२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

ऐना झ्यालको पुतलीदेखि रेस्टुरेन्टसम्म

पर्वत पोर्तेल

काठमाडौँ — गतवर्ष रिलिज भएको फरक धारको सिनेमा हो ‘ऐना झ्यालको पुतली’ । अस्कर अवार्डका लागि छनोट भएको फिल्मका चार निर्मातामध्ये एक हुन्, आकाश पौडेल । ३३ वर्षीय आकाश फिल्म स्टडिजका विद्यार्थी हुन् । सन् २०१२ मै फिल्म निर्माणमा स्नातक सकेपछि उनी फिल्म निर्माणको काममा केन्द्रित भए ।

ऐना झ्यालको पुतलीदेखि रेस्टुरेन्टसम्म

सुरुका दिनमा उनी छोटा फिल्म निर्माणमा व्यस्त थिए । ‘तथ्यांक’, ‘समर्पण’ लगायतका केही सर्ट फिल्महरू अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमै देखाउने मौका पनि जुर्‍यो उनलाई ।

छोटा फिल्मबाट खासै व्यावसायिक सफलता नपाएका उनलाई ‘ऐना झ्यालको पुलती’ ले भने फराकिलो पहिचान दिलायो । सुजित विडारीको लेखन तथा निर्देशनमा बनेको फिल्मले दर्शकको मनसँगै धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जित्यो । ‘फिल्म भनेपछि सानैदेखि हुरुक्कै हुन्थें,’ आकाशले विगत कोट्याए, ‘ब्ल्याक एन्ड ह्वाइट टीभीको जमानादेखि नै फिल्म हेर्ने लत बस्यो ।’ सीडी र क्यासेटको जमाना सुरु भएपछि हिन्दी र नेपाली फिल्ममा ध्यान त छँदै थियो, इरानी र अंग्रेजी फिल्मप्रति पनि तानिए उनी ।

धेरै मान्छेका अनेक थरी कथा हेर्दा हेर्दै उनलाई लाग्यो कि आफ्नै मौलिक कथा किन नभन्ने ? ‘अरूको कथा हेर्दा हेर्दै आफ्नै कथा भन्ने हुटहुटी बढ्न थाल्यो,’ आकाशले थपे, ‘विभिन्न भाषाका हजारभन्दा बढी फिल्म हेरियो होला, त्यसपछि बल्ला आफैंले फिल्म बनाउने आँट आएको हो ।’ हेरेका बग्रेल्ती फिल्मबाट उनले मनोरन्जन मात्रै पाएनन्, धेरै अनौठा टेक्निक र शिल्प पनि सिके । ‘लोकल सिनेमा’ नामको प्रोडक्सन कम्पनी खोलेपछि एउटा टिम बनाएरै सुरु गरे फिल्म निर्माणको काम । २०७२ सालको महाभूकम्पको कथा समेटेर निर्माण गरे, ‘कथा ७२’ । देशमा खासै चर्चा नभएको यो फिल्म दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फेस्टिवलमा देखाइयो ।

केही सर्ट फिल्ममा काम गरेको अनुभवले अब भने आकाशमा फिचर फिल्म नै बनाउने साहस जुटेको छ । उनी चाँडै निर्देशकका रूपमा डेब्यु गर्नेवाला छन् । उनका साथमा दुई फिल्मी स्क्रिप्ट तयार छन् । पहिलो कथा प्रतिशोधको कथा हो । र, दोस्रो कथाले यात्राको वर्णन गर्छ । ‘सबै तयारी भइसक्यो अब निर्माणतिर जुट्न मात्रै बाँकी छ,’ आकाशले थपे, ‘चाँडै काम सुरु गरेर दर्शकमाझ पुर्‍याउने योजना छ ।’

हालै प्रदर्शनमा आएको फिल्म ‘जिग्री’ उनकै लगानीमा बनेको हो । ‘अब दर्शकहरूले नयाँ र भिन्न शैलीका कथा खोजिरहेका छन्,’ उनले सुनाए, ‘हामीले त्यही अनुरूप काम गरिरहेका छौं ।’

२०६० अघि नेपाली सिनेमामा पुरानो धार हाबी थियो । जब साठीको दशकको सुरुमा ‘लुट’ ले तहल्का मच्चायो, त्यसपछि दर्शकले लुटकै स्वाद खोज्न थाले । र, त्यसलाई नयाँ धार भनियो । अहिले नेपाली सिनेमा यही नयाँ धारमा हिँडिरहेको छ । खासगरी समुदायको मौलिक कथा प्रस्तुत गरेका ‘कबड्डी’, ‘जारी’ जस्ता फिल्मलाई दर्शकले रुचाए । ‘हामी पनि नयाँ धारमै टेकेर अलि बढी युवालक्षित फिल्म निर्माणमा जुटेका छौं,’ आकाशले थपे, ‘अब युवा पुस्ताका समस्या, उनीहरूको छटपटी र समाधानबारे पनि फिल्म बन्नुपर्छ भन्ने लागेको छ ।’

उनीसहितको टिमले अहिलेसम्म विभिन्न फिल्ममा अढाई करोडभन्दा बढी लगानी गरिसकेको आकाश बताउँछन् । तर, आम्दानी भने खासै नभएको दुखेसो छ उनको । ‘पैसा कमाउन नसक्दा दुःख छैन । बरु नेपाली फिल्म अर्काइभमा एउटा गतिलो फिल्म दिन पाएकोमा उनी ढुक्क छु,’ उनी थोरै मुस्काउँछन् । संसारमा कलात्मकभन्दा व्यावसायिक फिल्महरू नै धेरै चल्ने उनको दाबी छ । कमर्सियल फिल्मले मात्रै बजार चलायमान बनाएको उनी दाबी गर्छन् । त्यही भएर अर्थपूर्ण तर व्यावसायिक फिल्म निर्माणको बाटोमा उनी लम्किएका हुन् ।

फिल्मी क्षेत्रमा लत बसेका आकाश पछिल्लो समय भने व्यवसायमा पनि जुटेका छन् । उनले कोभिडअघि काठमाडौंको पानीपोखरीमा वाल्नट विस्ट्रो नामको फरक स्वाद पस्किने रेस्टुरेन्ट सुरु गरे । सन् २००९ तिर होटल म्यानेजमेन्टमा स्नातक सकेपछि बेलायत पुगेर फर्किएका उनी रेस्टुरेन्ट व्यवसायमा पनि होमिएका हुन् । ‘बेलायत बस्दा त्यहाँको रेस्टुरेन्ट संस्कृतिले मन तान्यो,’ उनले थपे, ‘त्यही बेलादेखि नै फरक शैलीको रेस्टुरेन्ट खोल्ने सोच आएको थियो ।’ फिल्मबाट भन्ने कथा अहिले खानाको माध्यमबाट भनिरहेका उनको ओखरबोटे रेस्टुरेन्टको मेनुमा छ, वालनट क्रिस्पिकानो, चिकेन मुक्का, पोलपाल चिकेन, कर्न अन द कप, गोलोमोलो मसरुम, वालनट रोटी, पिरो पिज्जा, यमलोकको अकबरे चिकेन, मामाघरे नुडल्स र मायालु सलाद आदि । यी रेसिपीको न्वारान भने आकाश आफैंले गरेका हुन् ।

उनको रेस्टुरेन्टमा आइतबारदेखि बिहीबार ३ देखि ५ बजेसम्म आउने ग्राहकका लागि फरक अफर पनि छ । मोबाइललाई कस्टडीमा राख्यो भने, रेस्टुरेन्टको बिलमा १५ प्रतिशत छुट पाइन्छ । रेस्टुरेन्टमा गफ गर्नेभन्दा मोबाइलमा झुत्ती खेल्ने बेथिति कम गर्न आकाशले नयाँ अफर ल्याएका हुन्, कस्टडीमा मोबाइल । ‘गफ गरौं, मोबाइलबाट केही क्षण ध्यान अन्त मोडौं’ भन्ने उद्देश्यले यो अफर ल्याएको उनको भनाइ छ । अर्को अफर पनि छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ‘नेपाली थाली’ को अफर । यहाँ चाहिँ खाना मन पर्दा मात्रै पैसा तिर्नुपर्ने प्रावधान छ । ‘खाना मन परेन भने पैसा नतिर्दा पनि हुन्छ,’ आकाशले सुनाए, ‘तर, अहिलेसम्म खाना मन नपरेर पैसा नतिर्ने ग्राहक चाहिँ आएका छैनन् ।’

रेस्टुरेन्ट परिसरमा सानो निःशुल्क लाइब्रेरी पनि छ । सिसाको सानो बाकसमा केही थान पुस्तक राखिएका छन् । एटीएमको झैं सानो प्वाल पनि छ । त्यो प्वालबाट पुरानो पुस्तक खसालेपछि नयाँ पुस्तक लैजान पाइन्छ । त्यसलाई उनले नाम दिएका छन्, ‘टेक वान बुक, किप वान बुक’ । ‘आफूसँग भएको कुनै पुस्तक राखेपछि नयाँ लैजान पाइन्छ,’ उनले भने । अघिल्लो नयाँ वर्षदेखि भने उनले काठमाडौंको माछापोखरीमा अर्को रेस्टुरेन्ट खोलेका छन्, ‘मीठो मसिनो’ । ‘अब भने फिल्म निर्माणमा जुट्ने सोच छ,’ आकाशले भने ।

प्रकाशित : वैशाख १२, २०८१ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?