Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७० असार ५     Login | Register | Issue No. 226
मिसमास»

हात्तीसारेलाई हौसला

काठमाडौ, माघ ४ -
बारा, पर्सा र चितवनमा आतंक मच्चाइरहेको ध्रुवे हात्ती खोज्न खटिएको जम्बो टोली अहिलेसम्म सफल भएको छैन । जंगली ध्रुवे मान्छेभन्दा कम्ता चलाख छैन । टाढैबाट मान्छेको चालमाल थाहा पाउनेबित्तिकै अर्कैतिर लम्किहाल्छ । दिनमै सयौं किलोमिटर हिँड्ने धु्रवेलाई मान्छेले त के लरतरो हात्तीले पनि भेट्टाउन सक्दैन ।

२२ घरपालुवा हात्तीमा चढेर निकुञ्ज कर्मचारी ध्रुवेको पछि लागेको तीन साता बितिसक्यो । माउतेले दिनरात नभनी निकुञ्ज कर्मचारी/प्राविधिक, सेना र डार्टटोलीलाई चितवन निकुञ्जको झन्डै पूरै क्षेत्रफल डुलाइसके । त्यत्ति गर्दा पनि नभेटिएपछि अहिले खोजी टोली पर्सा वन्यजन्तु आरक्षतिर केन्दि्रत छ । तर हातमा लाग्यो शुन्य । ध्रुवे नश्लकै घरपालुवा हात्ती नहुँदो हो त मान्छेले मात्रै उसको खोजी सम्भव थिएन । अँझ त्यसमा बढ्ता भूमिका छ हात्ती हाँक्ने हात्तीसारेहरूको । हात्तीसारे भनेका माउते, पछुवा, फणित, दरोगा र ग्याजेटेड सुब्बा हुन् । सबका जिम्मेवारी अलग/अलग हुन्छन् ।

चाहे ध्रुवेजस्ता आतंक मच्चाउने हात्ती नियन्त्रण गर्न होस् वा बाघ र गैंडा अनुगमन/गणना । निकुञ्जभित्र/बाहिर पर्यटक डुलाउन होस् वा निकुञ्जको गस्ती गर्न । या त तिनको पालनपोषण गर्न तिनै हात्तीसारे नभई हुँदैन । हात्तीसारेबाहेकले हात्ती हाँक्न सम्भव पनि छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्ज/आरक्षमा काम गर्ने सबै कर्मचारीलाई ड्रेस दिन्छ । निकुञ्जका पियनदेखि वार्डेनसम्मैले जाडोमा ज्याकेट पनि पाउँछन् । सिंगो हात्तीसार हाँक्ने हात्तीसारे भने त्यो सुविधाबाट वर्षौदेखि वञ्चित छन् । २४ अै घन्टा हात्तीसार अनि घाम पानी नभनी जंगलभित्र खटिने तिनै हात्तीसारेको हौसला बढाउन लागिपरेका छन् संरक्षणकर्मी कमलजंग कुँवर । उनले लेखेको 'फोर इअर्स फर द राइनो' को बिक्रीको पैसा खर्चेर हात्तीसारेलाई ज्याकेट बाँडेका छन् । 'सेभ दी राइनो फाउन्डेसन नेपाल' मार्फत् उनले गए साता चितवन र बर्दिया निकुञ्जका साथै शुक्लाफाँटा वन्यजन्तु आरक्षका हात्तीसारेलाई ज्याकेट बाँडे आफैं उपस्थित भएर  ।

'उनीहरूको मनोबल बढाउने सानो प्रयास हो,' चितवन निकुञ्जमा सहायक वार्डेनका रूपमा काम गर्दा हात्तीसारेको समस्या नजिकबाट नियालेका कुँवरले भने, 'पुस्तक बिक्रीकै पैसा उनीहरूलाई लगानी गरेको हुँ ।' गत वर्ष प्रकाशित उनको अंग्रेजी पुस्तक 'फोर इअर्स फर द राइनो'को ५० प्रतिशत रकम उनले हात्तीसारे र हात्तीसारमा काम गर्ने कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि छुट्याएका छन् । ३ हजार प्रकाशित भएको उक्त अंग्रेजी पुस्तक अहिलेसम्म ५ सयको हाराहारीमा बिक्री भएको छ । नेपाल आउने पर्यटकलाई बढ्ता लक्षित गरेर लेखिएकाले पुस्तकको मूल्य १० अमेरिकी डलर छ । 'फाउन्डेसनबाट भविष्यमा हात्तीसारमा काम गर्ने कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति बाँड्ने योजनामा छु,' विभागका प्रवक्ता कुँवरले सुनाए, 'आफैं पनि केही गर्न सकिन्छ भनेर सुरुवात गरेको हुँ ।'

यो वर्ष उनले चितवन निकुञ्जको मुख्यालय कसरामा रहेको गोही प्रजनन केन्द्रमा काम गर्ने १२ कर्मचारीलाई ज्याकेट बाँडे । बर्दिया निकुञ्जमा हात्तीसारमा काम गर्ने १२ र गोही प्रजनन् केन्द्रमा काम गर्ने ३ गरी १५ जनालाई ज्याकेट दिए । सुदूरपश्चिमको शुक्लाफाँटा वन्यजन्तु आरक्षको हात्तीसारमा काम गर्ने २१ जनालाई पनि कुँवर आफैं गएर ज्याकेट बाँडे । गत वर्ष उनले चितवन, बर्दिया निकुञ्ज र शुक्लाका १ सय ४२ जनालाई ज्याकेट बाँडेका थिए । कोसीटप्पुदेखि शुक्लासम्म हात्तीसारमा काम गर्ने करिब दुई सय ३० कर्मचारी छन् । आगामी वर्षदेखि कुँवरले कोसीटप्पु र पर्सा वन्यजन्तु आरक्षका हात्तीसारेलाई सहयोग गर्नेछन् । त्यसैगरी फाउन्डेसनमार्फत् हात्तीसारेका जेहेन्दार विद्यार्थी छानेर छात्रवृत्ति दिने मनसाय बनाएका छन् ।

प्रकाशित मिति: २०७० असार ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

...कम्तिमा मंसिरसम्मलाई भए’नि मेरा मतदाता नबगुन् ! दया होस्, पर्भु !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication