सौराहा -चितवन, पुस ४ -
अघिल्ला वर्षझैं यो वर्ष पनि पुस दोस्रो साताबाट अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता हुने भएको छ । क्षेत्रीय होटल संघ नेपालको आयोजनामा नवौं अन्तर्राष्ट्रिय हात्ती दौड आयोजना गर्न लागिएको हो । पुस ११ देखि १३ सम्म चल्ने प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा अघिल्लो वर्षभन्दा दर्शकको उपस्थिति बढी हुने अनुमान आयोजकले गरेको छ । 'अघिल्लो वर्ष झन्डै एक लाख दर्शकको उपस्थिति थियो,' क्षेत्रीय होटल संघका अध्यक्ष नारायण भट्टराईले भने, 'यो वर्ष त्यो संख्या बढ्ने अनुमान गरेका छौं ।' उनले अघिल्लो वर्ष जस्तै प्रतियोगिता हुने बताए । यो वर्ष प्रतियोगितालाई व्यवस्थित गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहनेछ । जसमा १६ विदेशी टिमले सहभागिता जनाउनेछन् । हात्तीका छावाबीच फुटबल प्रतियोगिता गराइनेछ । जसमा ४ वटा टिमको सहभागिता रहने संघका महासचिव सुमन घिमिरेले बताए । हात्तीहरूबीच सौन्दर्य प्रतियोगितासमेत गरिनेछ । प्रतियोगितामा ५ वटा हात्तीले सहभागिता जनाउने छन् । 'अघिल्लो वर्ष प्रतियोगितामा विजयी भएको हात्तीले अब हुने सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन,' प्रतियोगिताका संयोजक ज्ञानेन्द्रकुमार विष्टले भने, 'त्यसैले अन्य हात्तीबीच प्रतिस्पर्धा गराएर नयाँ हात्ती सुन्दरी छान्नेछौं ।' उनले गाडा र टाँगा प्रतियोगितासमेत गरिने बताए । टाँगा र गाडामा १०/१० टिम सहभागी हुनेछन् । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने प्रतियोगितामा दर्शकले निःशुल्क प्रवेश पाउनेछन् । अघिल्लो वर्षको तुलनामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा ७ प्रतिशतले वृद्धि भएकाले हात्ती दौडमा पनि दर्शकको उपस्थिति बढ्ने निवर्तमान अध्यक्ष सैंजूले बताए ।
प्रकाशित मिति: २०६९ पुस ५ ०९:१३
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?