माघ ४ -
विगत एक महिनायता हामी पढिरहेछौं, देखिरहेछौं, अनि सुनिरहेछौं । अखबारका प्रथम एवं मुख्य पृष्ठ, टेलिभिजन, एफएम रेडियो सबैले एकसाथ उठान गरिरहेछन्, एउटै विषय— महिला हिंसा । कहिल्यै नदेखिएका एवं नसुनिएका घटनाहरू एवं सभ्य समाजले कल्पनै गर्न नसक्ने पाशविक कृत्यहरू अहिले दैनन्दिन बनेका छन् हाम्रा ।
सामूहिक बलात्कार, जलाएर हत्या, हाडनाता करणी, कार्यस्थलमा व्यभिचार...महिला हिंसाका यी दर्दनाक पक्षका कारकतत्त्व के हुन् त ? सामाजिक रूपान्तरण भइरहेको छ भन्छन् अचेल, तर पनि दाइजोका नाममा युवतीहरू ज्लिरहेछन् । सती प्रथाको अन्त्य भइसकेको छ भनिन्छ । तर विधवा नारीहरू अझै पनि तिरस्कृत नै छन् ।
हाम्रो संस्कृति नारीपूजक हो, दुर्गा भवानीको वर्षेनि पूजा हुन्छ । अनेकौं देवताले मार्न नसकेका असुरहरू एउटी देवीले मारेकी भनी स्तुतिगान गर्ने सप्तशती पाठ गर्छौं हामी । गृहलक्ष्मी मानेर सम्मानित गर्छौं हामी नारीलाई, तर पनि किन यस्तो ? नैतिक मूल्य-मान्यताको ह्रास एउटा कारण हुनसक्छ । त्यसैले हामी भुलिरहेछौं, 'नारीशक्ति' अनि 'मातृदेवो भव'को महत्त्व । त्यस्तै समाजमा अझै पनि नारीलाई सम्पत्ति, सामान या खेलौना मान्ने प्रथा विद्यमान छ । 'कन्यादान'को साँचो महत्त्वलाई बिर्सेर यसलाई वस्तु विनिमयसरह ठान्ने सामाजिक रीतिथिति एवं कुसंस्कार ज्युँदै छ । त्यसैले नारी हिंसामा पुरुषमात्र नभई सासू, जेठानी, नन्द—आमाजूरूपी नारीहरू नै अघि सर्छन् या ती उत्प्रेरकको भूमिकामा अगाडि आउँछन् । यी सामाजिक—सांस्कृतिक अँध्यारा पक्षहरूलाई अझ उजागर गर्छन्, गर्भमा रहेको शिशुको लिंग पत्ता लगाई गर्भपतन गराउने, बालविवाह गर्ने—गराउने, हाडनाता करणीजस्ता कुप्रथाहरू ।
मनोरोग एवं नारी हिंसा बीचको सम्बन्धबारे पनि सोचौं । वास्तवमा हिंसामा उद्यत हुने जोसुकै पनि मदिरापान या कुनै न कुनै लागूपदार्थ व्यसनी भएको देखाएका छन्, अन्तर्राष्ट्रिय अध्ययनहरूले । नारीप्रति हुने जुनसुकै किसिमका हिंसा -घरेलु, कार्यस्थल या सार्वजनिक स्थल) मा पनि मद्यपान नै उत्प्रेरकको रूपमा देखापरेको हुन्छ । त्यस्तै पुरुष वर्गमा हुने व्यक्तित्वजन्य समस्या -एन्टिसोसियल, इम्पल्सिभ पर्सनालिटी) एवं शंकारोग -डेल्युजनल डिसअर्डर) आदि मनोरोगहरू पनि महिला हिंसामा अभिप्रेरित गराउने कारकतत्त्व बन्न सक्छन् ।
त्यस्तै पीडित पक्ष महिलाहरूमा पनि डिप्रेसन, सुस्त मनस्थिति आदिजस्ता समस्याहरू देखापर्न सक्छ, जसले तिनलाई परिवारबाट परित्यक्त, समाजबाट तिरस्कृत बनाउन सक्छ । अनि पीडकहरूले तिनको दुरवस्था या कमजोरीबाट फाइदा उठाउन सक्छन् ।
अनि छोरी मानसिक रोगी भएका प्रायःजसो बाबुआमा तिनको रोगको उपचारमा लाग्नुको साटो त्यसलाई लुकाएर जबर्जस्ती विवाह गराउनतिर लाग्छन् । अन्ततः ती सबै लोग्नेको परिवारबाट परित्यक्त, अपहेलित एवं हिंसाको सिकार भई बाँच्न विवश हुन्छन् । जानी-नजानी या बलपूर्वक ती गर्भवती बनाइन्छन्, त्यसपछिको तिनको या नवजात शिशुको अवस्था भने कल्पनै गर्न नसकिने हुन्छ । यसरी अनेक किसिमका हिंसामा पिल्सिएका महिलाहरूको मानसिक स्थिति कस्तो रहला ? अनि कसरी होला समाधान ? समाजको साँचो रूपान्तरण, कुरीति एवं कुसंस्कृतिको निर्मूलीकरण, नैतिक शिक्षा, सरल एवं सुलभ न्याय, मानसिक रोगहरूको उपचार, लागूपदार्थ दुव्र्यसनमा कानुनी एवं चिकित्सकीय नियन्त्रण, यी सबै उपायको एकसाथ अवलम्बन नगरेसम्म दीर्घ समाधान सम्भव छैन ।
लेखक धुलिखेल अस्पतालका म्ाानसिक रोग विशेषज्ञ हुन् ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:५८
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !