कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

सहकारीका बचतकर्ता यी हुन्, मस्ती गर्ने को हुन् ? 

सार्वजनिक शौचालय सफा गर्ने, झिसेमिसेदेखि चिया बेच्ने, राजमार्गमा बसका पछाडि–पछाडि दौडिँदै फलफूल बेच्नेहरूले बुटवलको सुप्रिम सहकारीमा जम्मा गरेको पसिनाको कमाइ तानेर गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएको थियो, निजी कम्पनीमा सारिएको पैसा कहिले र कसले फिर्ता गर्ने हो ? प्रश्न अनुत्तरित हुँदा करिब १० हजार बचतकर्ता अत्तालिएका छन्

बुटवल, नेपालगन्ज — बुटवल चौराहास्थित राजमार्गमा सार्वजनिक शौचालय सफा गर्ने सीता दर्जी । पूर्वपश्चिम गर्ने बसका यात्रुलाई फलफूल बेच्ने पीताम्बर भट्टराई । बिहानैदेखि चिया बेच्ने विष्णु पाण्डे । पात्र यी हुन् जसले आफ्ना सारा रहर खुम्च्याएर सन्तानको भविष्यका लागि बुटवलस्थित सुप्रिम सहकारीमा बचत जम्मा गरिरहेका थिए । तर उनीहरूको पसिनाको कमाइ तानेर गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएको थियो । अब निजी कम्पनीमा सारिएको पैसा कसरी फिर्ता हुने हो ? प्रश्न अनुत्तरित हुँदा करिब १० हजार बचतकर्ता अत्तालिएका छन् । 

सहकारीका बचतकर्ता यी हुन्, मस्ती गर्ने को हुन् ? 

बुटवल–१० बुद्धनगरकी ५० वर्षीया सीता दर्जी दिनहुँ बिहान ४ बजे नै घरबाट आधा घण्टा पैदल हिँडेर चौराहास्थित राजमार्गको सार्वजनिक शौचालय पुग्छिन् । राजमार्गका यात्रुका लागि शौचालय सफा गर्छिन् । यो उनको २१ वर्षदेखिको दैनिकी हो ।

७ वर्षअघि पति गुमाएकी सीताले शौचालयकै कमाइले एक छोरा र एक छोरी हुर्काएकी हुन् । अहिले छोरीको बिहेबारी भइसकेको छ भने छोरा पनि वैदेशिक रोजगारीमा छन् । ‘सुप्रिममा तीन लाख रुपैयाँ फसेको छ,’ उनले दुःख पोखिन्, ‘दबाइपानी गरौंला भनेर जोगाएको रकम डुब्यो ।’

एक महिनाअघि पत्थरीको शल्यक्रिया गरेदेखि भने बिहान शौचालय सरसफाइ गर्न छोरी आउँछिन् । बिहान ९ बजे आफू पुगेपछि उनले छोरीलाई घर पठाउँछिन् र राति १० बजेसम्म सरसफाइमा खट्छिन् । ‘म बिरामी परेदेखि बिहान ट्वाइलेट छोरीले खोल्छे,’ सीताले भनिन्, ‘राति १० बजेसम्म मैले हेर्छु । यही ट्वाइलेट छ, त्यसैले दुःख गरेर परिवार धान्न सकिएको छ ।’ सीताका अनुसार दैनिक १ हजार हाराहारी आम्दानी हुन्छ, त्यही पैसाबाट दिनहुँ शौचालय सफाइका लागि ४/५ बोतल फिनेल, हर्पिक, एसिडलगायत खरिद गर्नुपर्छ ।

सीता दर्जी, रुपन्देही

कहिले के पर्छ, कहिले के ? खर्च भइरहन्छ । रक्तचाप र कोलस्ट्रोलकी पीडित उनलाई पत्थरी पनि भएपछि एक महिनाअघि भारतको नयाँदिल्ली पुगेर शल्यक्रिया गराइन् । ‘अप्रेसन गर्दा आफ्नो कमाइले पुगेन,’ भनिन्, ‘७० हजार ऋण लाग्यो ।’

उपचार गर्दासमेत सीताले ऋणको भारी बोक्नुपर्ने थिएन । तर, शौचालयभन्दा दुई सय मिटर पश्चिममा मुख्य कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले उनको बचत हिनामिना गरिदियो । ९ वर्षअघि उनी सुप्रिमको सदस्य बनेकी थिइन् ।

‘दिनहुँ ४–५ सय जम्मा गर्थें,’ भनिन्, ‘अहिले बिरामी परेका बेला जिम्मा लिने कोही छैन भन्ने थाहा पाएँ, आफ्नै दुःखले सहकारीमा जम्मा गरेको बचत हुँदाहुँदै पनि ऋण लाग्यो ।’ त्यही शौचालय पनि अहिले बुटवल–नारायणगढ सडक खण्ड विस्तार क्रममा भत्काइँदै छ । ‘ट्वाइलेट भत्किएपछि के गरेर गुजारा गर्ने होला ? चिन्ता लागेको छ,’ उनले भनिन् ।

***

गुल्मीको मदाने गाउँपालिका–३ का पीताम्बर भट्टराई हरेक बिहान राजमार्ग चौराहामा दौडिरहन्छन्, कहिले पूर्वतर्फ रोकिएका गाडीका पछाडि, कहिले पश्चिमतर्फ रोकिएका गाडिका वरिपरि । भट्टराई साँझ ८ बजेसम्म राजमार्गमै दौडधुपमै हुन्छन् । हातमा अंगुरका पोका देखाएर यात्रुलाई किनिदिन अनुरोध गर्छन् । ‘गाडी पछ्याउँदै फलफूल बेच्छु,’ भट्टराईले भने, ‘फुर्सदका दिन बूढी पनि सघाउन आउँछिन् ।’

पीताम्बर भट्टराई, गुल्मी

उनी बुटवलको मिलनचोकमा मासिक ६ हजार रुपैयाँ भाडा तिरेर बस्न थालेको पाँच वर्ष भयो । त्यसअघि रोजगारीका लागि भारत थिए । सानोतिनो व्यवसाय चलाउने भन्दै फर्किए । बुटवल आएपछि डेढ वर्षसम्म खाजा पसल सञ्चालन गरे । त्यसपछि ठेलामा फलफूल राखेर डुल्न थाले । ‘उपमहानगरले ठेला खोसेपछि यसरी पोकामै बेच्न थालेको हुँ,’ उनले भने । सिजनअनुसारका फलफूल बिक्री गर्न उनी अचेल बस पछ्याउँछन् । भट्टराई परिवारमा श्रीमती, छोरा र छोरी छन् । छोरा १२ को परीक्षा दिने तयारीमा छन् भने छोरी ६ कक्षामा पढ्छिन् । पाँच वर्षअघि तीन लाख खर्चेर खाजा पसल खोलेका रहेछन् । त्यही बेला सुप्रिमका कर्मचारीले धेरै ब्याज पाइने प्रलोभन देखाएपछि उनले पनि बचत गर्न थालेका रहेछन् । ‘सुप्रिममा दिनको २/३ सय गर्दै जम्मा गर्न थाल्यौं,’ भने, ‘व्यापार भएका दिन ५ सयसम्म पनि जम्मा गरियो ।’

राजमार्गमा धुलोमैलो सहेर सहकारीमा ५ लाख ५५ हजार रुपैयाँ जम्मा गरेका उनले बताए । ‘यो सहकारी यस्तो हो भन्ने थाहा भएन, जनताको पैसा निजी कम्पनीमा लगेका छन् भन्ने अनुमान भएन । अहिले रकम डुबेपछि दुःख पाइयो,’ उनी अहिले परिवारमा पीरैपीर रहेको बताउँछन् । सन्तानको पढाइ खर्च बढेको बढ्यै छ, तर पैसा फिर्ता हुने हो कि होइन भन्ने यकिन छैन ।

एक वर्षअघि रकम डुबेको जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भए । ‘ऊ बेला बचत उठाउन धाएर आउनेहरू यतिबेला भेट्दा पनि भेटिँदैनन्,’ उनले भने, ‘सम्पत्तिका नाममा त्यही बचत थियो, अहिले त्यही रकम डुबेपछि घरमा अशान्ति छ ।’ अहिलेको महँगीमा एक छाक ढुक्कले खान पनि नपुग्ने अवस्था रहेको उनी बताउँछन् । भन्छन्, ‘केही गरी सुख छैन, ठेला खोसिदिएको नगरपालिकाले समेत कहिलेकाहीं यही पोका पनि खोसेर लगिदिन्छ ।’

