कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

इजरायल–इरान शत्रु बनेका पुराना मित्र

कुनै समय पश्चिम एसियामा इरान र इजरायल सबैभन्दा नजिकका मित्र थिए । इजरायललाई छुट्टै राष्ट्रको मान्यता दिने इरान दोस्रो मुलुक हो । तर १९७९ मा इरानमा आन्दोलनपछि नयाँ व्यवस्था आएसँगै दुई देशबीचको सम्बन्धमा दरार आएको हो ।

काठमाडौँ — इजरायल र हमासबीच चलिरहेको युद्धको कारण संकटग्रस्त पश्चिम एसिया क्षेत्रमा इरान जोडिएको छ । इरानले शनिबार इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेसँगै त्यस क्षेत्रको सुरक्षा चुनौती थप बढेको छ । पश्चिम एसिया भइरहेका हरेक गतिविधिको असर भने त्यस क्षेत्रमा मात्र सीमित छैन ।

इजरायल–इरान शत्रु बनेका पुराना मित्र

इरानले सिधा आक्रमण गरेसँगै इजरायल र नजिकैका जोर्डन, लेबनान, सिरिया र इजिप्टमा रहेका नेपालीहरूको चासो पनि बढ्न थालिसकेको छ । त्यसलाई लिएर नेपाल सरकारले इजरायलमा रहेको नेपाली दूतावास र अन्य मुलुक हेर्ने देशलाई सक्रिय बन्न भनिसकेको छ ।

सिरियामा रहेको आफ्नो महावाणिज्य दूतावासमा इजरायलले आक्रमण गरेको आरोप लगाउँदै इरानले इजरायलमाथि आक्रमण गरेको हो । आफ्नो सार्वभौमसत्तामाथि आक्रमण गरेपछि आत्मनिर्णयको अधिकार गर्ने अधिकारअनुसार इजरायललाई आक्रमण गरेको इरानको दाबी छ । आक्रमणको घटनाबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन । सिरियाको दमास्कसमा रहेको महावाणिज्य दूतावासमा चैत १ मा भएको आक्रमणमा १६ जनाको मृत्यु भएको उल्लेख छ । जसमा जर्नेलसहित ७ जना इस्लामिक रेभोलुसनरी गार्ड कर्प्सको मृत्यु भएको थियो । गार्ड कर्प्सले इरानको पश्चिम एसियाको बाह्य सुरक्षा मामिला हेर्दै आइरहेको छ ।

इरानको आक्रमणपछि तेल अभिभमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा बसेको बैंठकले ‘उचित समयमा जवाफ दिने’ निर्णय गरेको छ । विश्वको भूराजनीतिक र अर्थतन्त्रसमेत पश्चिम एसियामा जोडिने भएको कारण अहिलेको संकटग्रत परिस्थिति कसरी अघि बढ्छ भन्ने अनुमान गर्न गाह्रो देखिन्छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने अहिले विश्वलाई युद्ध नचाहिएको उल्लेख गर्दै संवादबाट समस्याको समाधान गर्न आग्रह गरिसकेका छन् ।

गत असोज २० मा हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पश्चिम एसिया अशान्त बनेको थियो । सोही आक्रमणमा परेर दस जना नेपाली युवाको ज्यान गएको थियो । एक युवा विपिन जोशी अझै हमासकै कब्जामा छन् । त्यसपछि इजरायलले हमास विद्रोहीमाथि गाजा क्षेत्रमा कारबाही गर्दा ३३ हजार ८ सयभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । कैयौं घाइते भएका छन् । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले अन्य सहयात्री मुलुकसँग मिलेर ९९ प्रतिशत इरानी क्षेप्यास्त्र तथा ड्रोनलाई निस्तेज पारेको जनाएको छ । १७० ड्रोन र क्रुज क्षेप्यास्त्र निस्तेज पारेको इजरायलको दाबी छ । तर केही ११० बलिस्टिक क्षेप्यास्त्रका कारण १२ जना घाइते भएका आईडीएफले जनाएको छ ।

इरान र इजरायल यसभन्दा बढी प्रोक्सी युद्ध (आफू नदेखिएर अर्कोमार्फत गरिने आक्रमण) मा बढी सक्रिय थिए । तर यसपटक इरान सिधै इजरायलसँग आमने–सामने भएका हुन् ।

भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी पूर्ण सिलवाल पश्चिम एसियामा भइरहेका गतिविधिले नेपालीलाई पनि सिधै असर पर्ने भएकाले गम्भीर रूपमा हेर्नुपर्ने मान्छन् ।

‘तत्काल अमेरिकामा पनि निर्वाचन भएको र इजरायलले पनि उपयुक्त समय हेरेर आक्रमण गर्ने भनेको कारण युद्ध थामिने देखिन्छ । तर पछि इजरायलले इरानलाई आक्रमण गर्‍यो र युद्ध चर्कियो भने त्यस क्षेत्रमा समस्या उत्पन्न हुन्छ,’ उनले टिप्पणी गरे, ‘यसले गर्दा पश्चिम एसियामा रहेको नेपालीलाई समेत असर पर्न सक्छ । लाल सागरमा यसअघि हुथीहरूले सामग्री र तेल बोकेका जहाजहरूलाई कब्जा गर्थे । अहिले इरानकै सेनाले गरेको सुनिएको छ । त्यो भएमा हाम्रो अर्थतन्त्रमा पनि समस्या पर्न आउँछ ।’

पश्चिम एसियामा इरान र इजरायलबीचको दुश्मनी ५० वर्षदेखिको हो । अमेरिकी खेमामा रहेको इजरायल र इरानबीच लगातारको प्रोक्सी युद्धका कारण पश्चिम एसिया सधैं अशान्त रहँदै आइरहेको छ । इरान र इजरायल छिमेकी होइनन् । तर उक्त क्षेत्रमा अमेरिकी साथले आफ्नो पकड बलियो बनाउन प्रयासरत इजरायलमाथि इरानले आफ्ना सहयोगीहरूको साथमा आक्रमण गर्दै आइरहेको छ ।

गाजा क्षेत्रको हमास विद्रोही, लेबनानको हिजबुल्लाह र यमनको हुथी विद्रोहीहरू इजरायलको मुख्य दुश्मन हुन् । ती सबै समूहसँग राम्रो सम्बन्ध रहेको इरानले उनीहरूलाई आवश्यक साधन र स्रोत उपलब्ध गराउँदै आएको छ । इजरायलमा अक्टोबर ७ (असोज २०) मा आक्रमण हुँदा हमास विद्रोहीले प्रयोग गरेका ड्रोन, हातहतियार, तालिम र अन्य सबै सहयोग इरानले उपलब्ध गराएको इजरायलको आरोप छ । त्यसयता लेबनानमा रहेको हतियारधारी राजनीतिक पार्टी हिजबुल्लाह र इजरायली फौजबीच लगातार द्वन्द्व भइरहेको छ । जसका कारण पश्चिम एसिया अशान्त छ ।

त्यसका साथै, इजरायललाई केन्द्र बनाएर यमनबाट हुथीले पनि आक्रमण गरिरहेकै छ । इरानको सहयोगमा ती आक्रमणहरू भइरहँदा इजरायललाई भने खासगरी अमेरिका र पश्चिमा देशहरूले सहयोग गर्दै आइरहेका छन् । रुस, टर्की, चीनलगायतका मुलुक इरानको साथमा छन् । इजरायलले इरानका रणनीतिक केन्द्रहरूमा आक्रमण गर्दै आइरहेको छ । इरानको युरेनियम केन्द्र र आणविक हतियार विकास गर्न लागेका उद्योगहरूलाई केन्द्रित गरेर इजरायलले आक्रमण गरिरहेको छ ।

इरानले इजरायलमाथि आक्रमण गरेसँगै अमेरिका, अस्ट्रेलियालगायत पश्चिमा मुलुकहरूले इजरायलको पक्षमा वक्तव्य जारी गरेका छन् । पश्चिम एसियाको महत्त्वपूर्ण र रणनीतिक मुलुकको रूपमा रहेको साउदी अरबले भने युद्ध रोकेर वार्तामार्फत समाधान खोज्ने प्रयास गर्नुपर्ने बताएको छ । इरानको आक्रमणपछि नेपाल र भारतले वक्तव्य जारी गर्दै कूटनीति र संवादमार्फत समाधानको समाधान गर्न आह्वान गरिसकेका छन् ।

५० वर्षभन्दा अघिबाट दुश्मन रहँदै आएका इरान र इजरायल कुनै समयमा पश्चिम एसियामा सबैभन्दा नजिकका मित्र थिए । पश्चिम एसियामा इजरायलका छिमेकी र अन्य मुस्लिम मुलुकहरूले यहुदीहरूलाई राज्यकै मान्यता नदिँदा तेहरानले इजरायललाई राज्यको मान्यता दिएको थियो । इजरायललाई छुट्टै देशको मान्यता दिने टर्कीपछि इरान दोस्रो मुस्लिम राष्ट्र हो ।

१९८९ मा इरानमा नयाँ व्यवस्था आउनुअघि इजरायलसँगको सम्बन्ध बलियो र सुमधुर थियो । त्यसअघि इरानमा पहल्भी शाह राजाहरूको शासन थियो । त्यस बेला अमेरिका र शाहहरूबीच पनि राम्रो सम्बन्ध थियो । इजरायलले इरानलाई प्रविधिलगायतका क्षेत्रमा सहयोग गर्थ्यो भने इरानले इजरायलमा इन्धन पठाउँथ्यो ।

१९७८–७९ को आन्दोलनले राजसंस्थाको अन्त्य गरेसँगै आयतोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा इरान गणतन्त्रमा प्रवेश गर्‍यो । राजाविरुद्ध आन्दोलनको नेतृत्व गरेका धार्मिक गुरु खोमेनी सत्तामा आएपछि इजरायलसँगको सम्बन्ध चिसियो । पश्चिम एसियामा खोमेनीले मुस्लिम धर्मलाई केन्द्रमा राखेर सम्बन्ध अघि बढाए । जसले गर्दा इजरायलसँगको तनाव सुरु भयो । त्यसयता खोमेनी नेतृत्वको इरान र अमेरिकाबीचको सम्बन्ध पनि राम्रो भएन । इजरायल र अमेरिका घनिष्ठ साथी भएकै कारण इरान र इजरायल दुश्मन बन्न पुगे । २०२० मा इराकको राजधानी बग्दादमा इरानका मेजर जर्नेल कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरेर मारेपछि पश्चिम एसियामा लगातार रूपमा अमेरिकी खेमा र इरानी खेमाबीचको द्वन्द्व जारी छ ।

पछिल्लो समय पश्चिम एसियाको भूराजनीतिक परिवेश परिवर्तन हुन थालेको छ । रुस र चीनको सहयोग पाएको इरान आफ्ना सहयात्रीलाई अघि बढाएर त्यस क्षेत्रमा थप बलियो बन्न चाहन्छ । दोस्रो ठूला अर्थतन्त्र चीनले पनि पश्चिम एसियाको भूराजनीतिमा आफ्नो चासो व्यक्त गरिसकेको छ । चीनकै मध्यस्थतामा इरान र साउदी अरबबीचको लामो शत्रुता अन्य भएको छ ।

अमेरिका र पश्चिमा मुलुकसँग नजिक रहेको साउदीको भूमिका परिवर्तन हुन थालेको छ । यता, इरानको निकट रहेको भारत भने इजरायलसँग नजिक हुन पुगेको छ । २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि उनी इजरायली प्रधानमन्त्री नेतान्याहुसँग नजिकिएका छन् । तर २०२४

को सुरुआतमा उदाउँदा मुलुकहरू भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका सम्मिलित अन्तरदेशीय संस्था ब्रिक्समा इथियोपिया, इजिप्ट, इरान, साउदी अरब र यूएई सदस्य बनेका छन् । जसले पश्चिम एसियाको भूराजनीतिलाई नयाँ तरंग दिएको छ ।

‘पछिल्लो समय त्यस क्षेत्रमा चीनको भूमिका बढेको छ । इरान अप्ठेरोमा पर्दा रुसले साथ दिँदै पनि आइरहेको छ,’ भूराजनीतिका जानकार चन्द्रदेव भट्ट भन्छन् । उनका अनुसार इजरायल र प्यालेस्टाइनबीचको समस्या समधान नभएसम्म पश्चिम एसियामा समस्या भइरहन्छ । इजरायल र प्यालेस्टाइनबीच १९४७ मै दुई मुलुक निर्माण गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघले गरेको थियो । तर हालसम्म उक्त प्रस्ताव अघि बढ्न सकेको छैन । बेला–बेलामा पहल भए पनि कहिले इजरायल त कहिले प्यालेस्टाइनका विभिन्न नेता र पक्षहरूको अवरोधका कारण दुई राज्य निर्माणको काम सफल हुन सकेन ।

राष्ट्रपति बिल क्लिन्टनले १९९३ मा अमेरिकी मध्यस्थतामा ओस्लो सम्झौता गराएर समस्याको समाधान गर्न खोजे पनि अघि बढ्न सकेन । जसले गर्दा अहिलेसम्म इजरायल र प्यालेस्टाइनबीच उही समस्या छ । इजरायललाई मुलुक नै नमान्ने हमास विद्रोहीको आक्रमणको कारण पश्चिम एसियामा गत अक्टोबर ७ मा द्वन्द्व चर्केको हो र अहिले इरान पनि प्रत्यक्ष रूपमा जोडिन पुगेको छ ।

रुस–युक्रेन युद्ध, सुडानमा सत्ता प्राप्तिको आन्तरिक द्वन्द्व र अन्य समस्याबाट विश्व समुदाय गुज्रिरहेका बेला इजरायल–हमास युद्धसँगै इरानसमेत जोडिएपछि संसार तेस्रो विश्वयुद्धमा जाने त होइन भन्ने आकलन पनि कतिपयको छ । २०२४ चुनावी वर्षका भएका कारण पनि द्वन्द्व बढी देख्न सकिने बुझाइ भट्टको छ । ‘इरान र इजरायल दुवैमा त्यहाँका नेताहरूले आन्तरिक रूपमा आफूलाई बलियो छु भनेर प्रस्तुत गर्न खोजेकाले पनि द्वन्द्व चर्केको छ,’ उनले भने । अमेरिकी र पश्चिमा मुलुकहरूको साथ पाएको इजरायल र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङको समर्थन जुटाएको इरानबीचको टकराव तत्काल भने अन्त्य हुने देखिँदैन ।

प्रकाशित : वैशाख ५, २०८१ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?