कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

न्यायका निम्ति अनवरत पर्खाइ

पाठक पत्र

कान्तिपुरमा वैशाख १५ मा प्रकाशित ‘छोरालाई जिउँदै जलाउनेलाई सजाय दिन जो साढे १६ वर्ष लडे’ शीर्षकको समाचार पढ्दा आँखा रसाए । अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने रौतहट प्रहरी एवम् फैसला गर्ने जिल्ला न्यायाधीशलाई साधुवाद ।

न्यायका निम्ति अनवरत पर्खाइ

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन शेख इद्रिसको घरगोठमा बम विस्फोट भएको थियो, जसमा घाइते भएकालाई प्रमाण नष्ट गर्न कांग्रेस नेता मोहम्मद आफताब आलमको समूहले इँटाभट्टामा जिउँदै जलाएको थियो । त्यसमा यमुनामाईका २२ वर्षीय त्रिलोकनारायण सिंह पनि थिए । त्यसपछि उनका बुबा श्रीनारायण सिंहले न्यायका लागि संघर्ष सुरु गरे । त्यस क्रममा खुट्टा मात्र खियाएनन्, भएभरको सम्पत्ति पनि स्वाहा पारे ।
प्रहरी, प्रशासनमा न्यायका लागि निवेदन दिँदा लिइँदैनथ्यो । हुलाकबाट निवेदन पठाउनुपर्‍यो । तर सुनुवाइ भएन । आलमका अगाडि प्रहरी प्रशासन निरीह देखिन्थ्यो । घटनास्थल पुगेका तत्कालीन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले कहींकतै कुनै घटना नघटेको भनी झूटो मुचुल्का तयार गरेका थिए । तर २०७६ सालमा रौतहट प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीले फाइल खोलेर आलमलाई पक्राउ गरे । त्यसपछि अपराधको अनुसन्धान सुरु गरेर जिल्ला न्यायाधिवक्ताकहाँ पुर्‍याइयो । तर जिल्ला न्यायाधिवक्ताले सो मुद्दा नचलाउने निर्णय गरे । जिल्लास्तरको सो निर्णय महान्यायाधिवक्ताको कार्यालयमा पुग्यो ।

महान्यायाधिवक्ताको कार्यालयले पनि त्यसमा सही थाप्यो । उक्त निर्णयविरुद्ध श्रीनारायण र रुक्सानाले सर्वोच्च अदालतमा निवेदन दिए र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै गम्भीर अनुसन्धान गरी मुद्दा चलाउन सरकारलाई निर्देशात्मक आदेश दिइन् । पछि फेरि सर्वोच्च अदालतले नै आदेश कार्यान्वयन नगरेकामा प्रश्न उठायो । उता रुक्सानालाई आलमकै योजनामा गोली हानेर हत्या गरियो । श्रीनारायणलाई मोटो रकमको प्रलोभन देखाई मिलापत्र गर्ने दबाब दिइयो । तर श्रीनारायण लोभिएनन् । रौतहट जिल्ला अदालतले २०७६ सालमा मोहम्मद आफताब आलम, उनका भाइसहितलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दियो । अहिले आलम दाजुभाइ कारागारमा छन् । जिल्ला अदालतले पनि हालसालै आलम दाजुभाइविरुद्ध जन्मकैदको सजाय सुनाएको छ । १६ वर्षपछि बल्ल ८३ वर्षीय सिंहले न्यायको अनुभूति गरेका छन् । अन्य मुद्दामा पनि यस्तै न्याय सम्पादनको खाँचो छ ।

गंगाराज अर्याल, पाणिनि– ८, अर्घाखाँची

प्रकाशित : वैशाख १८, २०८१ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?