२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

क्यासिनोसँगै टाइगर प्यालेस रिसोर्ट पूर्ण सञ्चालनमा

पछिल्लो समय रिसोर्टमा स्वदेशी तथा विदेशी पाहुना बढेका छन् 

भैरहवा — रुपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट क्यासिनोसहित शुक्रबारबाट पूर्ण सञ्चालनमा आएको छ । शुक्रबार साँझ पर्यटन सरोकारवाला र पाहुनाको सहभागितामा ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात गरियो । यसअघि दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्ने गरी नयाँ व्यवस्थापनले क्यासिनोसँगै रिसोर्ट पूर्ण सञ्चालनमा ल्याएको लगानीकर्ताले बताए । 

क्यासिनोसँगै टाइगर प्यालेस रिसोर्ट पूर्ण सञ्चालनमा

क्यासिनोको सुरुवातमा एक दजर्नभन्दा बढी भारतीय कलाकारले प्रस्तुति दिएका थिए । शुक्रबार साँझ रिसोर्टमा आयोजित क्यासिनोको ‘सफ्ट ओपेनिङ’ कार्यक्रममा स्वदेशी र विदेशी गरेर ५ सयभन्दा बढीको सहभागिता थियो ।

जिल्लामा पहिलो पटक वैदेशिक लगानीमा सात वर्षअघि पाँचतारे रिसोर्ट सञ्चालनमा आउँदा यहाँका लगानीकर्ता र पर्यटन व्यवसायी उत्साहित थिए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै वैदेशिक लगानीमा ठूलो होटल सञ्चालनमा आएपछि जिल्लाको हस्पिटालिटी क्षेत्रमा लगानी बढेको थियो । विदेशको झल्को दिने भौगोलिक बनावट र संरचना रहेको रिसोर्ट अवलोकनका लागि मुलुकभरबाट सर्वसाधारण आउँथे । यहाँ आउने पाहुनामा स्वदेशीसँगै विदेशीको संख्या उल्लेख्य हुन्थ्यो । अस्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत सिल्भर हेरिटेज ग्रुपले ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएको थियो । व्यापारिक सफलतासँगै लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले पूर्वको झापा र सुदूरपश्चिममा नयाँ रिसोर्ट सञ्चालनको तयारी गरेको थियो ।

‘त्यही बेला रिसोर्टको जग्गा र आन्तरिक विवाद उत्कर्षमा पुग्यो,’ जिल्लाका एक पर्यटन व्यवसायीले भने, ‘मुलुकको राजनीतिक अस्थिरता, मजदुर संघर्ष र लगानीकर्ताबीच बेमेलले समस्या सिर्जना भयो ।’ आन्तरिक मतभेद बढिरहेका बेला मुलुकमा कोरोना महामारी सुरु भयो । त्यसको असर पर्‍यो । लगानीकर्ताबीच विवाद बढ्दै गएपछि होटल र क्यासिनो बन्द हुन पुगे । समस्याग्रस्त भएर थेग्न नसक्ने अवस्थापछि लगानीकर्ता कम्पनीले रिसोर्ट बिक्रीका लागि प्रयास थाल्यो । एक वर्षसम्म धेरै व्यक्ति र कम्पनीले प्रयास गरे पनि रिसोर्टको जग्गा विवाद र मजदुर समस्याका कारण खरिदबिक्री सम्झौता पूर्ण भएनन् ।

खिचातानीको बीचमा अमेरिकाको डेलावेयरमा दर्ता रहेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सिल्भर हेरिटेज कम्पनी खरिद गर्ने निर्णय गर्‍यो । खरिदबिक्री सम्झौतासँगै सिल्भर हेरिटेजका नाममा रूपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्ट र क्यासिनो, झापास्थित १२ बिघा जमिन, काठमाडौंको सांग्रिला होटलमा सञ्चालनमा रहेको मिलेनियर क्लब क्यासिनो हिमालय टाइगर इन्भेस्टमेन्ट इंकको स्वामित्वमा आयो ।

‘डुब्न लागेको गहना (रिसोर्ट) किनेर हामीले उकासेका छौं,’ टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले भने, ‘सुरुमा यसमा देखिएका चुनौती स्वीकार गर्ने कोही भएन, खरिदको प्रयास गरेर छाड्ने धेरै भए । तुरुन्त रेस्क्यु नगरे सम्पत्ति खेर जाने अवस्थामा थियो ।’ आफ्नो कम्पनीले खरिद गरेपछि रिसोर्टका ९० प्रतिशत समस्या समाधान भइसकेको उनले बताए ।

प्रकाशित : चैत्र १७, २०८० ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?