***

अर्घाखाँचीको बल्कोटका विष्णु पाण्डेले बुटवल–८ राजमार्ग चौराहास्थित सडकछेउ चिया पसल चलाएका छन् । १० वर्षदेखि बुटवलमा डेरामा बसेर चिया बेचिरहेका छन् । उनी पनि सुप्रिम सहकारीका पीडित हुन् । डुबेको रकम असुल्न इलाका प्रहरी बुटवलदेखि जिल्ला प्रशासनसम्म धाइसके पनि फिर्ता पाउने आस मरिसकेको बताए । भने, ‘बचत फिर्ता पाउन सडकमा नारा लगाइयो, दगुर्दादगुर्दै थाकिसकियो, केही उपाय लागेन ।’

विष्णु पाण्डे, अर्घाखाँची

पाण्डेले त जग्गा बिक्री गरेको रकम सुप्रिम सहकारीमा जम्मा गरेका रहेछन् । ‘पसलमै आएर विश्वासमा पारे,’ उनले भने, ‘कपिलवस्तुको जग्गा बेचेर आएको १२ लाख रुपैयाँ थियो, छोरालाई विदेश पठाउने बेला झिकौंला भनेर सुप्रिम सहकारीमा बचत गरें । अझ चिया पसलमा जुठा भाँडा माझेर जम्मा भएको रकम पनि त्यहीं लगेर थपें,’ उनले भने, ‘यतिसम्मकी छोरीले टीका लगाएर पाएको दक्षिणासमेत त्यहीं जम्मा गरियो । सबै गरेर १३ लाख २७ हजार बचत भएको छ, तर पैसा हिनामिना गरिदिएछन् ।’ माथिदेखि तलसम्म राज्यको छत्रछायामा ठगी गरिएकाले कसैले पनि न्याय दिन पहल नगरेको उनले भनाइ छ ।

***

राजमार्ग चौराहाको पूर्वपट्टि सय मिटर दायाँबायाँ सडक किनारमा ठेलामा व्यापार गर्नेदेखि घरमा पसल भएकासम्म सुप्रिम सहकारीबाट पीडित भएका बचतकर्ता भेटिन्छन् । यहाँ व्यवसाय सञ्चालन गरिरहेका साना व्यवसायी मात्र होइन, चटपटे व्यापारी, मकै पोलेर गुजारा गर्ने, जुत्ता पालिस गर्ने, फलफूल तथा चिया बेच्ने सबै सुप्रिमबाट पीडित भएको स्थानीय फलफूल व्यापारी नारायण खरेलले बताए । उनले भने, ‘सुरुमा धेरै ब्याज दिएर फकाउने रहेछन्, त्यसपछि बचत बढ्दै गएपछि फिर्ता नदिने समस्या भयो ।’ यहाँका पीडितका समस्या लिएर प्रहरी, प्रशासन, स्थानीय तह र प्रदेश सरकारसम्म पुगिसकेको उनले बताए । जाडो–गर्मीमा सडकको धूलो, गाडीको धूवाँ खाएर सन्तानका लागि केही होला भनेर जम्मा गरेको रकम फसेपछि धेरैको घरमा अशान्ति भएको उनले बताए । बचत हिनामिना गर्नेमाथि कारबाहीको माग गर्दै पीडित आन्दोलित भएका बेला हिनामिनाका आरोपी जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेपछि न्याय पाउने आशा मरेको उनले बताए ।

‘रकम खाने पनि छुटिहाले,’ खरेलले भने, ‘एक जना अध्यक्ष थुनिएको छ, त्यसले न्याय कसरी मिल्छ ।’ एक वर्ष सहकारीपीडितले व्यवस्थापक सागर केसीलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा पुर्‍याएको उनले बताए । त्यतिबेला पीडितको आवाज सुनुवाइ नभएपछि निराशा बढेको उनले बताए । ‘पीडितका नाम त कहाँ कहाँसम्म पुर्‍यायौं,’ उनले भने, ‘सुनुवाइ कतैबाट हुँदैन ।’ बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका ८ हजार बचतकर्तामध्ये १ हजार ८ सय ३१ जनाले प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगर–११ बेस्टर्न अस्पताल अगाडि खाजा पसल चलाइरहेकी यमुना गौडेलले समानता बचत तथा ऋण सहकारीमा जम्मा गरेको ३० हजार रुपैयाँ फिर्ता माग्न एक वर्षदेखि प्रहरी–प्रशासन धाइरहेकी छन् ।

‘भाडा माँझेर कमाएको पैसा सहकारीमा बचत गरेर गुमायौं,’ गौडेलले भनिन् । घरबारी टोलमा किराना पसल गरिरहेका माधवप्रसाद बेल्बासेले समानता सहकारीमा राखेको पाँच लाख रुपैयाँ फिर्ता पाउन नसक्दा व्यवसाय प्रभावित भएर जीविका चलाउन समस्या भएको बताए । सुर्खेत रोडस्थित बेर्स्टनमलमा कार्यालय राखेको समानताले साइनबोर्ड पनि हटाइसकेको छ । नेपालगन्जमै खाद्यान्न सप्लायर्स चलाइरहेका प्रकाश भण्डारीले बेलैमा प्रहरीले सहयोग नगर्दा आफूहरूको बचत फिर्ता पाउन नसकेको आरोप लगाए । उनको पनि यो सहकारीमा १ लाख ८० हजार बचत रकम फसेको छ । ‘सहकारीका सञ्चालक जीबी राईसहित बाँके आउँदा प्रहरीले उल्टै प्रोटेक्सन दियो, हामीलाई आश्वासन दिएर फर्काइयो,’ भण्डारीले भने, ‘अब गृहमन्त्री पनि आफैं मुछिएकाले न्याय पाउँछौं कि भन्ने आशा राखेका छौं । उनी कति सच्चा हुन् यसैले प्रमाणित गर्ने छ ।’

बाँके प्रहरीले जीबी राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । प्रहरीले रकम हिनामिनामा संलग्न ३२ जनालाई प्रतिवादी बनाएको प्रतिवेदन अघिल्लो आइतबार नै सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तीन महिनाअघि प्रहरीले समानता सहकारीबाट बचत फिर्ता पाउन नसकेकालाई उजुरी दिन सूचना गर्दै सञ्चालक जीबीसहित ९ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले समानता सहकारीमा ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि हालसम्म १ सय १६ जनाले दिएको जाहेरीमा चार करोड ७० लाख ८० हजार रुपैयाँको कारोबार देखिएको बताए । यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेका यो सहकारीका सचिव कुमार रम्तेलको बयान पनि प्रतिवेदनसँगै सरकारी वकिल कार्यालयमा बुझाएको छ । डीएसपी डाँगीले भने, ‘सञ्चालक र प्रबन्धकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ, सञ्चालक समिति सचिवको बयान लिएर पठाएका छौं ।’

सहकारीमा राखेको रकम सञ्चालकहरूले हिनामिना गरेपछि दैनिक ज्यालादारी र सानोतिनो कामबाट थोरै पैसा बचत गरेकाहरूले रकम फिर्ता नपाउँदा बिचल्ली भएको छ । बचतकर्ताको रकम हिनामिना गरेर सहकारीका सञ्चालक फरार र कार्यालयमा कर्मचारी भेटिन छाडेपछि बचतकर्ताहरू रकम फिर्ताका लागि भौंतारिनुपरेको छ । सय, दुई सय रुपैयाँ गरी बचत गरेको पैसा आपत्का बेला फिर्ता नपाएपछि उनीहरू महिनौंदेखि प्रहरी–प्रशासन धाउँदै हैरान भएका छन् । आफ्नो रकम डुबेपछि दैनिक चलाउन र उपचारका लागि ऋण खोज्नुपरेको छ ।

ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई समूहले सञ्चालन गरेका बुटवलको सुप्रिम सहकारी, नेपालगन्जको समानता बचत तथा ऋण, चितवनको साहारा बहुउद्देश्यीय, वीरगन्जको सानो पाइला बचत तथा ऋण, काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा रकम जम्मा गरेका ५० हजार बढी बचतकर्ताको साढे सात अर्ब रुपैयाँ जोखिममा छ ।

प्रकाशित : वैशाख २३, २०८१ ०५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?