२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

भारतको लोकसभा चुनाव : पहिलो चरणमा देखिएन मतदातामा उत्साह

अघिल्लो चुनावको तुलनामा पहिलो चरणमा कुल ८ प्रतिशतले कम मतदान 
चुनाव जितिरहेकै छौं भन्ने एउटा पक्ष बढी उत्साहित र अर्को पक्षमा निराशाको मनोविज्ञानले पनि मतदाता रोकिएको हुन सक्छन् : सञ्जय कुमार, निर्वाचन विश्लेषक प्राध्यापक
समाजिक सञ्जालमाथिको निर्भरताले उम्मेदवार र मतदाताबीच बढाएको दूरीको असरले पनि मतदाताको सहभागिता घटाएको छ : राकेश खन्डुडी, पत्रकार
राजेश मिश्र

नयाँदिल्ली — भारतको लोकसभा चुनावको पहिलो चरणमा अनपेक्षित कम मतदाता देखिएका छन् । पहिलो चरणमा शुक्रबार २१ राज्यका १ सय २ लोकसभा क्षेत्रमा मतदान भएको थियो । अघिल्लो चुनावको तुलनामा ८ प्रतिशतले कम मतदान भएको तथ्यांकले देखाएको छ । निर्वाचन आयोगका अनुसार कुल ६२.३७ प्रतिशत मतदान भएको छ । जबकि २०१९ मा यी निर्वाचन क्षेत्रमा ७० प्रतिशत मत खसेको थियो ।

भारतको लोकसभा चुनाव : पहिलो चरणमा देखिएन मतदातामा उत्साह

भारतको राजनीतिमा निर्णायक मानिने हिन्दी भाषी क्षेत्र बिहार, उत्तराखण्ड र उत्तरप्रदेशका मतदानले त चुनावी पण्डितहरूलाई नै आश्चर्यमा पारिदिएका छन् । तीन वटै प्रदेशमा मतदाताको सहभागिता अप्रत्याशित रूपमा घटेको छ । गत शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा बिहारका ४, उत्तराखण्डका सबै ५ र उत्तर प्रदेशका ८ लोकसभा निर्वाचन क्षेत्रमा मतदान भएको हो । सबैभन्दा कम मत बिहारमा ४८.५० प्रतिशत मात्र मत खसेको हो । त्यस्तै, उत्तराखण्डमा ५४.८० प्रतिशत र उत्तर प्रदेशमा ५९.६६ प्रतिशत मतदाता सहभागी भए ।

निर्वाचन विश्लेषक प्राध्यापक सञ्जय कुमार मतदान कम हुनुलाई मतदातामा देखिएको उदासीनतासँग जोड्छन् । ‘मतदातामा जुन खालको उत्साह देखिनुपर्ने हो, त्यो कम भएको पाइयो,’ उनले भने, ‘तर, यसलाई सरकार विरोधी माहोलको रूपमा अर्थ्याउन भने मिल्दैन ।’ कसैको पक्ष वा विपक्षकै माहोलका कारण मतदान कम भएको विषयलाई उनी नकार्छन् । बरु उनी एउटा खास पार्टीले जितिरहेको क्षेत्रमा मतदातामा जितिरहेकै छ, किन जाने भन्ने मनोविज्ञानले काम गरेको हुन सक्ने ठान्छन् । त्यस्तै, अर्को पक्षका मतदाता भोट हाल्न नजानुमा पनि त्यही मनस्थितिले काम गरेको हुन सक्ने उनको बुझाइ छ । ‘एउटा पक्ष बढी उत्साहित र अर्को पक्षमा निराशा देखिएर पनि मतदान कम भएको हुन सक्छ,’ उनले भने ।

सेन्टर फर द स्टडी डेभलपिङ सोसाइटी (सीएसडीएस) मा आबद्ध प्राध्यापक कुमारले राजनीतिक दलहरूले प्रचारप्रसारमा देखाएको कमीले पनि मतदातामा असर परेको हुन सक्ने बताए । ‘पहिलो चरणकै चुनावबाट अहिल्यै निष्कर्ष निकालिहाल्न त सकिँदैन,’ उनले थपे, ‘आगामी चरणमा हुने टर्न आउटपछि यसबारे थप विश्लेषण गर्दा उपयुक्त हुन्छ ।’ उनले ‘टर्न आउट’ कम वा बढी भएको स्थितिमा पनि सत्तारूढ दल हारेको वा जितेको उदाहरण रहेकाले यसलाई सिधासिधा सत्तारूढ दललाई असर पर्ने किसिमले हेर्न नसकिने उनले टिप्पणी गरे । सत्तारूढ भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक चुनाव जितिरहेकाले आत्मविश्वासी देखिएका छन् । मोदीले यो निर्वाचनमा ‘अबकि बार, चार सय पार’ को नारा दिएका छन् । लोकसभाको ५ सय ४३ सिटमध्ये भाजपा एक्लैले ३ सय ७० र भाजपा नेतृत्वको एनडीए गठबन्धनले ४ सय सिट पार गर्ने मोदीले दाबी गर्दै आएका छन् ।

बिहारको दक्षिणी भेगको औंरगावाद, गया, नवादा र जमुई लोकसभा क्षेत्रमा भएका मतदानमा कुनै पनि स्थानमा उत्साहजनक मत खसेको देखिएन । बिहारमा प्रायः अन्य राज्यको तुलनामा कम मतदान हुँदै आएको इतिहास छ । तर, यस पटक पहिलो चरणमा ४५ प्रतिशत मात्रै खस्नु अध्ययनको विषय भएको बताउँछन् प्राध्यापक कुमार । त्यस्तै औरंगावादमा ५१.५६ प्रतिशत, गयामा ४९.५१ प्रतिशत, नवादामा ४३.२१ प्रतिशत र जमुईमा ५०.११ प्रतिशत मात्र मतदान भएको छ ।

सबैभन्दा कम मतदान भएको नवादा जिल्लाका स्थानीय पत्रकार अजय कुमार मतदातामा आकर्षण कम हुनुमा उम्मेदवारको छनोट, राजनीतिक दलको सक्रियताको कमी र निर्वाचन आयोग/प्रशासनको तयारी सबै कारण रहेको बताउँछन् । ‘धेरै पहिलेदेखि यहाँका मतदातामा स्थानीयलाई नै उम्मेदवार बनाइयोस् भन्ने रहँदै आएको छ, तर भाजपाले विगतजस्तै यस पटक पनि बाहिरैबाट ल्याएर उम्मेदवार दियो । अर्कोतिर विपक्षी राष्ट्रिय जनता दलले स्थानीयलाई उम्मेदवार बनाए पनि जनतामाझ लोकप्रियलाई छानेन,’ उनले भने, ‘पहिलो कारण त दुवैतिरका उम्मेदवारले नै मदतालाई विशेष आकर्षित गर्न सकेनन् । विगतको जस्तो हेभी वेट उम्मेदवार पनि भएनन् ।’

पत्रकार अजयले सत्तारूढ एनडीए समर्थक मतदातामा देखिएको ‘अति आत्मविश्वास’ का कारण पनि मतदान कम भएको हुन सक्ने बताए । र, यसले एनडीएलाई नै क्षति पुग्ने उनको विश्लेषण छ । ‘सत्तारूढ एनडीए गठबन्धनका समर्थक मतदातामा जित्दै आइरहेकै छौं भन्ने मनोविज्ञान हावी भएर कम संख्यामा मतदान केन्द्रमा पुगे । यसको लाभ विपक्षी पार्टीलाई पुग्ने आँकलन गरिएको छ,’ भने, ‘सँगै बाहिरबाट आएका उम्मेदवारले ५/५ वर्षसम्म मतदातालाई नभेट्ने अनुभवले स्थानीय उम्मेदवारको खोजी हुन थालेको संकेत पनि हो ।’ सँगै मतदातालाई जागरुक बनाउन, मतदाता शिक्षा कार्यक्रम चलाउन आयोग र प्रशासन उदासीन हुनुको परिणाम मतदानमा देखिएको उनको भनाइ छ । ‘जित हार त अहिले भन्न सकिँदैन । तर, मतदान कम हुनुले विपक्षी उम्मेदवारलाई लाभ हुने देखाएको छ,’ उनले भने, ‘छिमेकका जिल्लाहरू औंरगावाद, गाया वा जमुईमा पनि यस्तै कारणहरूले मतदानमा कमी आएको छ ।’

बिहारका युवाहरू ठूलो संख्यामा रोजगारीका लागि अन्य राज्यमा रहेको तथा बढ्दो गर्मीका कारण पनि मतदाताको सहभागिता कम हुन पुगेको एकथरीको विश्लेषण छ । पत्रकार अजयले त्यसलाई भने महत्त्वपूर्ण कारण मान्दैनन् । मुद्दा, दल र उम्मेदवारले आकर्षण गरेको खण्डमा मौसमले मतदातालाई असर नगर्ने उनको तर्क छ । उत्तर प्रदेशको ८ वटै लोकसभामा पनि अघिल्लो चुनावको तुलनामा मतदान कम भएको छ । सहारनपुर र पीलीभतमा ६० प्रतिशत नाघे पनि अन्य क्षेत्रमा मतदान त्यसभन्दा कम छ ।

चर्चित मुजफ्फरनगर लोकसभा क्षेत्रका मतदाताले पनि निर्वाचनमा उत्साह देखाएनन् । २०१९ को तुलनामा ८ प्रतिशतले कम मतदान भएको स्थानीय पत्रकार मदन बालियानले बताए । त्यहाँ ५५ प्रतिशत मात्रै मत खसेको छ । पत्रकार बलियानले यस पटकको चुनावमा आश्चर्यजनक ढंगले मतदातामा उत्साह नदेखिएको बताए । यहाँ मुस्लिम, जाट र दलित समुदायको बहुल्यता छ । ‘हेभी वेट’ उम्मेदवार नहुनुले पनि मतदाता अकर्षित हुन नसकेको उनी बताउँछन् । अर्को, यस क्षेत्रमा भाजपा र राष्ट्रिय लोक दल प्रतिस्पर्धी हुँदा चुनाव रोचक हुने गर्थ्यो । यस पटक राष्ट्रिय लोक दलले भाजपासँग गठबन्धन गरेको छ । २०१९ मा उक्त दलले समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीसँग गठबन्धन गरेर भाजपालाई चुनौती दिएको थियो । अहिले समाजवादी पार्टीले कांग्रेससँग गठबन्धन गरेको छ भने बहुजन समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ । उत्तर प्रदेशको धेरै स्थानमा त्रिकोणीय प्रतिस्पर्धा रहेको र मुजफ्फरनगरमा पनि त्यही अवस्था देखिएको पत्रकार बालियानले बताए ।

भाजपाले चुनाव जितिरहेको सन्देश, गहुँ भित्र्याउन किसानहरूको व्यस्तता, विवाहको मौसमलगायतका कारणले पनि मतदाताहरू मतदान केन्द्रसम्म नपुगेको उनको विश्लेषण छ । उनको अनुभवमा मतदान कम हुनुको बढी घाटा सत्तारूढ एनडीए गठबन्धनलाई नै हुने देखिन्छ । उत्तर प्रदेशको बिजनौरमा पनि ५५ प्रतिशत मात्रै मत खसेको छ । त्यस्तै, रामपुरमा ५२.४२ प्रतिशत, मुरादावादमा ५७.६५ प्रतिशत, नगीना र कैरनामा समान ५८ प्रतिशत मतदान भएको छ ।

पहाडी क्षेत्र उत्तराखण्डमा पनि मतदानमा गिरावट आएको छ । त्यहाँ कुल ५ निर्वाचन क्षेत्र छन् । सबैमा गरेर ५५ प्रतिशत हाराहारीमा मतदान भएको छ । सन् २०१४ र २०१९ को तुलनामा ८ प्रतिशतले कम मत खसेको छ । सबैभन्दा बढी नैनिताल उद्यमसिंह नगर निर्वाचन क्षेत्रमा ६० प्रतिशत मत खसेको छ । हरिद्वारमा अघिल्लो पटकभन्दा १० प्रतिशतले कम (५९ प्रतिशत) मतदान भएको छ । टिहरी गढवालमा ५२ प्रतिशत, गढवालमा ५० प्रतिशत र अल्मोडामा ४६ प्रतिशत मतदान भएको छ । अघिल्लो दुईवटा निर्वाचनमा यी सबै क्षेत्रमा भाजपाले जितेको थियो । अघिल्लो पटक जस्तो मतदान नहुनुमा मतदातासँग उम्मेदवार र राजनीतिक दलबीचको बढ्दो दूरीलाई प्रमुख कारण मान्छन् अमर उजाला पत्रिकाका उत्तराखण्ड ब्युरो चिफ रहेका राकेश खन्डुडी ।

‘भोट माग्ने तरिका बदलिँदै गएको छ, युट्युब/फेसबुक जस्ता सोसल साइटमा प्रचारप्रसार केन्द्रित गरिएका छन् । त्यसले उम्मेदवार र मतदाताबीचको सिधा संवादलाई कम गराइदिएको छ,’ उनले भने, ‘त्यसले मतदानको आकर्षणलाई घटाउँदै लगेको छ ।’ यस पटकको चुनावमा गाउँ, टोल, गल्ली र सहरबाट चुनावी प्रचारप्रसार नै नभएको देखिएको उनले बताए । भाजपामा प्रधानमन्त्री मोदीको र्‍याली र सभालाई प्रचार मान्नुबाहेक स्थानीय तहमा पार्टीको संगठन परिचालन प्रभावकारी नदेखिएको उनले बताए । उनका अनुसार बुथ स्तरसम्म कांग्रेस पनि पुग्न सकेन । यिनै कारणहरूले मतदानको सहभागिता घटेको उनको विश्लेषण छ । मतदानमा भएको कमीको असर भाजपा र कांग्रेस दुवैलाई पर्ने तर बढी मात्रामा कांग्रेसलाई पर्न सक्ने उनको बुझाइ छ ।

उत्तराखण्डमा केही स्थानमा स्थानीयले सडक, बिजुली, पानी, स्कुल, स्वास्थ्यजस्ता आवश्यक पूर्वाधारको कमी देखाएर पनि मतदान बहिष्कार गरेको समाचार आइरहेका छन् । महाराष्ट्र र राजस्थानमा पनि विगतको तुलनामा मत कम खसेको छ । नागाल्यान्डको ६ वटा जिल्लामा त शून्य मतदान भयो । छुट्टै स्वायत्त प्रशासनको माग गर्दै त्यहाँ स्थानीयले मतदान बहिष्कार गरे । लामो समयदेखि हिंसाग्रस्त मणिपुरमा केही हिंसात्मक घटनाका बाबजुद मतदान राम्रै भएको छ । सबैभन्दा बढी त्रिपुरामा मतदान भएको छ । त्यहाँको एक सिटमा ८१.५१ प्रतिशत मतदान भएको छ । तमिलनाडुको सबै ३९ वटा क्षेत्रमा भएको मतदानमा ६८ प्रतिशत मत र असममा ७२ प्रतिशत मत खसेको छ । पश्चिम बंगालको तीन वटा क्षेत्रमा ७८ प्रतिशत मत खसेको छ ।

प्रकाशित : वैशाख १२, २०८१ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?