प्रशिक्षक कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा भाग लिने खेलाडीको छनोट प्रतियोगिता गर्ने जिम्मेवारी दिएको छ ।
सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा तीन सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको छ । समितिका सदस्यमा नायव वरिष्ठ टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला र संजिव ढुंगेल छन् ।
पहिलो प्रतियोगिता पेरिस ओलम्पिकका लागि हुने दक्षिण एसियाली ओलम्पिक छनोट रहेको छ । नेपालमै पहिलो पटक हुन लागेको यो छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ सम्म हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रबाट २–२ पुरुष/महिला गरी १० खेलाडी सहभागी हुनेछन् ।१–१ पुरुष/महिला खेलाडीले पेरिस ओलम्पिकका लागि स्थान सुरक्षित गर्नेछन् ।
नेपालबाट पुरुषमा संयोग कपाली र स्यान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले भाग लिने छन् ।
अर्को छनोट प्रतियोगिता दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि हुनेछ । श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोट प्रतिस्पर्धा जेठ ३ देखि ५ सम्म हुनेछ । यो छनोटबाट ६–६ पुरुष/महिला खेलाडीले श्रीलंका यात्रा पक्का गर्नेछन् । दुवै छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रकाशित : वैशाख २६, २०८१ २१:४२