१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८६

सुनकोसी–मरिण डाइभर्सन एक महिनाभित्रै 'ब्रेक थ्रु' 

मरिण (सिन्धुली) — सुनकोशी–मरिण डाइभर्सन अन्तर्गतको सुरुङ खन्ने काम एक महिना भित्रै 'ब्रेक थ्रु' हुने भएको छ । १३ दशमलव तीन किलोमिटर मध्ये १२ दशमलव ५ सय १७ किलोमिटर सुरुङ निर्माणको काम शनिबार बिहानसम्ममा सकिएकाले एक महिना भित्रै ब्रेक थ्रु हुने भएको हो ।

सुनकोसी–मरिण डाइभर्सन एक महिनाभित्रै 'ब्रेक थ्रु' 

यो ९० प्रतिशत भन्दा बढी हुन आउँछ । अब सुरुङ७ सय ८३ मिटर खन्न बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको काम कमलामाई-२ को कुसुमटारदेखि सुनकोसी गाउँपालिका-७ को कानढुंग्रीसम्म हो । कानढुंग्रीमा पुगेपछि सुनकोशी नदी भेटिन्छ ।

२०७९ असोज २८ गतेबाट सुरुङ खन्ने काम सुरु भएको थियो । नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिणखोलामा खसाली मधेस प्रदेशका पाँच जिल्लामा सिँचाइ तथा विद्युत उत्पादन गर्ने लक्ष राखिएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार सुरुङ खन्नको लागि २२ महिनाको लक्ष्य लिइएकोमा यही रफ्तारमा गएमा ६ महिना अगावै सम्पन्न हुनेछ । एकैदिन ७२ मिटर सम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ । ब्रेक थ्रु हुन लागेको सुरुङ खन्ने कामको उर्जा जलस्रोत तथा सँचाइमन्त्री शक्ति बस्नेतले शनिबार निरीक्षण गर्दै सरकारले प्राथमिकतामा राखेको आयोजना भएकाले अब एक महिना भित्रै ब्रेक थ्रु हुने र सुनकोसीमा बाँध निर्माणको कामले समेत गति लिने बताए ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) अहिले दैनिक सरदर ३५ मिटर देखि ४० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनिरेहको छ । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा पाएको थियो । १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो ।

सुनकोसीमा बाँध निर्माण लगायतका कामको १७ अर्ब ७५ करोड रुपैयाँको ठेक्का रमण–पटेल जेभीले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा ३० मिटर उचाई र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।


प्रकाशित : चैत्र १७, २०८० १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?