काठमाडौ, मंसिर २६ -
हालै बंगलादेशमा पि्रमियर मञ्चन गरिएको नेपाली नाटक 'सुनकेशरी' भारतीय नाटक महोत्सवमाा पनि छानिएको छ । पश्चिम बंगालस्थित बहरमपुरमा हुने हृत्विक नाट्य महोत्सवका लागि कणर्ाली कथा समेटिएको नेपाली नाटक छानिएको हो । 'हृत्विकका साथीहरू ढाकामै भेटेका थियौं,' नाटकका निर्देशक राजन खतिवडाले भने, 'ढाका महोत्सवमा उत्कृष्ट तीनभित्र परेको भन्दै उनीहरूले हतार-हतार बहरमपुरमा पनि निम्त्याएका हुन् ।'
ढाकाबाट फर्केपछि काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवको सह-आयोजना गरेको मण्डलाका कलाकार हतारकै तयारीबीच मंगलबार भारत प्रस्थान गरेका छन् । सत्यमोहन जोशीको लेखन रहेको नाटकमा झन्डै पाँच सय वर्ष पुरानो कथा समेटिएको छ । कणर्ाली लोकजीवनमा प्रचलित कथा टिपिएको नाटकमा सुन्दरताका कारण एउटी युवतीले पाउने दुःखलाई उधिनिएको छ । 'सुनकेशरी' युवतीका लागि कणर्ालीका राजा साइमल शाही र विक्रम शाहीको प्रतिस्पर्धा चल्छ भने यहीबेला भोटका राजा झम्पन आएर सुनकेशरीलाई अपरहण गरेर लैजान्छन् । ठकुरी समाजमा प्रचलित मामाचेला फूपुचेली बीचको विवाह परम्परा समेतको सन्दर्भ समेटिएको नाटक सांस्कृतिक रूपमा सघन बनाउन कणर्ालीको हुड्केली, डेउडा लगायत लोकगीत तथा नृत्यलाई पनि समेटिएको छ ।
नाटकमा सरिता गिरी, सिर्जना अधिकारी, उमेश तामाङ, सुलक्षण भारती, सोमनाथ खनाल, विजय बराल, निश्मा घिमिरे, बुद्धि तामाङ, हीरा बिजुली, अर्जुन कार्की, मोहम्मद नाजिर, नम्रता केसी, विकास जोशी लगायतले अभिनय गरेका छन् ।