Kantipur

Kantipur

मिति | २०७१ वैशाख ५, शुक्रबार     Login | Register
कला र शैली»

राष्ट्रपति अचानक ग्यालरीमा

काठमाडौ, भाद्र ८ -
अपराह्न पाँच बज्दै गर्दा मंगलबार नेपाल आर्ट काउन्सिल ग्यालरीमा हतारपूर्ण दौडधुप चलिरहेको थियो । ग्यालरीमा जारी हरिप्रसाद शर्माको चित्र प्रदर्शनी हेर्न राष्ट्रपति रामवरण यादव आउने खबर शर्माका पुत्र विष्णुप्रसादले केहीअघि मात्रै पाएका थिए ।

'प्राचीन र मध्यकालीन काठमाडौं उपत्यकाका झाँकीहरू' शीर्षकमा चित्रकला प्रदर्शनी सुरु भएको १९औं दिन पनि पारखीहरू ग्यालरीमा उत्तिकै झुम्मिरहेका थिए, राष्ट्रपति आउने खबरले ग्यालरीमा मानिसहरू झन् झुम्मिन थाले ।

पाँच बजेर २० मिनेट जाँदा वरिपरि सुरक्षाकर्मीसहित राष्ट्रपतिको कार आर्ट काउन्सिल परिसरमा भित्रियो । ७३ वर्षे पाका चित्रकार शर्मा काउन्सिल ढोकैमा पुगे स्वागत गर्न । पुष्पगुच्छा लिएपछि शर्मालाई बायाँ पारेर राष्ट्रपति सोझै माथिल्लो ग्यालरीतिर सोझिए, जहाँ प्राचीन र मध्यकालीन अनेक झाँकी क्यानभासमा सजिएका छन् ।

राष्ट्रपतिको पहिलो नजर 'लिच्छवी राजा मानदेव' मुहार चित्रमा पर्‍यो । 'राजा मानदेव कस्ता थिए भन्ने कहीँ पनि चित्र छैन,' स्रष्टा शर्माले चित्रको पृष्ठभूमि बताउन थाले, 'मानदेवले बनाएको चाँगुनारायण मन्दिर अघिल्तरको गरुड उनकै अनुहारसँग मिल्छ भन्ने मिथककै आधारमा उनको मुहार यसरी उतारेको हुँ ।'

'ए, अहिलेसम्म मानदेवको चित्र बनेको थिएन हगि ?' राष्ट्रपतिले भने । यसपछि शर्माले राष्ट्रपतिलाई अंशुवर्मा र उनले बनाएको कैलाशकुट दरबार दृश्यतिर डोहोर्‍याए । शर्माले १२ सय वर्षअगाडि चिनियाँ पदयात्री हुअेन साङले आफ्नो यात्रा पुस्तकमा समेत वर्णन गरेको कलाको अद्भूत नमुना मानिने अंशुबर्माको कैलाशकुट दरबारबारे बताइरहँदा राष्ट्रपतिले तीनपटक टाउको हल्लाए । 'यो त सातौं शताब्दीको कुरा हैन र ?' राष्ट्रपति बोले । शर्मा र उनका छोरा विष्णु एकैछिन् अक्मक्किए । 'हो हो, १२ सय वर्षअगाडि भनेको सातौं शताब्दी हो,' पछिल्तिर कसैले बोले ।

सयौं कलाकार साथ लाएर चीन प्रस्थान गर्न लागेको 'अरनिकोको बिदाइ' शीर्षकको चित्रमा एकैछिन् अडिएपछि राष्ट्रपति राजा जगतज्योति मल्लले दरबारमा नाटक सिकाइरहेको दृश्यमा एकैछिन् अडिए । 'मल्ल राजाहरू आफंै नाटक लेख्थे र निर्देशन गर्थे,' शर्माले राष्ट्रपतितिर फर्केर भने, 'धेरैजसो मैथिली नाटक....।'

'संस्कृत नाटक पनि गर्थे हैन ?' शर्मा बोल्दाबोल्दै राष्ट्रपतिले सोधे । शर्माले 'हो, हो' भन्दै टाउको हल्लाए ।

अघिल्तर स्वयम्भूनाथको चित्रमा प्रताप मल्लले बज्र चढाउन बौद्ध महायानी शैलीको होम गरिरहेको दृश्य देखियो । यसपछि पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेको चित्रमा राष्ट्रपति केहीबेर अडिए । 'राजा जयप्रकाश मल्ल इन्द्रजात्रा मनाइरहँदा गोर्खाली सेनाले तीनतिरबाट घेरा हाले,' शर्माले सुनाए, 'नरदेवी, भीमसेनस्थान र टुँडिखेलबाट ।'

'पृथ्वीनारायणचाहिँ नरदेवीबाट आएका थिए हैन ?' राष्ट्रपति फेरि बोले ।

कोतपर्वको चित्रसँगै जंगबहादुरको बेलायतमा एउटी महँगी नगरबधुसँग भइरहेको प्रेमलीलाको चित्रसम्म पुग्दा ग्यालरीको भीड बाक्लियो । ३२ भारदार चिहान भएको कोतभित्रको अँध्यारो दृश्यको वर्णनपछि शर्माले राणाको मोजमस्ती र ऐयासीपूर्ण जीवनशैलीबारे बताउन थाले । चित्रमा जंगबहादुर नगरबधु लौरा वेलको औंला चुम्न खोज्दै छन् । बेलायत भ्रमणका सबै पैसा मस्तीमा सकाएपछि नेपाल फर्किन बेलायत सरकारसँग ऋण मागेको सन्दर्भ शर्माले सुनाइनसक्दै राष्ट्रपतिको मुखबाट 'लौरा त आयरल्यान्डकी हैन' भन्ने फुत्कियो ।

'राष्ट्रपतिलाई सबै थाहा हुने रहेछ हगि,' पछिल्तिर कोही बोले ।

भानुभक्तले कल्पना गरेको 'चपला-अबलासहितको सुन्दर कान्तिपुरी नगरी' नेवार संस्कृति र मिथक बोकेको मन्दिर, लगनटोलको साँढे जुधाइलगायतका चित्र हुँदै अगाडि  बढिरहँदा एउटा कुनामा काठमाडौंका नेवार समुदायले ओखलमा चिउरा कुटिरहेको दृश्य देखियो । 'यो त मैले मधेसतिर देखेको छु,' राष्ट्रपतिले भने, 'चित्रहरू संस्कृति र जनजीवन पनि ठयाक्कै उतारिएको रहेछ ।'   

 यसपछि राष्ट्रपतिले सबैभन्दा धेरै समय ठमेलको भगवान् वहालसम्बन्धी चित्र हेर्नमा लगाए, चित्रमा ठमेलबाट पाँच सय व्यापारीसहित तिब्बत पुगेका व्यापारी सिंहसार्थ बाहुलाई राक्षेसरूपी तिब्बती सुन्दरीहरूले मार्न खोजेको र सपनामा लोकेश्वरले बताएअनुसार गरेपछि बाँचेर काठमाडौं आइपुगेको र भगवान् वहाल स्थापना गरेको मिथक उतारिएको छ ।

'तपाइर्ं आउनुभएर मेरो बुबालाई आज निकै ठूलो सम्मान मिलेको छ,' प्रदर्शनीमा सजिएका ५८ वटा चित्र नियालिसकेपछि जानेबेलामा शर्माका पुत्र विष्णुले राष्ट्रपतिलाई भने, 'हामी एकदम आभारी छौं ।'       

'हैन, हैन,' राष्ट्रपतिले भने, 'नेपाली चित्रकलामा यति ठूलो योगदान पुर्‍याउने उहाँ -शर्मा) लाई भेट््न पाउनु र उहाँका चित्र हेर्न पाउनु नै ठूलो कुरा हो । म निकै खुसी छु ।'

सांस्कृतिक र ऐतिहासिक चित्रहरू सजिएको प्रदर्शनी हेर्न केही दिनअघि प्रधानमन्त्रीसमेत आएपछि शर्माले चार दिनअघि राष्ट्रपतिलाई पनि निम्तो दिएका थिए । 'आजै आउनुहुन्छ जस्तो लागेको थिएन,' शर्माले भने, 'उहाँलाई त इतिहास र कलासम्बन्धी पनि निकै गहिरो ज्ञान रहेछ ।'

शनिबारसम्म जारी रहने प्रदर्शनीमा २० हजारदेखि २ लाख ४० हजार रुपैयाँसम्मका चित्र छन् ।


प्रकाशित मिति: २०६७ भाद्र ९ ०७:२२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-17
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication