कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिनगर नाकामा २ सातामा ३८ जनामा देखियो कोरोना संक्रमण 

चित्रांग थापा

धनगढी — भारत सीमानाका त्रिनगरस्थित हेल्थ डेस्कमा गरिएको  परीक्षणमा चैत महिनादेखि दिनहुँजसो कोरोना संक्रमितको संख्या बढन थालेको देखिएको छ । चैतको दोस्रो साता बुधबारसम्म संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितहरूमध्ये अधिकांशमा सामान्य खालको रुघाखोकी र ज्वरोको लक्षण मात्र देखा परेको हेल्थ डेस्कका स्वास्थकर्मीहरूले जानकारी दिएका हुन् । 

त्रिनगर नाकामा २ सातामा ३८ जनामा देखियो कोरोना संक्रमण 

‘नयाँ वर्ष नजिकिँदै जाँदा कामको खोजीमा भारत पसेकाहरूको घर फर्कने क्रम बढन थालेको छ,’ सीमाको त्रिनगर हेल्थ डेस्क प्रमुख गणेश साउदले भने, ‘घर फर्कनेहरूको संख्या बढेसँगै दिनहुँ २/३ जनामा कोरोना संक्रमण देखा पर्न थालेको छ । चैत महिनामा मात्रै बुधबार १४ गतेसम्म भारतबाट घर फर्कने रुघाखोकी र ज्वरो आएका शंकास्पद व्यक्तिहरूमध्ये ९९० जनाको परीक्षण गर्दा ३८ जनामा कोरोना संक्मण देखा परेको डेस्क इन्चार्ज साउदले जानकारी दिए ।

‘पछिल्लो ६ महिनामा पहिलो संक्रमित केस गत पुस ३ गते देखा परेको हो, संक्रमित भारतको बेंग्लुरुबाट घर फर्केका थिए,’ साउदले भने, ‘त्यतिबेला भारतको दक्षिणी तथा पश्चिमी क्षेत्रका सहरहरू बेंग्लुरु, चेन्नई, हैदराबाद, सुरतलगायतमा कोरोना संक्रमण देखा परेको थियो । तिनै सहरबाट फर्कनेहरूमा सुरुमा फाट्टफुट्ट संक्रमण देखा परेको भए पनि हाल आएर संक्रमण बढन थालेको हो ।’

हेल्थ डेस्कका स्वास्थ्यकमीहरूका अनुसार सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका ४ प्रमुख नाकाहरू कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा कोरोनासँगै अन्य संक्रामक रोगहरुको परीक्षण हुने गरेको छ । कोरोना महामारी फैलिएको अवस्थाको जस्तो भयावह स्थिति हाल नरहेको, रोगको लक्षण सामान्य रहेको, स्वदेश र विदेश जताततै कोरोना रोकथामको प्रभावकारी भ्याक्सिनेसन सम्पन्न हुनुले कोरोना संक्रमण देखिए पनि जोखिमपूर्ण नरहेको चिकित्सकहरू बताउँछन् । तर पनि संक्रमण पुष्टि भएकाहरूले भने सतर्कता अपनाउनैपर्ने उनीहरू बताउँछन् ।

‘संक्रमण देखिएकाहरूलाई शारीरिक अवस्था जटिल भएमा आइसोलेसनमा रहन र स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न परामर्श दिने गरेका छौँ,’ त्रिनगर हेल्थ डेस्कका इन्चार्ज साउद भन्छन्, ‘हालसम्म सीमामा देखा परेका केसहरूमा कुनै नयाँ जोखिमपूर्ण भेरियन्ट फेला नपरेको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणबाटसमेत पुष्टि भएको छ ।’

सुदूपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कामको खोजीमा भारतका विभिन्न सहर पस्नेहरू अधिकांश कैलालीको त्रिनगर गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गर्दै आएका छन । खेतीपाती लगाउने काम सकेर भारत पस्ने उनीहरू प्राय: चाडपर्वका बखत घर फर्कने गरेका छन् ।

प्रकाशित : चैत्र १५, २०८० १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?