Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
अर्थ/वाणिज्य»

पेट्रोलियम घूस प्रकरण

  • सचिव अध्यक्ष रहेको निगमको छानबिन सहसचिवले गर्ने
काठमाडौ, माघ ४ -
आयल निगम सञ्चालक समितिले अनुसन्धान प्रभावित हुने गरी अध्यक्षकै माताहतका कर्मचारीको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । पेट्रोलियम पदार्थको ढुवानी भाडा तथा पम्प कमिसन वृद्धि गर्न निर्णयकर्तालाई 'घूस खुवाउन' व्यवसायी सम्बद्ध दुई संस्थाले संस्थागत रूपमै रकम उठाएको सम्बन्धमा छानबिन गर्न केही दिनअघि ३ सदस्यीय अनुसन्धान टोली गठन गरिएको हो । टोलीका संयोजक वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवाली छन् । निगम सञ्चालक समितिका अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी हुन् । निगम सञ्चालक समितिले गत पुस ६ मा ढुवानी भाडा २ प्रतिशत तथा पम्प कमिसन प्रतिलिटर पेट्रोलमा ५६ पैसा र प्रतिलिटर डिजेलमा ३९ पैसा बढाएको थियो । त्यसको केही दिनपछि पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले कमिसन बढाउन 'निर्णयकर्तालाई घूस खुवाउन' संस्थागत रूपमा ८० लाख रुपैयाँ र पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा बढाउन १२ लाख रुपैयाँ उठाएको समाचार प्रकाशित भएका थियो । त्यसलगत्तै आयल निगमले पुस १४ गते सार्वजनिक सूचनामार्फत पम्प कमिसन र ढुवानी भाडा वृद्धिको निर्णय स्थगन गरेर त्यसबारे अनुसन्धान गर्न टोली गठन गर्ने सञ्चालक समितिको निर्णय गरेको जनाएको थियो । त्यसको २ सातासम्म अनुसन्धान टोली गठन भएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस विषयमा अनुसन्धान गर्ने भएलगत्तै सचिव जोशीले सहसचिव ज्ञवालीको संयोजकत्वमा टोली गठन गरेका हुन् । निगमले प्रकाशित गरेको सार्वजनिक सूचनामा अनुसन्धान प्रभावित हुन सक्ने सम्भावना टार्न टोलीमा सञ्चालक समितिका प्रतिनिधि नरहने जनाइएको

थियो । 'निगम सञ्चालक समितिमा प्रतिनिधित्व नगर्ने वाणिज्य तथा आपूर्ति मन्त्रायलका सहसचिव संयोजक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव र अर्थ मन्त्रालयका उपसचिव सदस्य रहने,' उक्त सूचनामा उल्लेख छ । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले एउटै मन्त्रालयको सचिवसँग जोडिएको मुद्दामा सोही मन्त्रालयका सहसचिवले अनुसन्धान गर्दा त्यस्तो अनुसन्धान स्वायत्त र स्वतन्त्र हुन नसक्ने बताए । 'अनुसन्धान स्वायत्त र स्वतन्त्र हुनुपर्छ, देखाउनका लागि होइन,' उनले भने, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो संवैधानिक अंगले अनुसन्धान सुरु गरिसकेको छ । यस्तो अवस्थामा अख्तियारको छानबिनलाई बाटो खोलिदिनुपर्नेमा आफैं अनुसन्धान अगाडि बढाइएको छ ।' घूसका लागि पैसा उठाइएको समाचार प्रकाशित भएलगत्तै मञ्चले प्रमाणसहित निगम सञ्चालक समिति, संघ, महासंघ, स्थानीय संगठन र तिनका पदाधिकारीमाथि छानबिन गर्न अख्तियारमा उजुरी गरेको थियो । मञ्चले निगम सञ्चालक समिति, संघ, महासंघ, स्थानीय संगठन र तिनका पदाधिकारीको बैंक खाता रोक्का गरी सम्पत्तिसमेत छानबिन गर्न माग गरेको छ । अख्तियारले केही दिनअघि संघ र महासंघलाई घूस खुवाउन रकम उठाइएको सम्बन्धमा भएका सम्पूर्ण विवरण मागेको छ । टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव र अर्थ मन्त्रालयका उपसचिव सदस्य रहने सञ्चालक समितिले निर्णय गरेको थियो । 'प्रधानमन्त्री कार्यालय र अर्थबाट अनुसन्धान टोलीका लागि प्रतिनिधि पठाइएको जानकारी पाएको छु,' वाणिज्य तथा आपूर्ति प्रवक्ता दीपक सुवेदीले भने ।

 

प्रकाशित मिति: २०६९ माघ ५ ०८:४८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication