नेपालगन्ज, माघ २८ -
चर्चित लोकदोहोरी गायिका कोमल वलीले आइतबार एउटा मात्र गीत गाइन् । तर, उनी नेपालगन्जका दर्शक/श्रोतामाझ छाइन् । दर्शकको मन जित्न उनले 'झ्वाँक तन्नेरी...' र मलमलकिरी ...' गाउनु परेन । बरु 'सीमामा सद्भाव' को नारासहित भइरहेको कन्सर्टकी सद्भावना दूत कोमलले उद्घोषणबाट दर्शकलाई मुग्ध पारिन् । देउडा गायक यज्ञराज उपाध्यायसँग गाएको 'राईझुमा...' ले सांगीतिक माहोल झिसमिसे साँझसम्मै जम्यो ।
मध्याह्नदेखि सुरु कन्सर्टमा दर्शकहरूको धैर्य घाम अस्ताउँदासम्म रह्यो । रात पर्न लाग्ोकाले पनि कोमलले अरू गीतको पालो सोमबारलाई सारिन् । उद्घोषण क्रममा कोमलले सीमामा सद्भावको सन्देश मात्र बाँडिनन्, अभिभावकसँगै बसेर सुन्न नसकिने गरी दर्शकसँग जिस्किइन् । मध्याह्नदेखिका उद्घोषक रमेश मल्ल र शकुन्तला शाहलाई पालो दिएकी कोमल ग्लामरस ड्रेसअपमा हिन्दी र नेपाली गीत गाएकी रिजा उप्रेतीको 'पोसाक' मा जिस्केकी थिइन् । साताअघि बाँकेका विभिन्न २४ विद्यालय पुगेर उनले सीमामा सद्भावको सन्देश बाँडेकी थिइन् । त्यसैले खजुरा र कोहलपुरबाट पनि दर्शक ओइरिएका छन् ।
शनिबार दर्शकको 'वान्स मोर' पाएका शिव परियारले आइतबार भने पालो पाएनन् । नलिनाको 'मेहन्दी लगाऊ मलाई...' सहित दुई गीत कन्सर्टमा दोहोरिइन् । सुगम संगीतका आसलाग्दा प्रतिभा मानिएका बीपी वाग्लेको 'मैले त कति धेरै...' र 'मार्यो मार्यो...' दर्शकले रुचाए । छम्छमी नृत्य समूहले उनलाई साथ दिए ।
बाँकेकै सुनिलसिंह ठकुरीले 'घटना घट्यो...' र 'चौध अञ्चल...' गाए भने मदन गोपालले 'उकालीको उकुरमुकुर...' लोकपप र अफ्स एन्ड डाउन्स रकमा युवापुस्तालाई उचाले । रीमा गुरुङ होडाको 'नजरको दोषी बनी...' र 'तिमीले हाँसे पो...' लाई पनि दर्शकले धैर्यपूर्वक सुने । छमछमीका नृत्यहरू उत्कृष्ट थिए भने भोजपुरी नायिका रेनु सिंहको उत्तेजक नृत्यले दर्शकलाई भरपुर मनोरञ्जन दियो । चन्दा घिसिङको 'झुमका गिर्यो रे...' र 'चोरी भो, चोरी भो...' पनि नेपालगन्ज रंगशालामा राम्रैसँग जम्यो ।
नेपालगन्जको माहोल धेरैपछि गीत-संगीतमय भएको हो । क्रियटिभ ह्यान्डस् र अन्तरालले गरेको सांगीतिक महोत्सवमा सोमबार सुप्रसिद्ध अभिनेता राजेश हमाल आउँदै छन् ।