Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
विविधा»

पर्यटन वर्षको प्रतिफल

मंसिर २६ -
सन् २०११ धेरै अर्थमा नेपालका निम्ति महत्वपूर्ण रह्यो । मुलुकका राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रहरू यस वर्ष द्रुतगतिमा चलायमान भए । सरकारले पनि थातीमा रहेका अप्ठेरा मुद्दाहरूलाई प्राथमिकतामा राख्दै तिनको समाधान खोजेको देखियो । शान्ति प्रक्रियासँग सम्बन्धित सबै मुद्दाहरूको समाधान खोज्दै संविधानसभाबाट निर्दिष्ट समयभित्रै संविधान जारी गर्ने भरसक्दो प्रयास भएको देखियो । मुलुकको राजनीति जतिसुकै उतार-चढावयुक्त रहे तापनि पर्यटन क्षेत्र भने सन् २०११ भर डगमग हुनपाएन । धेरै किचलो र खासगरी असोज १, २०६८ को कडा भूकम्पीय धक्का बाबजुद पनि मुलुक स्थिर रह्यो । मुलुकभित्र र मुलुक बाहिरका अनेकौं बेथिति र झमेलाबीच पनि पर्यटनको परिदृश्य समग्रमा यस वर्षभर नै सुनौला देखियो । दस लाख पर्यटकहरू भित्र्याउने लक्ष्यका निम्ति भरमग्दुर प्रयास गरिंँदा-गरिँंदै पनि ७५ प्रतिशत उपलब्धि हात पार्न सकियो । लक्ष्यभन्दा केही मुन्तिरमात्र उपलब्धि हात परे तापनि पर्यटन वर्ष अभियानलाई सार्थक बनाउन राज्यका सबै तह र तप्काका नागरिकहरू एकजुट भएर लागेको पाइयो । राष्ट्रपतिदेखि सुदूर ग्रामीण भेगका नेपालीहरू सबै एकजुट भएकाले नै यस अभियानले विशिष्टता हासिल गर्नसकेको हो । यस अभियानको सफलताका निम्ति कार्यक्रम सञ्चालक तथा अभियन्ताहरूबीच एक प्रकारको प्रतिस्पर्धा पनि देखियो । जस्तै पर्यटकीय गतिविधिहरूले गति लिन थाले, सबै सरोकारवालाहरूले स्वतःस्फुर्त रूपमा पर्यटनलाई राष्ट्रिय उद्यमको संज्ञा दिन थाले । यसरी सबै क्षेत्रले आआफ्नो उत्तरदायित्व बहन गर्न थालेपछि अभियान तुरुन्तै महोत्सवमा अनुवादमात्र भएन, पर्यटन एउटा राष्ट्रिय गौरवको उद्यममा बदलिन पुग्यो । यसरी अभियान मुलुकका कुनाकन्दरासम्म विस्तारित भएपछि यसको प्रभाव र जादुबाट कोही पनि अछुतो रहन सकेनन् । यसरी सबै वस्तु र सेवाहरू पर्यटकीकरण हुनपुगे पनि । व्यक्तिगत, संस्थागत, सरकारी तथा गैरसरकारी सबै क्षेत्रले आआफ्नै प्रकारले यसको स्वामित्व ग्रहण गरे । अन्ततः सबैले स्वरमा स्वर मिलाएपछि पर्यटन एउटा समूह गायनको रूपमा गुञ्जियो । सबै क्षेत्रबाट प्रदर्शित कर्तव्यनिष्ठता तथा लगनशीलताले निःसन्देह परिणामहरू ल्याउने भए नै । पर्यटन वर्षका जसै एकपछि अर्काे महिना बित्दै गए, पर्यटन आगमनमा औसत वृद्धिमात्र देखिन थाल्यो । अब प्रबर्द्धनलाई धकेलेर वा छरपष्ट अभियानलाई नयाँ-नयाँ जलप लगाएरमात्र लक्षित परिणाम ल्याउन नसकिने प्रस्ट हुनथाल्यो । यसबाट के प्रस्ट हुनथाल्यो भने दिगो र साहसिक नीतिगत सुधार हाम्रानिम्ति अवश्यम्भावी रहेछन् । सरकारको प्राथमिकता प्रबर्द्धनको विधिभन्दा पनि पर्यटकहरू भित्र्याउने उपायहरूप्रति केन्दि्रत हुनुपर्ने देखियो । किनभने हामी अहिले आफ्नो हवाई उडान क्षमताको नराम्रो संकुचन भोग्दै आएका छौं । त्यसैले हवाई सेवाउपर अविलम्ब सुधारको पहल गरिनु हाम्रो पहिलो प्राथमिकता भएको छ । अहिलेको विश्वमा जनसंख्याको विभाजन नराम्ररी ध्रुवीकृत बनेको छ । सन् ९० पछि नवउदारवादको नाममा असन्तुलित नीतिहरूको तर्जुमा गरिंँदा नेपालमा कि त अकुत सम्पत्ति भएका वा औसत आय भएकाहरूको बाहुल्य हुनपुगेको छ । यस परिप्रेक्ष्यमा हाम्रोजस्तो मुलुकले खुला आकाश नीति तथा सडक सुहाउने यात्राका माध्यमहरूलाई प्रोत्साहित गर्नुपर्छ । मानवसागरले भरिएका हाम्रा उत्तर र दक्षिणका छिमेकले त्यसबेला हामीलाई भ्रमणको सूचीमा राख्नेछन्, जुनबेला हामी उनीहरूको यात्रालाई कम खर्चिलो बनाउन सफल हुनेछौं । आजको दिनसम्म पनि खर्चको यो सीमा निकै नै उच्च भएकाले उनीहरू स्वाभाविक रूपमा अन्य विकल्पहरू हेर्न बाध्य भएका छन् । परम्परागत ढर्रामा उद्यमहरू चलाइनु तथा हाम्रो राजनीतिक नेतृत्वको सञ्चालन विधि यस्ता तगाराहरू हुन्, जसका कारण केही वर्षसम्म हामी उच्च प्रतिफलयुक्त पर्यटनको यात्राको थालनीका निम्ति तयार हुनसक्दैनौं । तसर्थ हाम्रा पूर्वाधारहरू खासगरी सडक तथा ऊर्जाको निर्माण र सडक सुहाउने पर्यटनका निम्ति प्रोत्साहनले पर्यटनलाई दिगो र परिणाममुखी बनाउन सक्नेछन् । अन्यथा हामी सन् २०११ मै तय गरेको संख्या १० लाखको पछाडि अल्भिmरहनेछौं, जसको सीमा पनि यथार्थमा १० लाखै छ ।

यदि नीतिगत संकुचनलाई हटाइने हो भने यस उद्यमले आफ्ना नागरिकहरूबाट अपेक्षा गर्ने भनेको आतिथ्यता र मिलनसारिता मात्र हो । नेपालले उदाउँदो बजारको अपेक्षा पूरा गर्ने भन्दै एकैरातमा आफ्ना भूगोल बदल्न सक्दैन । र यसो गरिरहनु जरुरी पनि छैन । धेरैजसो पर्यटकहरू यहाँ प्रकृति र सांस्कृतिक छटाहरूमा आनन्दित हुन आउँछन्, जुन कुरा यहाँ स्थायी र स्थिर छन् । जबसम्म नेपालीले खुला मन र मुस्कानले उनीहरूलाई स्वागत गरिरहनेछन्, संघीयतामा प्रवेश गरेपछि पनि राजनीतिक वृत्तहरूमा देखिइरहने उथल-पुथलका बाबजुद पनि यहाँ पर्यटकहरू ओइरिरहनेछन् । यसलाई प्रस्ट शब्दमा भन्ने हो भने सशस्त्र द्वन्द्वको उत्कर्षमा समेत पर्यटकहरूले नेपाल आउन छाडेनन्, भलै तिनीहरूको संख्यामा कमी आएको होस् । तसर्थ हाम्रो आतिथ्यता र मुस्कान नै यस्ता अनुपम कुराहरू हुन्, जसलाई जे नाम दिइए तापनि यो नै हाम्रो मौलिक पहिचान हो ।

पर्यटकहरूलाई नेपालसम्म तान्नुमात्र हाम्रो उद्देश्य रहनु हुँदैन, हाम्रो दिगोपनाको मन्त्र उनीहरूलाई सदैव कसरी खुसी राख्ने भन्ने हुनुपर्छ । यस उद्यममा देखिने उतार-चढावसँगै पौंठेजोरी खेल्नु एउटा समस्या हुन सक्नेछ । संख्यामा बढौती र भवितव्यहरूसँग जुध्नु चुनौतीहरू हुनेछन् । पर्यटकहरूलाई समस्या, विपत वा असामान्य परिस्थितिहरूबाट उद्धार गर्नका निम्ति आधुनिक सरजाम र स्रोतहरूको दरकार पर्नेछ । यसको व्यवस्था अहिलेदेखि नै हुनु जरुरी छ, जसले गर्दा उनीहरूको बसाइ तनावरहित र सुखद बनाउन सकियोस् । नेपालका वासिन्दाहरू नै विदेशीका निम्ति आकर्षणका कारण रहन सकुन्, जसको बखान उनीहरूको बोलीबाट एक हुँदै अर्काेसम्म फैलियोस्, जुन आफैंमा पर्यटकीय प्रबर्द्धनको एक प्रभावशाली विधि पनि हो ।

लेखक नेपाल पर्यटन बोर्डका निर्देशक तथा प्रवक्ता हुन् ।

 

प्रकाशित मिति: २०६९ मंसिर २७ ०९:०५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication