काठमाडौ, असार ८ -
बालुवाटारको प्रयास नेपाल नामक बालगृहले प्रहरीको नक्कली कागजातका आधारमा अभिभावकको अनुमतिबिना एक बालिकालाई धर्मपुत्रीका रूपमा विदेश पठाएको दाबी अभिभावकले गरेका छन् ।
स्थानीय सामुदायिक प्रहरीको लेटर प्याडमा गलत विवरण बनाएर छोरी स्मृतिलाई इटाली पठाएको अभिभावकको भनाइ छ । बालगृहले प्रहरीमार्फत ल्याएको बालिका भने पनि पत्र भने शंकास्पद देखिएको छ ।
कान्तिपुरलाई प्राप्त प्रहरीको बालिका सिफारिसपत्रमा शान्तिनगरको सुकुम्बासी टोल निवासी सरिता भुजेलकी छोरी स्मृतिलाई २०६३ माघ १५ गते बुझाएको उल्लेख छ । पत्रको चलानी ४० नम्बरको छ । तर प्रहरी रेकर्डमा आर्थिक वर्ष २०६३ मा साउन २ गतेदेखि कार्तिक २४ गतेसम्म मात्र पत्र चलानी भएको देखिन्छ । त्यसपछि २ पाना छाडेर २०६४ सालको चलानीको अभिलेख सुरु गरिएको छ ।
'यो पत्र कसैले दुरुपयोग गरेको हुन सक्छ', उक्त सामुदायिकका एक प्रहरीले भने, 'यहाँबाट पठाइएका पत्रहरूको चलानी नम्बर दर्ता हुन्छ, यो पत्रको चलानी यहाँ खुलेको रेकर्डमा देखिन्न ।'
पत्रमा तत्कालीन प्रहरी हवल्दार फूलकुमारी पौडेलको हस्ताक्षर छ । उनी अहिले चावहिल सामुदायिकमा असई छिन् । उनले आफूले बेवारिस भेटिएका केही बालबालिका बालगृहको जिम्मा लगाएको तर त्यसमा त्यो परे-नपरेको हेक्का नभएको बताइन् । 'मैले पठाएका सबै पत्र चलानी नम्बरसहितका छन्', उनले भनिन् ।
स्मृतिकी आमाले भने छिमेकी महिलाको माध्यमबाट छोरीलाई उक्त बालगृह राखेको बताइन् । 'एसएलसीसम्म पढाइदिन्छु भनेर छोरीलाई राखेको हो', सोमबार छोरी लिन बालगृहमा पुगेकी उनले भनिन्,् 'राखेदेखि ५ पल्ट भेटें, त्यसपछि छोरीको परीक्षा चलिरहेको छ भन्दै भेट गर्न दिइएन, अहिले मलाई थाहा नै नदिई छोरी विदेश पठाइदिएछन् ।' यसबीचमा उनले पनि दोस्रो विवाह गरिसकेकी छिन् ।
केन्द्रीय बालकल्याण समितिले सोमबार बालिका फिर्ता गरिदिन बालगृहलाई पत्राचार गरेको छ । पत्र लिएर सरिता बालगृह पुगेकी थिइन् । सञ्चालिका मनि जोशीले बालिका बेवारिसे अवस्थामा फेला पारेको बताएपछि उनीहरूबीच केहीबेर विवादसमेत भएको थियो ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक धर्मराज श्रेष्ठले बालगृहले गल्ती गरेको बताए । उनले प्रहरी र स्थानीय प्रशासनसँग मिलेर बालबालिकासँग सम्बन्धित संस्थाहरूले बेइमानी गरेको दाबी गरे । 'यस्ता समस्या पछिल्लो समयमा बढेका छन्' उनले भने ।
सञ्चालिका जोशीले प्रहरीले आफूलाई चिठीसहित बालिका दिएको दाबी गरिन् । 'मैले नक्कली काम गरेको होइन, प्रहरीले ल्याएर दिएको हो' उनले भनिन् 'सामुदायिक प्रहरीले बेवारिसे बालिका जिम्मा लिइदिनुपर्ने व्यहोराको चिठ्ठी पठाएपछि हामीले जिम्मा लिएको हौं, स्मृतिकी आमा छोरीलाई इटाली पठाएपछि मात्रै सम्पर्कमा आएकी थिइन् ।'