जुन भनाइ छ नि, कमसेकम त्यो पार्टीले यस्तो कुरा नगरोस् जसले संसद्का बैठक अवरोध गर्नेमा गोल्डमेडल प्राप्त गरेको छ, संसद् अवरोधमा उहाँहरू त स्वर्ण पदक विजेता हो ! हामी त छेउछाउ पनि पुग्दैनौं'

काठमाडौँ — प्रतिनिधिसभाको तेस्रो अधिवेशन सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिका लागि प्रमुख प्रतिपक्षी कांग्रेसले गरिरहेको मागका बीच सकिएको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभएपछि सदनका कामकारबाहीमा अवरोध गरेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।

गृहमन्त्री लामिछानेका कारण अन्य सहकारी ठग्नेविरुद्ध पनि मुद्दा चलेन : प्रमुख सचेतक लेखक

कांग्रेसले आगामी बजेट अधिवेशनमा पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन गर्न समिति मागको मागलाई अझ कडाइका साथ उठाउने घोषणा गरेको छ । लामिछानेका कारण सहकारीको रकम ठग्ने अन्य व्यक्तिविरुद्ध पनि मुद्दा नलच्ने अवस्था आएको भन्दै कांग्रेसले आफ्नो मागलाई थप कडाइका साथ उठाउने बताएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीबाट कानुनविपरीत रकम लिएर लामिछानेले गोर्खा मिडियामा लगाएको प्रमाण प्राप्त हुँदा पनि प्रहरीले मुद्दा दायर नगरेको भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । लामिछानेले जसरी प्रक्रिया पूरा नगरी सहकारीको बचत लिने र फिर्ता नगर्ने, अपचलन गर्नेविरुद्ध मुद्दा नचल्ने अवस्था भएकाले कांग्रेसले संसद्को आगामी अधिवेशनमा अझ कडाइका साथ आफ्नो माग उठाउने लेखकले घोषणा गरेका छन् ।

कान्तिपुरसँग कुरा गर्दै लेखकले कांग्रेसले आवश्यक परेमा रवि लामिछानेमाथि मुद्दा नचल्दा कुन-कुन सहकारी ठगहरूविरुद्ध मुद्दा चल्दैन भन्ने नामावली सार्वजनिक गर्ने बताए । 'एकजना मानिसका कारणले सहकारीको सम्पत्ति हिनामिना गर्ने तमाम मान्छेमाथि मुद्दा नचल्ने स्थिति बन्यो । सहकारीबाट ऋण लिने कुनै पनि प्रक्रिया पूरा नगर्ने, ऋण लिन नपाउने मान्छे प्रक्रिया पूरा नगरेर सहकारीको पैसा अपचलन गरेको, दुरुपयोग गरेको, हिनामिना गरेको, ठगी गरेका मान्छेमाथि मुद्दा चलाउन सक्नुहुन्न अब,' लेखकले भने, 'किन चलाउन सक्नुहुन्न भन्दा प्रक्रिया नै नपुर्‍याएर ऋण लिएको मान्छे एक जनालाई प्रतिवादी बनाउनु भएन भने अर्को मान्छेलाई कसरी बनाउनुहुन्छ ? त्यसकारण अहिले पनि जुन अभियोगपत्र दर्ता भएको छ रुपन्देही जिल्ला अदादलतमा त्यो अभियोगपमा एकजना माननीय मन्त्रीजीका कारणले अरु ठग्ने मान्छे पनि बचे ।'

रुपन्देही प्रहरीले अभियोगपत्रमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई छोडेको लेखकको भनाइ छ । रवि लामिछानेका कुन-कुन व्यक्तिमाथि मुद्दा चलेन भन्ने प्रमाण कांग्रेससँग रहेको लेखकको भनाइ छ ।

लामिछानेले सहकारी संचालकको सम्पत्ति बेच्नका लागि अध्यादेश ल्याएर भए पनि कानुनी व्यवस्था गर्ने र बचतकर्ताको पैसा फिर्ता गर्ने बताएका थिए । कांग्रेस प्रमुख सचेतक लेखकले लामिछानेको उक्त भनाइमाथि पनि प्रश्न उठाए । 'तपाईंले इलामको मञ्चमा उभिएर, मिडियाको क्यामेरा अगाडि उभिएर, म सारा संचालकहरूलाई थुनेर सम्पत्ति जफत गरेर तपाईंहरूको पैसा फिर्ता गर्छु भन्या कसैले पत्याउँछ ?,' लेखकले भने, 'तपाईं संचालकको सम्पत्ति जफत गर्ने र पैसा उठाउने, अनि तपाईंले लग्या पैसा के हुने ? तपाईंले गरेको अपचलन र दुरुपयोगको के हुने ?'

रवि लामिछानलेले सहकारी कानुन मिचेर ऋण लिएकाले अन्य व्यक्तिहरू पनि कानुनको दायराभन्दा बाहिर रहेको लेखकको भनाइ छ । सरकारले नै सहकारीको रकम ठग्नेमाथि मुद्दा चलाउन नकस्ने अवस्थामा स्थिति पुर्‍याएको उनले बताए । 'अहिले सरकार जुन ढंगले अगाडि बढिराख्या छ, कहाँनेर सरकार पुर्‍याउन खोज्दैछ भने सहकारीको रकम ठग्ने, अपचलन गर्ने मान्छेमाथि मुद्दा चलाउन सक्नुहुन्न । त्यो ठाउँमा सरकार पुर्‍याउँदैछ अनि अब कांग्रेस चुप लागेर बस्ने हो त ?,' उनले भने ।

सरकार संसद् र जनताप्रति जिम्मेवार हुनुपर्ने लेखकले बताएका छन् । उनले सहकारी ठगीका विषयमा सरकार गम्भीर र चिन्तित भएन भने आगामी दिनमा अवस्था गाह्रो हुने बताए । 'आगामी अधिवेशन ठीक ढंगले संचालन भएन भने त्यसको जिम्मा सरकारले लिनुपर्ने हुन्छ,' उनले भने ।

कांग्रेसको अवरोधका कारणले संसद् चल्न सकेन भन्ने आरोप नलगाउन पनि प्रमुख सचेतक लेखकको भनाइ थियो । विगतमा लामो समय संसद् अवरोध गर्ने पार्टीहरूले कांग्रेसलाई आरोप लगाउन नसुहाउने लेखकले बताए ।

'कांग्रेसले अवरोध गरेका कारणले अधिवेशन अन्त्य गर्नुपर्‍यो भन्ने जुन भनाइ छ नि, कमसेकम त्यो पार्टीले यस्तो कुरा नगरोस् जसले संसद्का बैठक अवरोध गर्नेमा गोल्डमेडल प्राप्त गरेको छ,' सत्तारुढ एमालेप्रति लक्षित गर्दै लेखकले भने, 'संसद् अवरोधमा उहाँहरू त स्वर्ण पदक विजेता हो ! हामी त छेउछाउ पनि पुग्दैनौं ।जनता गणना गरेर बस्या छ, कुन अधिवेशनमा कसका कारण कति दिन हाउस अवरुद्ध भयो भनेर ।'

प्रकाशित : वैशाख १३, २०८१ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?