भैरहवा , पुस ४ -
जोरबिजोर नम्बरको आधारबाट ट्रक उपलब्ध गराई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले ढुवानीमा कायम गरेको सिन्डिकेट प्रणालीबाट भैरहवा-लुम्बिनी करिडोरमा सञ्चालित झन्डै एक दर्जन सिमेन्ट उद्योग पनि प्रभावित भएका छन् ।
जोरबिजोर ट्रक नम्बरको नाममा समितिले अति कम संख्यामा ढुवानीका लागि ट्रक उपलब्ध गराउनाले मागअनुरूप उत्पादित वस्तु बजारसम्म पुर्याउन नसकिएको र यसबाट ट्रकको कृत्रिम अभाव भई भाडा वृद्धि हुने गरेको गुनासो व्यवसायीको छ ।
लुम्बिनी करिडोरमा सञ्चालित विशाल, अग्नि, अम्बुजा, कैलास, सुपि्रम, सिद्धार्थ, जगदम्बा, बृज, गोयन्का र रिलायन्सलगायत उद्योग ट्रक अभावमा प्रभावित भएका हुन् ।
'अहिलेको प्रतिस्पर्धात्मक खुला बजारमा पनि ढुवानीका लागि ट्रकमा गरिएको सिन्डिकेटको मारमा हामी व्यवसायी परेका छौं,' भैरहवा-लुम्बिनी करिडोर सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष ऋषिकेश अग्रवालले भने, 'मागअनुरूप ढुवानी गराउन नपाउँदा बिक्रीमा असर परिरहेको छ भने सरकारलाई राजस्वको ।' समितिले मागअनुरूप ट्रक उपलब्ध गराई ढुवानी सहज गराइदिन आग्रह गर्दै आएको छ ।
ट्रक व्यवसायीको समितिका अध्यक्ष गणेश पन्त २ हजार ट्रकलाई एकैपटक बजारमा पठाउँदा ती सबैले काम नपाउने र राज्यले ट्रक पार्कको निर्माण नगरिदिँदा दुर्घटनालगायत समस्या निम्तिने भएकाले व्यवस्थित गराउन जोरबिजोर प्रणाली लागू गरिएको बताउँछन् । 'ट्रकलाई व्यवस्थित गराउँदा सिन्डिकेट लागू गर्यो भनेर हामीलाई बद्नाम गर्ने दुस्प्रयास गरिएको छ,' पन्तले भने, 'ढुवानीका लागि ट्रकको अभाव छैन ।'
ट्रक व्यवस्थित गर्ने नाममा समितिले आधा मात्र ट्रक बजारमा पठाएर ट्रकको कृत्रिम अभाव सिर्जना गरी भाडासमेत मनोमानी रूपमा लिने गरेको आरोप करिडोरका व्यवसायीको छ ।
ट्रक अभावका कारण उत्पादित सिमेन्ट बजार पठाउन ढिला हुने गरेको भन्दै सोमबारदेखि भैरहवा-काठमाडौंको भाडामा ट्रक समितिले १ हजार वृद्धि गरेको जगदम्बा सिमेन्टका महाप्रबन्धक बिदुर ढुगांनाले बताए ।