२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

महिला भलिबलमा न्यु डायमन्ड र एपीएफ विजयी

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन न्यु डायमन्ड भलिबल क्लब र एपीएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी भएका छन्  ।

महिला भलिबलमा न्यु डायमन्ड र एपीएफ विजयी

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३ १ सेटले हरायो । डायमन्डले २५ १२, २५ १५, १७ २५, २५ २१ को सेटमा नतिजा निकाल्यो । विजेताकी सुमित्रा रेग्मी प्लेयर अफ द म्याच भइन् ।

एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्ध ३ १ कै सेटमा जित पायो । एपीएफ २५ २१, २२ २५, २५ १७, २५ १६ ले विजयी भयो । एपीएफकी सरस्वती चौधरी प्लेयर अफ द म्याच बनिन् । चार विजेता दुवै टोलीले समान ३ ३ अंक जोडेका छन् ।

केएनपी नेरोलाकको मुख्य प्रायोजनमा भइहरेको प्रतियोगिता विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । तेस्रोले एक लाख २५ हजार र चौथोले ६२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछन् ।

शनिबारसम्म चल्ने प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । बिहीबार आर्मी र एपीएफ तथा पुलिस र न्यु डायमन्ड भिड्नेछन् ।

स्पेसल अवार्ड पुनमलाई

आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले उद्घाटनका अवसरमा भलिबल खेलाडी पुनम चन्दलाई स्पेसल अवार्डबाट सम्मान गरेको छ । पुनमलाई क्षमता र महिला भलिबलमा पुर्‍याएको योगदान भावी खेलाडीका लागि अनुकरणीय हुने भन्दै सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाए ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले पुनमलाई ५० हजार नगदसहित ट्रफी प्रदान हस्तान्तरण गरे । पुनमले २०७६ सालमा ढाकामा सम्पन्न प्रथम एभीसी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा स्वर्ण, सोही वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत र गत वर्ष नेपालमा आयोजित तेस्रो एभीसी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा कांस्य पदक दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन् ।

प्रकाशित : वैशाख १३, २०८१ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?