Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ८, बुधवार     Login | Register
समाचार»

माओवादी प्रस्ताव विपक्षीद्वारा अस्वीकार

काठमाडौ, पुस ११ -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक दिनका लागि भए पनि यही सरकारमा सहभागी हुन राखेको प्रस्तावलाई कांग्रेस-एमाले लगायतका विपक्षीले अस्वीकार गरेका छन् । उनीहरूले संवैधानिक, राजनीतिक र नैतिक रूपमा समेत हैसियत गुमाइसकेको र नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उक्त प्रस्ताव सहमति गर्न नचाहने उद्देश्यले आएको बताए । एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईको हठका कारण एक दिनका लागि भए पनि सरकारमा सहभागी भई सहमतिको वातावरण बनाइदिन विपक्षी दलका शीर्ष नेताहरूसँग प्रस्ताव गरेका थिए । भट्टराईको विकल्पमा कांग्रेस नेतृत्वको सरकार बनाउन तयार भइसकेका दाहालले एकाएक ल्याएको यस्तो प्रस्तावप्रति कांग्रेस-एमालेले आशंकासमेत जनाए । आफ्नो पूर्वधारणा परिवर्तन गर्दै एक दिनका लागि भए पनि सरकारमा आउन आग्रह गरिनुको पछि वैशाखमा निर्वाचन नगराउने दिशामा एमाओवादी अध्यक्ष दाहाल पनि रहेको शंका उनीहरूको छ । 'दाहाललाई भेट्दा बाबुरामलाई देखाउने र बाबुरामलाई भेट्दा दाहाललाई देखाउने' गरेकाले पनि शंका बढी उब्जिएको विपक्षीको भनाइ छ । कांग्रेस सभापति सुशील कोइरालाले भट्टराईको नेतृत्वमा एक दिन नभएर एक मिनेट पनि सरकारमा जान नसकिने बताए । माओवादी नेतृत्वको सरकारलाई जेठ १४ अघि नै राष्ट्रिय स्वरूप दिइसकेको स्मरण गर्दै अब यही सरकारमा जान असम्भव रहेको बताए । 'भट्टराईको नेतृत्वमा जाने कुरै छैन । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पनि राजनीतिक सहमति हुन सक्दैन,' देशभरबाट आएका क्षेत्रीय सभापतिहरूका निम्ति आफ्नै निवासमा आयोजित चियापान कार्यक्रममा कोइरालाले भने, 'दाहाललाई पनि स्वीकार्न सकिँदैन ।' एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले माओवादीले बाबुराम भट्टराईको विकल्पमा अध्यक्ष दाहाललाई ल्याउने ढंगबाट माहोल बनाउन खोजिएको बताए । 'सहमति नगर्ने उद्देश्यले कुरा फेर्न थालिएको छ । यो सरकारमा सहभागी हुने कुरा कुनै हालतमा मान्य हुँदैन । यो अडान नफेर्ने हो भने सहमति हुँदैन,' ज्ञवालीले भने, 'जसरी पनि माओवादीको उद्देश्य चुनावलाई पर धकेल्ने देखिन्छ । त्यसका लागि उसले विभिन्न कुराहरू बदलिरहेको छ ।' उनले एमाओवादीभित्र अध्यक्ष दाहाल र भट्टराईबीचको विवादको कुरा पनि बनावटी भएको आशंका गर्दै भने, 'नत्र अध्यक्ष दाहालले चाहेको भए आफ्नो पकडमा रहेको पार्टीबाट निर्णय गरेर अघि बढ्न सक्थे ।' कांग्रेस सभापति कोइरालाले एमाओवादीबाट भ्रमको खेती हुन थालेको बताए । उनले एमाओवादी अध्यक्ष दाहाल र एमालेको दबाबकै कारण आफूले उम्मेदवार दिएको बताए । 'उम्मेदवारी दिन म आतुर थिइनँ । प्रधानमन्त्री भएर के-के न गर्छु भन्ने पनि थिएन । तर, प्रचण्डजीले नै उम्मेदवारी दिएपछि एउटा बाटो लाग्छ भन्नुभयो, उम्मेदवार नदिए एमालेबाटै अर्को उम्मेदवारी दिने कुरा आएपछि केन्द्रीय समितिमा प्रस्ताव राखेर निर्णय लिइएको हो,' कोइरालाले भने, 'उम्मेदवार दिइसकेपछि विभिन्न बहानाबाजी निकालेर सहमतिबाट भाग्ने काम हुन थालेको छ ।' माओवादीले सत्ता नछाड्ने र कांग्रेसले भट्टराईकै नेतृत्वमा नजाने स्पष्ट अडान भएपछि आन्दोलनको विकल्प रोज्नुपर्ने पार्टीभित्रबाटै दबाब उठिरहेका बेला कोइरालाले वार्तालाई निषेध गर्न नहुने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य रामशरण महत र मीनेन्द्र रिजालले पनि अहिलेको सरकारमा एक मिनेट पनि जान नसकिने बताउँदै अब राष्ट्रपतिले बहुमतीय आधारमा प्रधानमन्त्री बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:१५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-22
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication