कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

विद्युत् आयातबाट निर्यात गर्नेमा परिणत हुनु महत्त्वपूर्ण : राष्ट्रपति पाैडेल

राष्ट्रपतिले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन 

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक विद्युत् आयात गर्ने देशबाट निर्यात गर्ने देशका रूपमा परिणत हुनु महत्त्वपूर्ण रहेकेा बताएका छन् । भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो-२०२४ उद्घाटन गर्दै बिहीबार राष्ट्रपति पौडेलले यो सबैका लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरेका हुन् । 

विद्युत् आयातबाट निर्यात गर्नेमा परिणत हुनु महत्त्वपूर्ण : राष्ट्रपति पाैडेल

नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा बिक्रीका लागि बजार खुला गरिसकेको उल्लेख गर्दै राष्ट्रपति पाैडेलले यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे । ‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत उत्पादनको लागि राखिएका लक्ष्य हसिल हुन सम्भव छ,’ उनले भने । एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने उनकाे भनाइ छ । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न समेत आह्वान गरे ।

उद्घाटन कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत् विकासको प्रचुर सम्भावना रहेकोले मुलुककाे उन्नतिको महत्त्वपूर्ण आधार रहेको बताए । ‘आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको छ, झट्ट हेर्दा महत्त्वाकांक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित छ,' उनले भने, 'लगानीको लागि देशभित्रको स्रोतमात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता छ ।' अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत विद्येयक निकट भविष्यमा पारित भई सरकारले ल्याएकाे कार्ययाेजना कार्यान्वयनमा समेत उल्लेख्य याेगदान पुग्ने बताए ।

जलविद्युत् परियोजना विकासको लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने उनकाे भनाइ छ । ‘परियोजनाका लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ,’ मन्त्री बस्नेतले भने, 'सरकारले केही नेपाल ऐन संसोधनमार्फत सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाएको छ ।' अहिले जलविद्युत परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्दासमेत पेचिलो बन्दै गएको छ । यसबारेमा पर्याप्त छलफल हुनुपर्ने र भइरहेको उनको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनामा १३ खर्ब रुपैयाँ लगानी भइसकेको बताए । ‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको र दक्ष, अर्धदक्ष र अदक्ष गरी ५ लाखभन्दा धेरैले रोजगारी पाइरहेको छन्,’ उनले भने ।

पछिल्लो समय विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुँदै जाने उनकाे भनाइ छ । सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्नको लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ । विदेशी लगानी वृद्धि गर्नको लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउदै लैजान सरकारसँग आग्रह गरे । जलविद्युत् परियोजना विकाससँग स्थानीय विकासमा महत्वपूर्ण सहयोग पुगिरहेको छ ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत् निर्यातमा भन्दा पनि देशभित्रै खपत वृद्धि प्राथमिकतामा रहेको बताए । यसको लागि सबै सरकार, निजी क्षेत्र अन्य सरोकारवालाको महत्वपूर्ण हुने उल्लेख गरे । समद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रबार सकिनेछ ।

प्रकाशित : वैशाख १३, २०८१ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?