२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

चर्च ब्वाइज र आर्मीको होड

इटहरी रंगशालामा शनिबार १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल फाइनल
अर्जुन सुवेदी

सुनसरी — चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच शनिबार १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम सफलता हात पार्दै उपाधि जित्ने दाउमा छन् । 

चर्च ब्वाइज र आर्मीको होड

शुक्रबार प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने सम्भावना ५०–५० प्रतिशत रहेको बताए । दुवै टिम सन्तुलित र उत्कृष्ट रहेकाले सम्भावना बराबरी रहेको उनीहरूको दाबी थियो । दुवै टिमले विश्वकपको एसियाली छनोटमा बहराइनविरुद्ध खेलेर फर्केका आफ्ना खेलाडीलाई टोलीमा समावेश गर्ने बताए ।

आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीको खडेरी लागिरहेको अवस्थामा पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइजविरुद्धको खेल चुनौतीपूर्ण रहेको बताए । ‘ए’ डिभिजन लिग च्याम्पियन बनेयता चर्च ब्वाइज जोकोहीलाई टक्कर दिने टिम बनेकाले रणनीति बुझेर त्यहीअनुसार आफूहरू मैदान उत्रने बताए । मोफसलमा एकपछि अर्को गोल्डकपहरू लगातार भइरहेकाले यस्तो अवस्थामा खेलाडीको प्रदर्शनमा कमी आउन नदिन आफूले ३० जनाको टिम नै लिएर हिँडेको बताए । कप्तान नवयुग श्रेष्ठले इटहरी गोल्डकपको १२ औं संस्करणमा फाइनल पुगेर पनि उपविजेतामै बन्नुको पीडा बिर्सन यसपालि जित हात पार्ने दाबी गरे ।

चर्च ब्वाइजका सहायक प्रशिक्षक रुबेन राईले आर्मी बलियो टिम भएकाले फाइनल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने सुनाए । दुवै टिममा राष्ट्रिय खेलाडीको बाहुल्य रहेकाले उपाधि हत्याउने रणनीतिका साथ मैदान उत्रने उनको भनाइ थियो । झापा गोल्डकप च्याम्पियन बनेको २४ घण्टा नबित्दै बुढासुब्बा गोल्डकप खेल्नुपर्दाको कठिनाइबाट पाठ सिकेको जनाउँदै राईले भने, ‘यसपालि अधिकांश खेलाडीले पर्याप्त आराम पाएका छन्, त्यसको फाइदा हामी उठाउँछौ, हामीसँग दीप कार्की जस्ता अनुभवी गोलकिपर तथा खेलाडी छन् । शुक्रबार साँझ विराट गोल्डकपको प्रिक्वाटरफाइनल खेलेको आर्मी २४ घण्टा नबित्दै इटहरी गोल्डकपको फाइनल खेल्नुपर्दाको फाइदा आफ्नो टिमलाई हुने राईको संकेत थियो । चर्च ब्वाइजका कप्तान दीप कार्कीले आर्मीसँग यसअघि पनि थुप्रै पटक खेलेको उल्लेख गर्दै विगतका कमी कमजोरी सच्याएर उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

चर्च ब्वाइज यो सिजनको दोस्रो उपाधि जितको खोजीमा हुनेछ भने आर्मी चौथो जितको खोजीमा मैदान उत्रने छ । यी दुई टिमबीच जारी सिजनमा दुई पटक भिडन्त हुँदा दुवै खेल आर्मीले जितेको थियो । कात्तिकमा मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई २–० ले पराजित गर्दै आर्मीले यो वर्षको पहिलो उपाधि जितेको थियो । माघमा २३ औं आहा–रारा पोखरा गोल्डकपको पहिलो पटक च्याम्पियन बन्दै सिजनको दोस्रो उपाधि हात पारेको आर्मीले सेमिफाइनलमा चर्च ब्वाइजमाथि २–१ को जित दर्ता गर्दै फाइनल तय गरेको थियो । आर्मीले पाँचौ पाँचथर गोल्डकप च्याम्पियन टिम पनि हो । फागुन १९ मा पाँचथर गोल्डकपमा आर्मीले आयोजक पाँचथर क्लबलाई ४–२ गोलले पराजित गर्दै वर्षको तेस्रो उपाधि जितेको थियो । आर्मी अब इटहरी गोल्डकप जितेर उपाधि संख्या बढाउने दाउमा हुनेछ ।

पहिलो सहभागितामै अर्को विभागीय टिम एपीएफलाई ३–० पराजित गर्दै झापा गोल्डकप च्याम्पियन बनेको चर्च ब्वाइज इटहरी गोल्डकप जित्दै यो वर्षको दोस्रो उपाधि हत्याउने प्रयासमा छ । गत वर्षको सिमरा गोल्डकपमा हिमालयन शेर्पालाई पराजित गर्दै उपाधि जितेको चर्च ब्वाइज यसअघिको इटहरी गोल्डकपको उपविजेता टिम हो । चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० ले पराजित गर्दै फाइनल पुगेको हो भने आर्मीले साबिक बिजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी शुटआउटमा २–१ को जित पाएको थियो । क्वाटरफाइनलमा आर्मीले बिर्तामोड युनाइटेड र चर्च ब्वाइजले एनआरटीलाई हराएका थिए ।

विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ जित्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् । विभिन्न उत्कृष्ट हुनेले जनही २० हजार पाउनेछन् ।

प्रकाशित : चैत्र १७, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?