कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

२०२३ विगत १७० वर्षयताकै सबैभन्दा तातो

‘ग्लोबल वार्मिङ’ का कारणले हुने अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी महासागरहरूले सोस्छन्त र गत वर्ष जमिन र समुद्र दुवै अत्यधिक तातो भए
स्वरूप आचार्य

काठमाडौँ — अहिले देशभर २ सय ५१ स्थानका वनजंगल क्षेत्रमा डढेलो लागिरहेको सरकारी तथ्यांक छ । वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले सञ्चालन गरेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार फेब्रुअरीमा ४ सय ६६ क्षेत्रमा डढेलो लागेकामा अप्रिलमा २ हजार ८ सय ६३ स्थानमा डढेलो पहिचान भएको थियो ।

२०२३ विगत १७० वर्षयताकै सबैभन्दा तातो

वर्षा नभएपछि सुक्खाका कारण वनजंगलमा मात्रै नभई बस्तीमै पनि आगलागीका घटना बढिरहेका छन् । गत बुधबार पनि महोत्तरीको मटिहानीमा भीषण आगलागी हुँदा १ सय बढी घर जलेर नष्ट भएका छन् । यस्तै गृह मन्त्रालयको तथ्यांकअनुसार मार्चदेखि अप्रिल अन्तिम सातासम्ममा २६ जनाले आगलागीकै कारण ज्यान गुमाइसकेका छन् ।

आगलागीका घटना बढ्नुमा मानवीय लापरबाहीका साथसाथै मौसम परिवर्तनले पनि असर पारेको सरोकारवालाहरू बताउँछन् । तापक्रममा वृद्धि हुँदै जानु र समयमा पानी नपर्नुमा ‘ग्लोबल वार्मिङ’ कारक रहेको उनीहरूको दाबी छ । यस्तोमा नेसनल ओसिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनको ग्लोबल मोनिटरिङ ल्याबोरेटरीले जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा हरितगृह ग्यासको विश्वव्यापी स्तर प्रति १० लाखमा ४ सय १९ पार्ट्समा बढेको छ । जुन औद्योगिक क्रान्तिअघिको तुलनामा ५० प्रतिशतभन्दा बढी हो । यसको अर्थ १७५० को तुलनामा हावामा लगभग ५० प्रतिशत बढी कार्बन डाइअक्साइडका अणुहरू छन् । त्यस समयमा हावामा कार्बन डाइअक्साइडको मात्रा प्रति १० लाखमा ३ सय ५० पार्ट्स मात्रै थियो ।

मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन तथा जलवायु विज्ञ सुदीप ठकुरीका अनुसार ‘एलिभेसन डिपेन्डेन्ट वार्मिङ’ का कारण हिमाली क्षेत्रमा यसको असर अझ बढी देखिन सक्छ । उनको भनाइमा विश्वका अन्य भागमा १.५ डिग्री तापक्रम बढ्यो भने हिमाली क्षेत्रमा २ डिग्रीसम्म बढ्ने पुष्टि नै भइसकेको छ । ‘हिमाली क्षेत्रमा यसको असर पर्छ नै, किनभने विश्वमा तापक्रम बढ्नु भनेको हिमाली क्षेत्र झनै तातो हुनु हो,’ उनले भने, ‘तापक्रम बढ्ने कुरा उचाइसँग पनि सम्बन्धित हुन्छ ।’

जलवायु विज्ञ ठकुरीका अनुसार पछिल्लो समय उनको टोलीले गरेको अध्ययनमा पनि अन्यको तुलनामा हिमाली क्षेत्रमा द्रुत गतिमा तापक्रम वृद्धि भइरहेको देखिएको छ । ‘हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा त्यहाँको पर्यावरणमा असर परेको छ । त्यसले खाद्य असुरक्षा तथा पानीको संकट पनि निम्त्याउन सक्छ,’ उनले भने, ‘त्यससँगै विभिन्नखाले प्रकोप पनि वृद्धि हुँदै जान सक्छ ।’ उनका भनाइमा ‘ग्लोबल वार्मिङ’ ले नेपालमा पारेको असरबारे विस्तृत रूपमा थुप्रै अध्ययन र अनुसन्धान गरेर त्यसलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने बेला आइसकेको छ ।

कार्बन डाइअक्साइडले पृथ्वीका लागि ‘सिरक’ को काम गर्ने जलवायु विज्ञहरू बताउँछन् । हावामा यो जति धेरै हुन्छ, ग्रह उति नै तातो हुँदै जान्छ । वायुमण्डलमा कार्बन डाइअक्साइडको अतिरिक्त मात्राले तापक्रम बढाउँछ । त्यसैले जलवायु वैज्ञानिकहरू कार्बन डाईअक्साइड शून्य उत्सर्जनमा पुग्नुपर्ने आवश्यकतामा जोड दिन्छन् । अहिले कार्बन डाइअक्साइडको स्तर उल्लेख्य मात्रामा बढिरहेको छ । अप्रिलको सुरुमा नेसनल ओसिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनको ग्लोबल मोनिटरिङ ल्याबोरेटरीले जारी गरेको तथ्यांकअनुसार गत वर्ष विश्वमा कार्बन डाइअक्साइडको स्तर वृद्धि चौथो उच्च थियो । कार्बन डाइअक्साइड स्तरमा दीर्घकालीन वृद्धि जीवाश्म इन्धन जलाउनुका साथै अन्य मानव गतिविधिहरू जस्तै वन विनाश र कंक्रिट उत्पादनको कारणले हुन्छ ।

कार्बन डाइअक्साइडको स्तर वृद्धि दुई कारणमा निर्भर हुन्छ । विश्वव्यापी रूपमा जीवाश्म इन्धनको प्रयोग र यसको उत्सर्जनको अंश भूमि तथा समुद्रद्वारा अवशोषित हुन्छन् । पहिलो कारकलाई हेर्दा स्वच्छ ऊर्जा उत्पादन विश्वव्यापी रूपमा बढिरहेको छ र सँगै ऊर्जाको माग पनि बढेको छ । ग्लोबल कार्बन बजेटको प्रक्षेपणअनुसार विश्वव्यापी रूपमा जीवाश्म इन्धनको प्रयोगका कारण हुने कार्बन डाइअक्साइडको उत्सर्जन मापन उच्च छ । कोरोना महामारीको समयमा यो केही मात्रामा घटे पनि २०२३ मा भने उच्च रूपमा कार्बन डाइअक्साइड उत्सर्जन भएको देखिन्छ ।

सबै उत्सर्जन हावामा नै पुग्छन् भन्ने हुँदैन । सेन्टर फर इन्टरनेसनल क्लाइमेट एन्ड इन्भाइरोमेन्टल रिसर्च (सीआईसीईआरओ) का वरिष्ठ अनुसन्धानकर्ता ग्लेन पिटर्सका अनुसार मानवले उत्सर्जन गर्ने कार्बन डाइअक्साइडको आधा हिस्सा समुद्र र जमिनले सोस्छ, बाँकी आधा हावामा मिसिन्छ ।

कार्बन डाइअक्साइड उत्सर्जन कहाँ जान्छ ?

ग्लोबल मनिटरिङ ल्याब्रोटरीका आधा जति तथ्यांक अनुमानमा आधारित छन् । यो मौसमको अवस्था र अन्य वातावरणीय कारकका आधारमा हरेक वर्ष फरक हुन सक्छ । उदाहरणका लागि, धेरैजसो डढेलो लागेको न्यानो र सुक्खा वर्षमा, जमिनले सामान्यभन्दा कम कार्बन डाइअक्साइड अवशोषित गर्छ । पृथ्वी थप तातो हुँदै जाँदा, जलवायु वैज्ञानिकहरूले पृथ्वी र समुद्रले कार्बन डाइअक्साइड उत्सर्जनको सानो अंश मात्रै अवशोषित गर्ने अपेक्षा गरेका छन् ।

बेलायतको मौसम विभागमा यी प्रभावहरूबारे अध्ययन गरिरहेका डग म्याकनेलका अनुसार यसले गर्दा ठूलो हिस्सा हावामा पुग्छ । एनओएएको विश्वव्यापी कार्बन डाइअक्साइड मापन गर्ने प्रमुख वैज्ञानिक चीन लानका अनुसार प्राकृतिक अवशोषणलाई ‘कार्बन छुट’ भनिन्छ । ‘हामी यसमा ध्यान दिन्छौं किनभने हामीलाई थाहा छैन कि यो छुट कुन बिन्दुमा बन्द हुन्छ,’ उनले भनिन् । कार्बन डाइअक्साइडको अतिरिक्त मिथेन र नाइट्रस अक्साइडजस्ता अन्य शक्तिशाली हरितगृह ग्यासहरूको स्तर पनि बढ्दै गएको छ, जसले तापक्रममा थप वृद्धि गराएका छन् ।

एक असाधारण वर्ष

पर्यावरण र मौसम परिवर्तनका हिसाबले सन् २०२३ असामान्य रूपमा खराब वर्ष रह्यो । जमिन र समुद्र दुवै अत्यधिक तातो भए । ग्लोबल वार्मिङका कारणले हुने अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी महासागरहरूले सोस्छन् । २०२३ विगत १ सय ७० वर्षमा सबैभन्दा बढी तातो वर्ष बन्यो । जुन वैज्ञानिकहरूको भविष्यवाणीभन्दा पनि माथि थियो ।

२०२३ को चरम गर्मी हुनुमा ‘एल निनो’ कारक थियो । यो एक जलवायु परिवर्तनको रूप हो, जसले विश्वव्यापी तापमान बढाउँछ । एल निनोको समयमा प्रशान्त महासागरमा तातो समुद्री धारहरूले उष्ण तटबन्धीय क्षेत्रमा न्यानो र सुक्खा मौसम निम्त्याउँछ । यसले खडेरी निम्त्याउन सक्छ, जसले रूखबिरुवाको वृद्धि विकासलाई ढिलो बनाउँछ र डढेलोको जोखिम बढाउँछ ।

केही समयअघि मात्रै यूएईमा भएको भीषण वर्षा र बाढीको मुख्य कारण पनि तापक्रममा भएको वृद्धिले गर्दा नै हो । एल निनोका कारण जमिनले कम कार्बन डाइअक्साइड अवशोषित गर्छ र हावामा कार्बन डाइअक्साइडको मात्रा बढ्न पुग्छ । यसैको असरका कारण कार्बन डाइअक्साइडको स्तर गत वर्ष अत्यधिक वृद्धि भएको हुन सक्ने जलवायु वैज्ञानिकहरूको दाबी छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : वैशाख १८, २०८१ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?