कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

रेडक्रसमाथि छानबिन गर्न नयाँ समिति

विद्या राई

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचार छानबिन गर्न सरकारले फेरि अर्को समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आइतबार समाज कल्याण परिषद्का कार्यसमिति सदस्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा परिषद्को अनुगमन विभाग प्रमुख, प्रशासन विभाग प्रमुख, कानुनी सल्लाहकार र आर्थिक विज्ञ सदस्य छन् । 

रेडक्रसमाथि छानबिन गर्न नयाँ समिति

रेडक्रस सम्बद्ध व्यक्तिहरूले नै उजुरी दिएपछि छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको परिषद्का कामु निर्देशक दुर्गाप्रसाद भट्टराईले रेडक्रसलाई गरेको पत्राचारमा उल्लेख छ । समितिलाई ४५ दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । समितिको प्रतिवेदन प्राप्त नभएसम्म दैनिक प्रशासनिक र आपत्कालीन कार्यक्रमबाहेक संस्थालाई दीर्घकालीन असर पर्ने प्रकृतिका कार्य नगर्न/नगराउन परिषद्ले निर्देशन दिएको छ ।

कान्तिपुरलाई प्राप्त कागजातका अनुसार ०७३ फागुनदेखि ०७८ साउनसम्म गठन भएका विभिन्न समितिले १६ वटा छानबिन र निर्देशन दिएका थिए । ती समितिका छानबिन प्रतिवेदन र निर्देशनलाई कार्यान्वयन नगरेर मन्त्रालयले फेरि अर्को छानबिन समिति गठन गरेको हो ।

एक दशकयता विभिन्न वैदेशिक सहायता तथा अनुदान, ०७२ सालको भूकम्पपीडितलाई उद्धार, राहत तथा पुनःस्थापना परियोजना, भक्तपुरमा गोदाम घर बनाउन जग्गा खरिद र रक्तसञ्चार भवन निर्माणमा रेडक्रसको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनियमितता गरेको आरोपमा यसअघि पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, समाज कल्याण परिषद्, जिल्ला प्रशासन, संसदीय समिति, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले छानबिन गरेका थिए ।

‘अघिल्ला छानबिन निर्देशन के कसो भए भन्दा पनि पछिल्लो समय रेडक्रसविरुद्ध विभिन्नखाले उजुरी परेकाले मन्त्रीस्तरीय निर्णयबाटै छानबिन समिति गठन गरिएको हो,’ समाज कल्याण परिषद्का एक पदाधिकारीले भने । रेडक्रसका कार्यसमिति अध्यक्ष सुदर्शन नेपालले छानबिन पत्र प्राप्त भएको बताए । ‘छानबिन गर्ने भनेर जानकारी पाइयो, हेरियो, यस्तो छानबिन यसअघि धेरैचोटि भइसकेको हो,’ नेपालले भने, ‘हामीले नीतिगत र आर्थिक भ्रष्टाचार गरेको भन्ने गलत हो, आएर छानबिन गर्दा हुन्छ, अहिले हामीले स्वच्छ छवि, पारदर्शी ढंगबाट काम गरेका छौं ।’

प्रकाशित : वैशाख १८, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?